सर्लाहीको पश्चिम धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगले उखु क्रसिङ सुरु गरेको छ । बेलैमा किसानबाट किनेको उखुको पैसा तिर्न नसक्दा बदनामी कमाएको यो उद्योगले माघ मध्यतिर आएर उखु पेल्न सुरु गरेको हो । यो उद्योग स्थापना कालदेखि नै नियमित सञ्चालन हुन सकेको छैन । गत साल उद्योग थोरै उखु क्रसिङ गरेर बन्द भएको थियो ।
मेलाबाट ल्याइने कोसेली (सनेस) अनेक हुन सक्छन् । मेला भर्न गइसकेपछि त्यहाँ पाइने अनौठो, राम्रो र मनपर्ने चिजवस्तु किनेर ल्याइन्छ । धेरैको छनोटमा मिठाई, कपडा, खेलौना, भाडावर्तन पर्ने गरेको पाइन्छ । धनुषा जिल्लाको धनुषाधाममा माघ १ गतेदेखि एकमहिने मकरसङ्क्रान्ति मेला सुरु भएको छ । माघेसङ्क्रान्तिका दिनदेखि लाग्ने मेला माघ महिनाभरि लाग्ने गरेको छ । यस मेलाको आफ्नै विशेषता र महत्त्व पनि रहेको चर्चा गर्दै स्थानीय रामभरत साहले भन्नुभयो, “साताको अन्य दिनभन्दा आइतबार र मङ्गलबारको मेलामा असाध्यै भीडभाड हुन्छ ।”
आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले विभिन्न संस्था र व्यक्तिको नाम उल्लेख गरी १२ विरुद्ध किटानी जाहेरी दिनुभएको छ ।
नेपाल राष्ट्र बैङ्कले विप्रेषण कम्पनीलाई मर्जर तथा एक्विजिसनमा जाने बाटो खुलाएको छ । राष्ट्र बैङ्कले विप्रेषण विनियमावली, २०६७ खारेज गरी विप्रेषण विनियमावली, २०७९ जारी गरेसँगै मर्जर र एक्विजिसनको बाटो खुलेको हो । शुक्रबार जारी गरिएको नेपाल राष्ट्र बैङ्कले विप्रेषण विनियमावली, २०७९ को परिच्छेद ७ को नियम २० मा इजाजतपत्र प्राप्त विप्रेषण कम्पनी एकआपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न सक्ने व्यवस्था मिलाएको हो ।
तराई–मधेशमा दाइजो प्रथा तीव्र रूपमा बढ्दै गएको छ। केही सीमित जातिबाट सुरु भएको प्रथाले अहिले सबै जाति समुदायमा जरा गाडिसकेको छ। दाइजो प्रथा हटाउन जातीय सङ्घसंस्थाले समेत कुनै चासो नलिनु चिन्ताको विषय बन्दै गएको छ।
जापान भ्रमणमा जानुभएका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जापानको तोचिगी नगरका प्रमुख ओखावा हिदेकोसँग औपचारिक भेटवार्ता गर्नुभएको छ। भेटमा उहाँले नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहारस्वरूप हस्तान्तरण गर्नुभएको जनाइएको छ। समुदायको संस्कार संस्कृतिसँग सम्बन्धित वाबु (चिन्डो), चोयाबाट बनेको भुने, थुन्सेदेखि नेपालको हिमाल, बुद्धको मूर्ति, दुई देशको झन्डाअङ्कित सामग्रीलगायतका उपहार उहाँले तोचिगी नगरका प्रमुख हिदेकालाई हस्तान्तरण गर्नुभएको हो।
आयात गरेको सामानको भन्सार जाँचपासमा ‘बदनियत’ देखिएपछि विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसहित तीन जना केन्द्रमा तानिएका छन् । भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटा, अधिकृत नकुल शर्मा र नासु हिमालय दाहाल मन्त्रालय र विभागमा तानिनुभएको हो । भन्सार प्रमुख सापकोटाले शुक्रबार रमाना बुझेर मन्त्रालय जानुभएको छ । सापकोटाको स्थानमा तत्काल कामकाज गर्न सिनियर अधिकृत सुवास श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । अधिकृत शर्मा र नासु दाहाललाई गत बिहीबार नै भन्सार विभागमा झिकाइएको थियो ।
भरतपुर महानगरपालिकाको विभिन्न क्षेत्रमा स्मार्ट लाइट बल्न सुरु भएका छन् । जडान भइसकेका ठाउँमा बत्ती बल्न सुरु भए पनि केही स्थानमा जडान कार्य अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाको ७८ किलोमिटरमा जडान गरिने यो लाइट अहिले ६३ किलोमिटरमा जडान गरिसकिएको छ । जडान सम्पन्न भएका स्थानमा बत्ती बाल्न थालिएको छ ।
