• ३२ जेठ २०८१, शुक्रबार

स्वास्थ्य र शिक्षामा विशेष जोड दिएका छौँ

blog

कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकामा मधेशी मूलका नागरिकको  बाहुल्यत रहेको छ। यद्यपि यहाँ विभिन्न जातजाति तथा धर्म संस्कृति मान्ने समुदायको बसोबास हुँदै आएको छ। पछिल्लो समय महाराजगन्ज नगरपालिकामा भइरहेको पूर्वाधार विकास, आर्थिक तथा सामाजिक गतिविधिलगायतका विषयमा नगर प्रमुख अब्दुल कलाम खाँसँग गोरखापत्रका तौलिहवा समाचारदाता नारद कोहारले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :

  तपाईं नगर प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित भएको एक वर्ष पूरा भएको छ। यो एक वर्षको कार्यकालमा के कस्ता काम गर्नुभयो ? मुख्य उपलब्धिहरू के के हुन् ?

–अघिल्लो कार्यकालमा नगरपालिकाको भौतिक पूर्वाधार विकासमा विशेष जोड दिइएको थियो। शिक्षा, सडक, खानेपानी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम भयो। दोस्रो पटक निर्वाचित भएयताको एक वर्षको अवधिमा हामीले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ। यहाँ सीमित स्रोतसाधन भएकाले धेरै ठुला ठुला आयोजना सम्पन्न गर्न नसके पनि हामीले विशेष गरी एक वर्षको अवधिसम्म नगरपालिकाको वडा नं. १ मा १५ शøयाको अस्पताल निर्माण गरिरहेका छौँ। जसको ६५ प्रतिशत काम पूरा भइसकेको छ। त्यसै गरी नगरभित्र छ वटा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन्। अहिले यो आर्थिक वर्षमा तीन वटा बर्थिङ सेन्टरको पूर्वाधार निर्माण सम्पन्न हुने अवस्थामा रहेको छ। नगरपालिकाको वडा नं. १ मा पचास प्रतिशत अनुदानमा स्वास्थ्य बिमा कार्यव्रmम सञ्चालन र स्वास्थ्य बिमाको औषधी काउन्टर पनि खोलीसकेका छौँ । आँखा अस्पतालको सहयोगमा नगरका ६०० जनाको मोतियाबिन्दुको शल्यक्रिया पनि भइसकेको छ। नगरले स्वास्थ्य क्षेत्रका विकासका लागि पर्याप्त रकम पनि विनियोजन गरिसकेको छ।

 खास गरी शिक्षा र खेलकुद क्षेत्रको विकासमा के काम भइरहेको छ ? 

–शिक्षा क्षेत्रको विकासका लागि हामीले अघिल्लो कार्यकाल पनि धेरै काम गरेका थियौँ। त्यो नगरवासी दाजुभाइ दिदीबहिनीले देख्नुभएकै छ। अघिल्लो पटकको काम गरे अनुसारको नतिजा आउन थालेको छ। शिक्षाको सुधारमा सबै विद्यालयलाई निर्देशन दिएका छौँ । चार वटा विद्यालयमा १२ कोठे भवनको ठेक्का भई निर्माण कार्य जारी छ। शिक्षासँगै खेलकुद क्षेत्रको विकास पनि जरुरी छ। अहिले बजेटको कमीले गर्दा भने अनुसार काम गर्न सकिएको छैन।  खेलकुदका लागि राष्ट्रपति रनिङ सिल्ड, मेयर कप र डोरितान प्रतियोगिता पनि गरिँदै आएको छ। हामीले शिक्षा र खेलकुदको विकास अभिभावकहरूले अनुभूति गर्ने गरी गर्ने प्रयासमा अझै लागिरहेको विश्वास दिलाउँछु।   


 भौतिक पूर्वाधारको क्षेत्रमा नगरको प्राथमिकता के कस्ता रहेका छन् ? 

