• ३० वैशाख २०८२, मङ्गलबार

'विपद् तथा मानविय संवेदनामा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्छ'

blog

पुतलीबजार नगरपालिका–४ गणेशपुरमा समुदाय खोज तथा उद्धार तालिम तथा प्रर्दशनीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बोल्दै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, वैशाख ३० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् तथा मानविय संवेदनासँग प्रत्यक्ष जोडिएको विषयमा प्रदेश सरकार अभिभावकीय भूमिका निर्वाह गर्ने बताउनुभएको छ। 

पुतलीबजार नगरपालिका–४ गणेशपुरमा गण्डकी प्रदेश सरकारको सहयोगमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको आयोजना र जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा विपद् गुल्म बाग्लुङको सहयोगमा गरिएको विपद प्रतिकार्य सम्बन्धी समुदाय खोज तथा उद्धार तालिम तथा प्रर्दशनीमा मुख्यमन्त्री पाण्डेले मङ्गलबार सो कुरा बताउनुभएको हो । 

सम्भावित खतरा न्यूनीकरण र विपद् पछिको खोज, उद्धार, उपचार, राहत लगायतका काममा सरोकारवाला सबै एकजुट भएको खण्डमा ठुला विपदको सहजै सामना र सहजीकरण हुने उहाँको भनाइ थियो । विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले वार्षिक रूपमा आर्थिक स्रोतको पनि सुनिश्चतता गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले प्रदेश स्तरमा नघट्ने गरी १० करोड र जिल्ला स्तरमा १० लाख नघट्ने गरी विपद व्यवस्थापन कोष सञ्चालन गरेको बताउनुभयो । 

विपदबाट भएको क्षती न्यूनीकरण गर्दै थप क्षती हुन नदिन स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा तत्काल बजेट व्यवस्थापन गर्ने गरिएको उहाँको भनाइ छ । विपदका बेला छिटो उद्धार, उपचार र राहतमा सघाउन सक्ने गरी यस्ता तालिम, प्रशिक्षण दिने, यन्त्र उपकरणहरू सहयोग गर्ने, सुरक्षाकर्मीको मनोबल बढाउने, आवश्यक सामाग्रीहरू सहयोग गर्ने काम प्रदेश सरकारले गरिरहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । 

सङ्घ सरकारले हस्तान्तरण गरेको प्रादेशिक आपतकालीन गोदाम घर र आवश्यक सामग्रीले विपद्को पूर्व तयारीमा प्रदेश सरकारकालाई ठुलो मद्दत पुग्ने विश्वाश लिएको उहाँको भनाइ छ । 

विपदको समयमा जहिलेपनि पहिलो उद्धारकर्ता स्थानीय व्यक्तिहरू नै हुने बताउँदै मुख्यमन्त्री पाण्डेले यदी स्थानीय व्यक्तिहरू विपद् उद्धार प्रक्रियासँग थोरै मात्र पनि जानकार हुने हो भने मानविय क्षतिलाई धेरै हदसम्म कम सकिने बताउनुभयो । 

नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्ने निकाय मात्र नभएर विपदको घडीमा जनताको नजिक पुगेरसुख दुखको सारथीको रूपमा आफूलाई स्थापित गर्नेछ भन्दै मुख्यमन्त्री पाण्डेले सबै सुरक्षा निकायले जोखिमपूर्ण धरातलमा गरेका उद्धार कार्यको प्रशंसा गर्नुभयो । यहाँ भीरमा लड्दा, सवारीसाधन दुर्घटना, आगालागी र विद्युतिय आगालागीमा कसरी बचाउने विपद सम्बन्धी नमुना अभ्यास गरिएको थियो भने ३० जनालाई तीन दिने समुदाय खोज तथा उद्धार तालिम दिइएको थियो ।