• २४ चैत २०८२, मङ्गलबार

एआई प्रविधिबाट क्षयरोग परीक्षणः ४० जनामा संक्रमण पुष्टि

blog

तनहुँको घिरिङ गाउँपालिकामा क्षयरोग परिक्षणको लागि पालो पखिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
दमौली, चैत २४ गते ।
तनहुँका स्थानीय तहमा अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) जडित एक्स–रे मेसिनको प्रयोग गरी सुरु गरिएको क्षयरोग खोजपड्ताल अभियान प्रभावकारी बन्दै गएको छ । गाउँघरमा लुकेर रहेका क्षयरोगी पहिचान गर्ने उद्देश्यले सञ्चालित शिविरका क्रममा दुई गाउँपालिकामा ८७३ जनाको परीक्षण गर्दा ४० जना नयाँ बिरामी फेला परेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँ र जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जेएएनटीआरए) को प्राविधिक सहयोगमा ऋषिङ र घिरिङ गाउँपालिकामा उक्त शिविर सञ्चालन गरिएको थियो ।

ऋषिङ गाउँपालिकामा सोमबार आयोजित शिविरमा ३२६ जनाको परीक्षण गरिएकोमा १७ जनामा क्षयरोग पुष्टि भएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लोकबहादुर थापाका अनुसार अन्य ३५ जनालाई कन्ट्याक्ट ट्रेसिङका लागि पहिचान गरिएको छ । शिविरको उद्घाटन गर्दै ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले आधुनिक प्रविधिको प्रयोगले स्वास्थ्य सेवामा क्रान्ति ल्याएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले गाउँघरमा अझै पनि धेरै क्षयरोगीहरू समाज र परिवारको डरले रोग लुकाएर बसिरहेको अवस्था रहेको उल्लेख गर्दै एआई प्रविधिले सूक्ष्म तवरले रोग पत्ता लगाउन सहयोग पुर्याएको धारणा राख्नुभयो । उहाँले टोल–टोलमा स्वास्थ्यकर्मी खटाएर कोही पनि उपचारबाट बञ्चित नहुने वातावरण बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

यस्तै घिरिङ गाउँपालिका वडा नं. ३ मा सञ्चालित शिविरमा ५४७ जनाले सेवा लिएका छन् । तीमध्ये २३ जनामा क्षयरोग पुष्टि भएको छ भने शङ्कास्पद ३९ जनाको खकार नमुना थप परीक्षणका लागि प्रयोगशाला पठाइएको स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले जानकारी दिनुभयो । एआई प्रविधिको महत्वबारे प्रष्ट पार्दै रिमालले परम्परागत पद्धतिभन्दा एआई प्रविधिको एक्स–रे धेरै छिटो र सटीक हुने बताउनुभयो । यसले गर्दा सरुवा रोगको प्रारम्भिक चरणमै पहिचान गरी तत्काल उपचार प्रक्रियामा लैजान सम्भव भएको उहाँको भनाइ छ । ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

    परीक्षणसँगै क्षयरोग विरुद्धको जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिएको थियो । घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले नवीन प्रविधिको प्रयोगले रोग निदानमा सहजता थपेको बताउनुभयो । उहाँले प्रविधिको प्रयोगले एकातिर समयको बचत भएको र अर्कोतिर दुर्गमका विपन्न बस्तीमा विशेषज्ञ सेवा पुगेको उल्लेख गर्दै नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिँदै यस्ता प्रविधिमैत्री कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानीय तह, प्रदेश सरकार र दातृ संस्थाबीचको त्रिपक्षीय सहकार्यले समुदायस्तरमै पुगेर रोग नियन्त्रण गर्न ठूलो मद्धत पुगेको गाउँपालिकाले जनाएको छ ।