– यस आर्थिक वर्षमा भौतिक पूर्वाधारतर्फ नगरपालिकाको गनवरीयादेखि चमरसटसम्म करिब ७५० मिटर सडक कालोपत्रे भइसकेको छ। यस्तै सीमा क्षेत्रमा शिवभारीदेखि भुजहना, मुजहनीसम्म करिब पाँच किलोमिटरको बाटो ठेक्का भई निर्माणाधीन रहेको छ। सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत २९९ जनाको घर निर्माणको काम भइरहेको छ। नगरपालिकाले आफ्नै साधन स्रोतबाट ४५ वटा घर गरिब विपन्नका लागि निर्माण गरिसकेको छ। नगरको सडक पूर्वाधार सुधार गर्न कालोपत्रे अभियानलाई पनि अघि बढाएका छौँ । नगरको पूर्वाधार निर्माणमा हामीले जोड दिएकाले पनि महाराजगन्जमा विकासका अनुभूति जनताले गर्न थालिसकेका छन्। कृषकहरूको जीवनस्तरमाथि उठाउन आवश्यकता अनुसार सिँचाइका लागि बोरिङ निःशुल्क गरिएको छ। लागत सहभागितामा ४५ वटा बोरिङ पनि जडान गरेका छौँ।  शुद्ध खानेपानीका लागि एक घर एक धाराको अवधारणा यो नगरपालिकाले लिएको छ। त्यसै अनुरूप नगरपालिका भित्र ३१० वटा हन्ड पाइपको जडान भइसकेका छन्। अरू धेरै आवश्यक पूर्वाधारको काम भएका छन्।  


 नगरको विकास गर्ने क्रममा के कस्ता चुनौतीको सामना गर्नु प-यो ? 

–नगरपालिकामा किसानको बसोबास धेरै भएकाले कृषि क्षेत्रमा पनि जोड दिएका छौँ। यहाँका किसानहरू आकासे पानीको भरमा खेतीपाती गर्दै आएकाले किसानका लागि सिँचाइ गर्न लागत सहभागितामा बोरिङ जडान गर्दै आएका छौँ। नगरभित्र स्रोत र साधनको कमीका कारण  धेरै समस्या र चुनौती छन्। यसको समाधानका लागि एकीकृत योजना बनाएर अगाडि बढेका छौँ। स्थानीय सरकारसँग जनताका अपेक्षा धेरै रहेको पाइएको छ, जुन स्वाभाविक पनि हो। यी अपेक्षा पूरा गर्नेतर्फ हामीले आगामी चार वर्ष धेरै मिहिनेत र परिश्रम गर्नुपर्ने देखिएको छ। सङ्घीय सरकार र प्रदेश सरकारबाट गत आर्थिक वर्ष २०७९।८० का लागि प्रतिबद्धता भए अनुसारको वित्तीय समानीकरण अनुदान तथा राजस्व बाँडफाँटमा भएको बजेट कटौतीको कारणले भुक्तानी गर्न समस्या भएको छ। चालु आर्थिक वर्षमा प्राप्त बजेटबाट गत आर्थिक वर्षको भुक्तानी गर्न बाँकी रहेको रकमलाई समावेश गरी बजेट निर्माण भएकाले चालु आर्थिक वर्षको विकासमा समेत असर पर्ने देखिएको छ। चुनौती धेरै छन् तर तिनलाई बिस्तारै समाधान पनि गर्दै जाने हो। 


 नगरपालिकाको विकासमा सङ्घीय र प्रदेश सरकारको सहयोग छ कि छैन ?

–अहिलेसम्म केन्द्र र प्रदेश सरकारको सहयोग हामीलाई प्राप्त हुँदै आएको छ। जुन रूपमा सहयोग हुनुपर्ने हो त्यो नहुनु अर्को कुरा हो। बजेटको आवश्यकता पर्ने ठाउँमा हामी पालिकाको बैठक बसेर माग गर्ने गरेका छौँ। नगरको विकासका लागि प्रदेश र केन्द्रसंँग सहकार्य भएर विभिन्न क्षेत्रमा लगानी पनि भएका छन्। नगरको आवश्यकता अनुसार हामीले बजेट पनि माग गर्दै आएका छौँ। आगामी दिनमा सङ्घ र प्रदेश सरकारले दिने सहयोगले हामीले धेरै विकास निर्माणको काम गर्नु छ।