• १५ पुस २०८२, मङ्गलबार

विद्युतकाे पहुँचमा छयानब्बे प्रतिशत घरधुरी

blog

फाइल तस्बिर

अमरगढी समाचारदाता 

डडेलधुरा, पुस १५ गते ।  डडेलधुरामा हालसम्म ९६ प्रतिशत बढी घरधुरीमा विद्युत् पुगेको छ । योसँगै सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरसहित डडेलधुरा पनि विद्युत् पहुँच भएको जिल्ला भएको छ । कैलाली र कञ्चनपुरमा शतप्रतिशत विद्युत् पुगेको छ । जिल्लाभर रहेका ३१ हजार १७२ घरधुरीमध्ये ३० हजार १५१ घरपरिवारमा विद्युत् पुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेलधुराका प्रमुख कपिल जोशीले बताउनुभयो । 

उहाँका अनुसार बाँकी एक हजार २१ घरधुरीमा विद्युतीकरण गर्ने काम जारी छ । प्राधिकरणको दुई वर्षअघिको तथ्याङ्क हेर्दा २३ हजार घरधुरीमा मात्रै विद्युत्को पहुँच पुगेको थियो । शतप्रतिशत घरधुरीमा विद्युतीकरणका लागि ४५ करोड रुपियाँ बराबरको टेन्डर भएपछि हाल आएर ९६ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच पुगेको हो । सात वटा स्थानीय तह रहेको डडेलधुराका विकट गाउँबस्तीमा मात्रै विद्युतीकरण हुन बाँकी छ । स्थानीय तह अनुसार तथ्याङ्क हेर्दा जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा ६० घरधुरी विद्युत्को पहुँचभन्दा बाहिर रहेका छन् । अमरगढीको चिरकिट्टे, पाण्डेबस्ती, भरडालगायतका केही घरधुरीमा बिजुली पुगेको छैन । यस्तै जिल्लाको दोस्रो नगरपालिका परशुराम नगरपालिकाका ३०८ घरधुरी विद्युत्को पहुँचभन्दा बाहिर छन् । यहाँका बसौटी, सलोन, हल्दवारी, रजौडा, सिमलबन्ड, कुँडालगायतका बस्तीका सबै घरमा विद्युत् पुगेको छैन । आलिताल गाउँपालिकामा १८० घरधुरीमा विद्युतीकरण हुन सकेको छैन । यहाँको काफली क्षेत्र, तिमुली, तल्लो गयानी, पर्सासैन, बास्कोटा, सेल्टा, मल्लो गोदाम, हमतड र डोलालगायतका गाउँका धेरै घरधुरीमा बिजुली पुगेको छैन ।

भागेश्वर गाउँपालिकाका १४८ घरधुरीमा विद्युतीकरण हुन सकेको छैन । बलडा, काँडे, पत्रम, बलकाँडे, चुँडी, लेकुडा, राडिल, चौड, सतीगाउँ, ओडाखान, रूपालीगाडलगायतका क्षेत्रमा बिजुली पुग्न बाँकी छ । यसै गरी नवदुर्गा गाउँपालिकाका ८५ घरपरिवार बिजुली पुगेको छैन । यहाँको पलेत्थर, बेडुपानी, पनालखेत, मम्मे, सिरोड र दुलिनागाउँका केही घरधुरीमा बिजुली पुग्न बाँकी छ । त्यस्तै अजयमेरु गाउँपालिकाका खतेडा, कालीपोखरी, धारी, भुल्कुडा र गालबस्तीमा रहेका एक सय घरपरिवारमा बिजुली पुगेको छैन । गन्यापधुरा गाउँपालिकाका उगनाड, जिम्रोडा, कापडीगाउँ, मेड्डी, जैसेरा, कोराल, मोई र रेलका बस्तीका गरी १३१ घरपरिवार विद्युत् पुग्न बाँकी छ ।

पहाडका कुनाकन्धरामा एक/एक घर भएकाले सबै घरघुरीमा विद्युतीकरण गर्न केही असहज भएको कार्यालय प्रमुख जोशीको भनाइ छ । विद्युतीकरणको ठेक्का पाएका ठेकेदारको लापर्बाहीका कारण पनि काममा ढिलाइ हुने गरेको उहाँले बताउनुभयो ।  सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला बाजुरामा सबैभन्दा कम ३३.५१ प्रतिशत मात्र विद्युतीकरण भएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये सबैभन्दा बढी डडेलधुरामा ९६ प्रतिशत विद्युतीकरण भएको छ ।