तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारस्थित तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण सुरु गरिएको छ। व्यास नगरपालिका–५, बेनीपाटनमा रहेको पराशर माध्यमिक विद्यालयमा आठकोठा भएको दुईतले भवन आयोजनाले आफ्नो खर्चमा निर्माण कार्य सुरु गरेको छ। व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा विद्यालयले भवन बनाउन सुरु गरेको हो। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले बिहीबार श्रीपञ्चमीका दिन भवनको शिलान्यास गर्नुभएको छ।
पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र गण्डकी बहुप्राविधिक शिक्षालय पोखराको आयोजनामा प्रमुखसँग विद्यार्थी अन्तरसंवाद कार्यक्रम गरिएको छ । प्राविधिक शिक्षाको अवस्था, आवश्यकता अवसरलगायतमा केन्द्रित अन्तरसंवादमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित प्राविधिक शिक्षा सेवाप्रदायक संस्था र अध्ययन गरिरहेका विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाएका थिए ।
भैरहवाको शाहनी बिल्डर्सले समयमा काम नगर्दा वाणगङ्गा नगरपालिकाको योजना प्रभावित भएको छ। सो निर्माण कम्पनीले नगरपालिकासँग सकार गरेको योजनामा ढिलासुस्ती गर्दा स्थानीयले सास्ती खेप्नु परेको छ। बिल्डर्सले ई बिडिङमार्फत वडास्तरमा सडक कालोपत्रेको ठेक्का पाएको थियो। त्यसमध्ये अधिकांश योजना अधुरै छन्। म्याद थप गरेपछि पनि कम्पनी काम नगरी सम्पर्कमा नहुने नगरप्रमुख चक्रपाणि अर्याल बताउनुहुन्छ।
दाङको लमही नगरपालिका–६, देउपुरका प्रभात पौडेललाई विद्यालयबाट फर्कंदै गर्दा गाडीले ठक्कर दियो। गाडीको ठक्करबाट सामान्य घाइते पौडेलको छाती र मुखमा चोट लाग्यो, लमहीमा सामान्य उपचारपछि उहाँलाई बुटवल पु-याएर उपचार गरियो। सोही ठाउँकी शान्ता चौधरी हात झमझमाउने समस्या लिएर लमही अस्पतालमा जानुभयो। परीक्षण भयो, औषधि खानुभयो तर निको भएन। थप सुविधाका लागि बुटवल पुग्नुप-यो। यी दुई उदाहरण मात्र हुन्। दाङ देउखुरीमा भरपर्दो स्वास्थ्य सेवा नपाउँदा यहाँका सेवाग्राही सदरमुकाम घोराही र जिल्लाबाहिरै बुटवल र नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको छैन।
सर्लाहीको पश्चिम धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगले उखु क्रसिङ सुरु गरेको छ । बेलैमा किसानबाट किनेको उखुको पैसा तिर्न नसक्दा बदनामी कमाएको यो उद्योगले माघ मध्यतिर आएर उखु पेल्न सुरु गरेको हो । यो उद्योग स्थापना कालदेखि नै नियमित सञ्चालन हुन सकेको छैन । गत साल उद्योग थोरै उखु क्रसिङ गरेर बन्द भएको थियो ।
मेलाबाट ल्याइने कोसेली (सनेस) अनेक हुन सक्छन् । मेला भर्न गइसकेपछि त्यहाँ पाइने अनौठो, राम्रो र मनपर्ने चिजवस्तु किनेर ल्याइन्छ । धेरैको छनोटमा मिठाई, कपडा, खेलौना, भाडावर्तन पर्ने गरेको पाइन्छ । धनुषा जिल्लाको धनुषाधाममा माघ १ गतेदेखि एकमहिने मकरसङ्क्रान्ति मेला सुरु भएको छ । माघेसङ्क्रान्तिका दिनदेखि लाग्ने मेला माघ महिनाभरि लाग्ने गरेको छ । यस मेलाको आफ्नै विशेषता र महत्त्व पनि रहेको चर्चा गर्दै स्थानीय रामभरत साहले भन्नुभयो, “साताको अन्य दिनभन्दा आइतबार र मङ्गलबारको मेलामा असाध्यै भीडभाड हुन्छ ।”
आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले विभिन्न संस्था र व्यक्तिको नाम उल्लेख गरी १२ विरुद्ध किटानी जाहेरी दिनुभएको छ ।