रामेछापको खाँडादेवी गाउँपालिका–३, भीरपानीस्थित सित्खामा लहरेआँप प्रशोधन केन्द्र निर्माण गरिएको छ । लहरेआँप उत्पादन राम्रो हुन थालेपछि कृषि ज्ञान केन्द्र रामेछाप र खाँडादेवी गाउँपालिकाले ३० लाख रुपियाँको लगानीमा प्रशोधन केन्द्र निर्माण गरेको हो ।
वडावासीका लागि असहज र अपायक पर्ने भोर्लेडाँडामा वडा कार्यालय निर्माण गर्न लागेको भन्दै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ का बासिन्दाले प्रस्तावित वडा कार्यालय भवन निर्माणस्थलमा खनेको जग पुरेका छन् । वडावासीलाई पायक पुग्ने र केन्द्रबिन्दु पर्ने संसारीडाँडामा वडा कार्यालय निर्माण गर्न पटक–पटक गरिएको वडावासीको लिखित र मौखिक आग्रहलाई अटेर गरेर अपायक पर्ने स्थानमा वडा कार्यालय निर्माण गर्न लागेपछि बाध्य भएर जग पुर्नु परेको स्थानीय अगुवा कृष्णबहादुर थापाले बताउनुभयो ।
टाँसी–लाप्चापास पद मार्ग खुलेपछि रोल्वालिङ हिमशृङ्खलाका हिमाल पार गरेर सगरमाथासम्म जान सजिलो भएको छ । रोल्वालिङ उपत्यका हुँदै सगरमाथासम्म पदयात्रा गर्न चाहनेका लागि विकल्पका रूपमा यो पद मार्ग बनेको छ। यो पद मार्ग निमार्णसँगै खुम्बु हुँदै सगरमाथा बेसक्याम्प जाने विदेशी पदयात्री बढेका छन् । यो पद मार्ग निकै अघि खुले पनि व्यवस्थापन नहुँदा विदेशी पर्यटकलाई आवतजावत कठिन थियो।
मित्रराष्ट्र अमेरिकाको विदेश मन्त्रालयस्थित राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार नेपाल आउनुहुने भएको छ । आमनिर्वाचनपछि नयाँ सरकार गठन भएयता अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार भ्रमणका क्रममा उप(विदेशमन्त्री नुल्यान्डले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ । सोमबार दिउँसो उहाँले पत्रकार सम्मेलन गरेर आफ्नो भ्रमणबारे जानकारी दिनुहुने दूतावासले जनाएको छ ।
आफूले दायर गरेको मुद्दामा विशेष अदालत काठमाडौँबाट भएका फैसलामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारवटा मुद्दामा पुनरावेदन गरेको छ। विशेष अदालतबाट सफाइ दिइएका ती मुद्दामा चित्त नबुझेपछि आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो। पुनरावेदन दिइएका मुद्दामा सरकारी रकम हिनामिना, झुटा बिल भर्पाई, नक्कली प्रमाणपत्रका आधारमा शिक्षक नियुक्तिसँग सम्बन्धित छन्।
विश्वव्यापी भोकमरीको सूचकाङ्क (जीएचआई)मा नेपालको अवस्थामा सामान्य सुधार देखिएको छ। ग्लोबल हङ्गर इन्डेक्स कन्सर्न वल्र्डवाइड र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित वार्षिक प्रतिवेदनमा यस्तो सुधार देखिएको उल्लेख छ। जीएचआईले १२१ वटा राष्ट्रमा गरेको अध्ययनमा नेपाल ८१औँ स्थानमा रहेको छ।
पछिल्लो दुई सातामा काठमाडौँका सडकमा रहेका खाल्टाखुल्टी ६५ प्रतिशत मर्मत भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार सडकसँग सम्बन्धित आठ निकायको संयुक्त बैठकमा सो जानकारी गराइएको हो। बैठकमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ उपत्यकामा रहेका सडकसम्बन्धी निकायहरूले एकीकृत स्वरूपमा समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। कुनै पनि ठाउँमा समस्या देखिँदा सम्बन्धित निकायले नागरिकप्रतिको आआफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्ने बताउँदै उहाँले एकले