• ८ पुस २०८२, मङ्गलबार

कोहलपुर महोत्सवको तयारी पूरा

blog

महोत्सव तयारी पूरा भएको बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलन । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, पुस ८ गते । कोहलपुर उद्योग वाणिज्य सङ्घले बुधबारदेखि सञ्चालन गर्न लागेको कोहलपुर महोत्सवको तयारी पूरा भएको जनाएको छ ।

मङ्गलबार महोत्सवस्थल कोहलपुर न्युरोडस्थित खुला मैदानमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईले २०६५ देखि निरन्तर रुपमा सञ्चालन गरिँदैआएको कोहलपुर महोत्सवको सातौँ शृङ्खलाका रुपमा बुधबारदेखि सुरु हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

उहाँले विगतका महोत्सवहरुले कोहलपुर क्षेत्रको आर्थिक गतिविधि विस्तार, स्थानीय व्यवसाय तथा उद्यमशीलताको प्रवर्धन, सांस्कृतिक पहिचानको संरक्षण तथा सामाजिक सद्भाव र एकताको सुदृढीकरणमा महत्वपूर्ण र सकारात्मक योगदान गर्दैआएको उल्लेख गर्नुभयो ।

महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुहुने उहाँले जानकारी दिनुभयो । महोत्सवमा कृषि, पर्यटन, सूचना प्रविधि, विद्युतीय अटोमोबाइल, स्थानीय हस्तकला, स्वास्थ्य, शिक्षा, उद्योग व्यवसाय तथा कलासंस्कृति लगायतका विविध क्षेत्रसँग सम्बन्धित उत्पादन, सेवा, नवप्रवर्तन तथा प्रविधिहरुको प्रदर्शनी र प्रवर्धन गरिने तथा स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलताको प्रवर्धन तथा कोहलपुर नगरको पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।

महोत्सवमा २५० वटा व्यावसायिक स्टल, २२ वटा होटल स्टल, १५ वटा प्रवद्र्धनात्मक स्टल, १० वटा विभिन्न विषयगत प्रदर्शनी स्थल, १७ वटा होटल–रेस्टुरेन्टसहितको एउटा थारुगाउँ गरी जम्मा ३०० वटा स्टलहरु रहने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

महोत्सवलाई थप आकर्षक, समावेशी र मनोरञ्जनात्मक बनाउन राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारका साथै स्थानीय कलाकारहरुको दैनिक सांस्कृतिक प्रस्तुति, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु समावेश गरिएको तथा जलपरी, कृषि तथा विज्ञान प्रदर्शनी जस्ता विशेष आकर्षण रहने जनाइएको छ ।

आयोजकका अनुसार महोत्सव अवलोकनका लागि सामान्य टिकटदर १०० रुपियाँ, सहुलियत टिकटदर ८० रुपियाँ र शारीरिक अपाङ्गता भएका व्यक्तिहरु र ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । दर्शकहरुको सुरक्षा, शान्ति र सुव्यवस्था सुनिश्चित गर्न सीसी क्यामेरामार्फत प्रत्यक्ष निगरानी, प्रशिक्षित सुरक्षा गार्ड, स्वास्थ्य सहायता कक्ष, आगलागी नियन्त्रण उपकरण, ट्राफिक तथा पार्किङ व्यवस्थापन लगायतका सम्पूर्ण सुरक्षा प्रवन्धहरु मिलाइएको आयोजकले जनाएको छ । महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।