• ८ पुस २०८२, मङ्गलबार

नारायणीमा देखिन थाले डल्फिन

blog

नारायणी नदीमा देखिएको डल्फीन् । तस्बिर सौजन्यः टेक महतो

ज्ञानु पंगेनी

मध्यविन्दु, पुस ८ गते । नवलपुरको खोरिया मुहाननजिक नारायणी नदीमा डल्फिन देखिएका छन् । संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको खोरिया मुहाननजिक नारायणी नदीमा डल्फिन देखिएको बताउनुभयो । 

उहाँले केही दिन अघिमात्र उक्त क्षेत्रमा डल्फिनको तस्बिर कैद गर्नुभएको थियो । विगत तीन वर्र्षदेखि नियमित रुपमा आफूले डल्फिन देख्न पाउँदा उत्साहित बनाएको संरक्षणकर्मी एवं नेचर गाइड महतोले बताउनुभयो । 

‘लामो समयदेखि नारायणी नदीमा डल्फिन देखिन छाडेको थियो, दुई तीन वर्ष यता नियमित रुपमा डल्फिन देखिन थालेको छ’ महतोले भन्नुभयो । गतवर्ष नवलपुरको अमलटारीघाट र भेलौजीस्थित नारायणी नदीमा डल्फिन देखिएको थियो । यस वर्ष गोलाघाट, खोरिया मुहाननजिक डल्फिन देखिएको उहाँले बताउनुभयो ।

नवलपुरको खोरिया मुहानदेखि त्रिवेणीसम्म विभिन्न स्थानमा विभिन्न समयमा डल्फिन देखिन थालेको छ । खासगरी नारायणी नदीको खोरिया मुहान, अमलटारीघाट र भेलौजी भन्ने स्थानमा डल्फिन देखिने गरेको छ । यी स्थानमा नदीको सतह गहिरो र शान्त रहेकाले डल्फिन यस क्षेत्रमा देखिएको हुन सक्ने महतोले बताउनुभयो । 

लामो समयको अन्तरालपछि क्रमशः डल्फिन देखिनु आफैमा खुसीको कुरा भएको उहाँको भनाइ छ । संरक्षणकर्मी पे्रमशंकर मर्दनिया थारूका अनुसार अमलटारीदेखि त्रिवेणीसम्म डल्फिनका लागि अनुकूल वातावरण छ । पानीको गहिराइ, आहाराका रूपमा प्रशस्त माछा तथा प्राकृतिक अवस्था उपयुक्त रहेको छ ।

पहिले यस क्षेत्रमा प्रायः डल्फिन देखिने गर्दथे, पछिल्लो समय फेरि देखिन थालेको उहाँले बताउनुभयो । त्रिवेणीस्थित नेपाल–भारत सिमानामा रहेको ब्यारेजका कारण धेरैजसो डल्फिन तलतिर झरेपछि पुनः माथि आउन नसक्दा यहाँको क्षेत्रमा डल्फिन कम देखिन थालेको उहाँको भनाइ छ । 

डल्फिन एक स्तनधारी जलचर जीव हो । नेपालको विभिन्न नदीमा यसको उपस्थिति भए पनि संरक्षणको पहल भने पर्याप्त नभएको उहाँको भनाइ छ । नारायणी नदीमा डल्फिन देखिएको अवस्थामा प्रभावकारी संरक्षण कार्य अघि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो । 

नदी प्रदूषण नियन्त्रण, डल्फिनलाई असर गर्ने गतिविधि रोकथाम गर्न जरुरी रहेको संरक्षणकर्मी थारूले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गत वर्ष नारायणी नदीमा तीनवटा डल्फिन देखिएको अभिलेख छ । 

डल्फिनको छुट्टै गणना नगरिए पनि घडियाल गणनाको क्रममा डल्फिन देखिए, त्यसको रेकर्ड राखिने उहाँले बताउनुभयो । निकुञ्जबाट समग्र संरक्षणका कामहरु हुने हुँदा छुट्टै डल्फिन संरक्षणको गतिविधि र कार्यक्रम भने नरहेको उहाँले बताउनुभयो ।