शशिधर पराजुली
विराटनगर, चैत २४ गते । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको तयारी गरिरहेको बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मङ्गलबार विराटनगरका उद्योगी व्यवसायीहरूसँग अन्तरक्रिया गरी सुझाव संकलन गर्ने हुनुभएको छ ।
राजस्व परामर्श समितिको आयोजनामा हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुन अर्थमन्त्री वाग्ले विराटनगर आउँदै हुनुहुन्छ ।
अर्थमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो पटक विराटनगरका उद्योगी व्यवसायीहरूसँग औपचारिक छलफल गर्न लाग्नुभएका वाग्लेले विशेषगरी राजस्वको क्षेत्रमा गर्नुपर्ने सुधार र उद्योग तथा व्यापार क्षेत्रमा सरकारले लिनुपर्ने आगामी नीतिका बारेमा सुझाव संकलन गर्नुहुने बताइएको छ । विराटनगरमा क्रियाशील उद्योग वाणिज्य संघहरुले औपचारिक रुपमा अर्थमन्त्री वाग्लेलाई सुझावहरु दिने तयारी गरेका छन् ।
मोरङ उद्योग व्यापार संघको ‘समृद्धि हल’ मा दिउँसो १ः३० बजेदेखि सुरु हुने सो कार्यक्रममा कोशी प्रदेशका प्रमुख व्यावसायिक संस्थाहरूको सहभागिता रहने आयोजक संस्था मोरङ उद्योग व्यापार संघले जनाएको छ ।
छलफलमा विराटनगरका दुई ठुला व्यावसायिक संस्था मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले दुई छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने तयारी गरेका छन् । ती कार्यपत्रमार्फत उद्योगीहरूले विद्यमान आर्थिक अवस्था, राजस्वका दरहरूमा हुनुपर्ने परिमार्जन र औद्योगिक वातावरण सुधारका लागि बजेटमा समेटिनुपर्ने विषयमा ठोस सुझाव दिनेछन् ।
कार्यक्रममा मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशसमेतको सहभागीता रहने बताइएको छ ।