गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २४ गते । इजरायलले गरेको हवाई आक्रमणमा इरानका गुप्तचर प्रमुख मेजर जनरल मजिद खादेमीको ज्यान गएको छ । सोमबार बिहान राजधानी तेहरानमा खादेमी मारिएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ । त्यसै गरी इस्लाम सहरमा भएको अर्को हवाई आक्रमणमा ३४ जनाको मृत्यु भएको छ । सो घटनामा धेरै अन्य घाइते भएका छन् । फर्स समाचार एजेन्सी
र नुर न्युजका अनुसार आक्रमण स्थानीय समय अनुसार बिहानै एक आवासीय भवनमा परेको थियो । यस घटनाले क्षेत्रीय बासिन्दा र परिवारमा भय र त्रास मच्चाएको छ ।
भीषण आक्रमणको धम्की
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले स्ट्रे अफ हर्मुज पुनः सञ्चालन नगरे नागरिक पूर्वाधारमाथि कडा आक्रमण गर्ने चेतावनी दोहो¥याउँदै समयसीमा २४ घण्टा थप गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत पुल र विद्युत् संरचनामाथि आक्रमण गर्ने धम्की दिनुभयो भने इरानका संसदीय नेतृत्वले यस्तो कदमले सम्पूर्ण क्षेत्र जल्न सक्ने प्रतिक्रिया दिएको छ ।
युद्धविरामको प्रयास
अमेरिका, इरान र क्षेत्रीय मध्यस्थकर्ताबिच जारी युद्ध अन्त्य गर्ने उद्देश्यले सम्भावित ४५ दिने युद्धविरामका लागि गम्भीर छलफल भइरहेको जनाइएको छ । कूटनीतिक स्रोतहरूका अनुसार प्रस्तावित योजना दुई चरणमा अघि बढ्ने छ, जसले दीर्घकालीन शान्ति स्थापना गर्ने लक्ष्य राखेको छ । पहिलो चरण अन्तर्गत ४५ दिनको अस्थायी युद्धविराम लागु गरिने छ, जस अवधिमा दुवै पक्षबिच विश्वास निर्माण गर्ने, तनाव घटाउने तथा स्थायी समाधानका आधार तयार पार्ने विषयमा व्यापक वार्ता सञ्चालन गरिने छ ।
आवासीय भवनमा क्षेप्यास्त्र प्रहार
इजरायलको उत्तरी सहर हाइफामा इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।