• ३० वैशाख २०८२, मङ्गलबार

भुग्देउका पाँच सय घरधुरीमा पुग्यो खानेपानी

blog

शनिवार बेथानचोक गाउँपालिका–६ भुग्देउमा सम्पन्न भएको खानेपानी आयोजनाको उद्घाटन गर्नुहुँदै बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामा र बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारी । तस्विरः गोरखापत्र

केदार तिमल्सिना 

काभ्रेपलान्चोक, साउन १४ गते । काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–६ भुग्देउमा ‘एक घर, एक धारा’ खानेपानी उपलब्ध गराइएको छ । एक घर, एक धारा कार्यक्रम अन्तर्गत करिब पाँच सय घरधुरीमा खानेपानी सुविधा उपलब्ध गराइएको हो । 

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र बेथानचोक गाउँपालिकाको साझेदारीमा महाङ्कालचौर खानेपानी तथा सरसफाइ र  थिङछाप खानेपानी आयोजनामार्फत स्थानीय नागरिकहरूमा खानेपानी सुविधा उपलब्ध गराइएको बेथानचोक गाउँपालिकाले जनाएको छ । शनिवार एक कार्यक्रमबीच बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामा र बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले खानेपानीको उद्घाटन गर्नुभएको हो । 

कार्यक्रममा मन्त्री लामाले संविधानले प्रत्येक नागरिकको मौलिक हकको रूपमा स्वच्छ खानेपानी उपयोग गर्न पाउनुपर्ने व्यवस्था रहेकोले सबै नागरिक स्वच्छ खानेपानीको पहुँचमा हुनुपर्ने बताउनुभयो । उहाँले नागरिकलाई स्वच्छ खानेपानीको सुनिश्चित गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकार जिम्मेवार रहनुपर्ने बताउनुभयो । कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले सरकारले अघि सारेको ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत गाउँपालिकाले सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराउने काम गरिरहेको बताउनुभयो । उहाँले गाउँपालिकाले समुदायलाई समृद्धितिर लैजानको लागि शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी, खानेपानी, कृषि, पशुपालन लगायतका क्षेत्रमा लगानी गरेको बताउनुभयो ।

कार्यक्रमका महाङ्कालचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष विकास लामिछाने मगरले खानेपानी आयोजनाको दिगोपना, व्यवस्थापन र सर्वसुलभताका लागि दुवै खानेपानी आयोजनाका लागि भवन निर्माण आवश्यक रहेको बताउनुभयो । महाङ्कालचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट ३२० घरधुरीका साथै तीन विद्यालयका एक हजार ७७९ शिक्षक, विद्यार्थी र थिङछाप खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट १७२ घरधुरीका साथै तीन विद्यालय, एक स्वास्थ्य चौकी र  वडा कार्यालयमा आउने सेवाग्राही लाभान्वित हुनेछन् ।  

एक करोड ७५ लाख ४७ हजार २२० रुपियाँको लागतमा निर्माण भएको महाङ्काल खानेपानी आयोजनाका नेवा संस्थाबाट ८१ लख ५८ हजार ३१९ रुपियाँ, गाउँपालिकाबाट ४९ लाख ८५ हजार ३४५ रुपियाँ र २२ लाख ३८ हजार ९६७ रुपियाँ बराबरको जनश्रमदान तथा २१  लाख ६४ हजार ५८० रुपियाँ नगद सङ्कलन गरी आयोजनाको काम सम्पन्न गरिएको समितिका अध्यक्ष विकास लामिछाने मगरले बताउनुभयो । 

यस्तै एक करोड ११ लाख १३ हजार ७३४ रुपियाँको लागतमा सम्पन्न भएको थिङछाप खानेपानी आयोजनाका लागि नेवा संस्थाबाट ६६ लाख १९ हजार ३६५ रुपियाँ, गाउँपालिकाबाट २१ लख ९७ हजार ६९९ रुपियाँ र समुदायबाट १० लाख ७९ हजार ९५६ रुपियाँ बराबरको जनश्रमदान र १२ लाख १६ हजार ७१४ रुपियाँ नगद सङ्कलन गरी आयोजनाको काम सम्पन्न गरिएको समितिका अध्यक्ष तीर्थबहादुर लामाले बताउनुभयो ।