राजन रावत
हुम्ला, चैत २४ गते । सम्झौता भएको चार वर्षपछि कर्णाली करिडोरको खार्पुनाथ गाउँपालिका–५ को दोजाम कर्णाली नदीमा निर्माण भइरहेको स्टिल ट्रष्ट मोटरेवल पुलको काम अन्तिम चरणमा पुगेको छ। हिल्सा–सिमकोट सडक योजनाबाट बारम्बारको मागपछि आगामी जेठ मसान्तसम्म पुलको निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएकोले निर्माण कम्पनीले कामलाई तीव्र बनाएको हो।
हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिनुभयो, “चार वर्षअघि निर्माण कम्पनी स्वच्छन्द माउण्ट पुमरी जेभी (नुवाकोट) सँग सम्झौता भए पनि काम ढिलाइ भएको थियो। २०७८ साल असोज १४ गते सम्झौता भए पनि पूर्वतर्फको भागमा तातोपानी निस्किँदा एक वर्ष काम रोकिएको थियो।”
उहाँले थप्नुभयो, “यस वर्षबाट पुलको संरचना निर्माणमा काम तीव्रता पाएको छ। हाल पुलको दुवैतर्फका संरचना निर्माण भइसकेका छन् र आवश्यक स्टिल पार्ट सामग्री पनि स्थलमा पुगेर जडान कार्य धमाधम भइरहेको छ। नदीको कटानबाट पुल सुरक्षित राख्न दुवैतर्फ ग्याविन पनि लगाइएको छ। निर्माण कम्पनी बिहानदेखि बेलुका काम गरिरहेको छ।”
पुलको कुल लम्बाइ ५५ मिटर र चौडाइ १० मिटर रहेको छ। निर्माणका लागि २०८० साल असोज ६ गते म्याद थप गरिएको थियो। कुल लागत ११ करोड ८३ लाख ९४ हजार ५०८.५२ रुपियाँ निर्धारण गरिएकोमा हालसम्म २० प्रतिशत वित्तीय प्रगति भएको छ भने भौतिक प्रगति ५० प्रतिशत पुगेको छ। अब बाँकी स्टिल पार्ट जडान कार्य दुई महिनाभित्र सम्पन्न हुने कम्पनीले जनाएको छ।
पहिले ढिलाइका कारण हुम्लावासीले बेलिब्रीज माग गरेका थिए, त्यसै अनुरूप हाल निर्माण भइरहेको पुलभन्दा केही माथि बेलिब्रीज पनि निर्माण गरिएको छ।