नेपाल राष्ट्र बैङ्कले विप्रेषण कम्पनीलाई मर्जर तथा एक्विजिसनमा जाने बाटो खुलाएको छ । राष्ट्र बैङ्कले विप्रेषण विनियमावली, २०६७ खारेज गरी विप्रेषण विनियमावली, २०७९ जारी गरेसँगै मर्जर र एक्विजिसनको बाटो खुलेको हो । शुक्रबार जारी गरिएको नेपाल राष्ट्र बैङ्कले विप्रेषण विनियमावली, २०७९ को परिच्छेद ७ को नियम २० मा इजाजतपत्र प्राप्त विप्रेषण कम्पनी एकआपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न सक्ने व्यवस्था मिलाएको हो ।
तराई–मधेशमा दाइजो प्रथा तीव्र रूपमा बढ्दै गएको छ। केही सीमित जातिबाट सुरु भएको प्रथाले अहिले सबै जाति समुदायमा जरा गाडिसकेको छ। दाइजो प्रथा हटाउन जातीय सङ्घसंस्थाले समेत कुनै चासो नलिनु चिन्ताको विषय बन्दै गएको छ।
जापान भ्रमणमा जानुभएका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जापानको तोचिगी नगरका प्रमुख ओखावा हिदेकोसँग औपचारिक भेटवार्ता गर्नुभएको छ। भेटमा उहाँले नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहारस्वरूप हस्तान्तरण गर्नुभएको जनाइएको छ। समुदायको संस्कार संस्कृतिसँग सम्बन्धित वाबु (चिन्डो), चोयाबाट बनेको भुने, थुन्सेदेखि नेपालको हिमाल, बुद्धको मूर्ति, दुई देशको झन्डाअङ्कित सामग्रीलगायतका उपहार उहाँले तोचिगी नगरका प्रमुख हिदेकालाई हस्तान्तरण गर्नुभएको हो।
आयात गरेको सामानको भन्सार जाँचपासमा ‘बदनियत’ देखिएपछि विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसहित तीन जना केन्द्रमा तानिएका छन् । भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटा, अधिकृत नकुल शर्मा र नासु हिमालय दाहाल मन्त्रालय र विभागमा तानिनुभएको हो । भन्सार प्रमुख सापकोटाले शुक्रबार रमाना बुझेर मन्त्रालय जानुभएको छ । सापकोटाको स्थानमा तत्काल कामकाज गर्न सिनियर अधिकृत सुवास श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । अधिकृत शर्मा र नासु दाहाललाई गत बिहीबार नै भन्सार विभागमा झिकाइएको थियो ।
भरतपुर महानगरपालिकाको विभिन्न क्षेत्रमा स्मार्ट लाइट बल्न सुरु भएका छन् । जडान भइसकेका ठाउँमा बत्ती बल्न सुरु भए पनि केही स्थानमा जडान कार्य अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाको ७८ किलोमिटरमा जडान गरिने यो लाइट अहिले ६३ किलोमिटरमा जडान गरिसकिएको छ । जडान सम्पन्न भएका स्थानमा बत्ती बाल्न थालिएको छ ।
रामेछापको खाँडादेवी गाउँपालिका–३, भीरपानीस्थित सित्खामा लहरेआँप प्रशोधन केन्द्र निर्माण गरिएको छ । लहरेआँप उत्पादन राम्रो हुन थालेपछि कृषि ज्ञान केन्द्र रामेछाप र खाँडादेवी गाउँपालिकाले ३० लाख रुपियाँको लगानीमा प्रशोधन केन्द्र निर्माण गरेको हो ।
वडावासीका लागि असहज र अपायक पर्ने भोर्लेडाँडामा वडा कार्यालय निर्माण गर्न लागेको भन्दै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ का बासिन्दाले प्रस्तावित वडा कार्यालय भवन निर्माणस्थलमा खनेको जग पुरेका छन् । वडावासीलाई पायक पुग्ने र केन्द्रबिन्दु पर्ने संसारीडाँडामा वडा कार्यालय निर्माण गर्न पटक–पटक गरिएको वडावासीको लिखित र मौखिक आग्रहलाई अटेर गरेर अपायक पर्ने स्थानमा वडा कार्यालय निर्माण गर्न लागेपछि बाध्य भएर जग पुर्नु परेको स्थानीय अगुवा कृष्णबहादुर थापाले बताउनुभयो ।
टाँसी–लाप्चापास पद मार्ग खुलेपछि रोल्वालिङ हिमशृङ्खलाका हिमाल पार गरेर सगरमाथासम्म जान सजिलो भएको छ । रोल्वालिङ उपत्यका हुँदै सगरमाथासम्म पदयात्रा गर्न चाहनेका लागि विकल्पका रूपमा यो पद मार्ग बनेको छ। यो पद मार्ग निमार्णसँगै खुम्बु हुँदै सगरमाथा बेसक्याम्प जाने विदेशी पदयात्री बढेका छन् । यो पद मार्ग निकै अघि खुले पनि व्यवस्थापन नहुँदा विदेशी पर्यटकलाई आवतजावत कठिन थियो।