काठमाडौँ, चैत २१ गते । ट्राफिक प्रहरीले सडकमा ट्राफिक नियम पालना गराउन कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरीले काठमाडौँका विभिन्न स्थानमा ट्राफिक लाइटको पालना नगर्ने सवारी चालकहरूलाई धमाधम नियन्त्रणमा लिई कारबाही सुरु गरेको हो ।
शनिबार बबरमहलमा रहेका दुई वटा ट्राफिक लाइटको सङ्केत उल्लंघन गरी अघि बढेका सवारीसाधनलाई प्रहरीले बिजुलीबजारमा रोकेर कारबाही गरेको छ । रातो बत्ती बल्दासमेत नरोकी सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रहरीले यस्तो सक्रियता देखाएको हो ।
ट्राफिक प्रहरीको यस कदमप्रति सर्वसाधारणको मिश्रित प्रतिक्रिया पाइएको छ । केही चालकले ट्राफिक प्रहरीले दुःख दिने नियत राखेको भन्दै असन्तुष्टि जनाएका छन् भने अधिकांशले सडक सुरक्षाका लागि यसको प्रशंसा गरेका छन् । ट्राफिक नियमको पालना गर्नु सबै नागरिकको कर्तव्य भएको सर्वसाधारणको भनाइ छ ।