• ३० वैशाख २०८२, मङ्गलबार

चोरमाराको पुल भाँचियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

blog

चोरमारामा भाँचिएको पुल । तस्बिरः बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, वैशाख २९ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारामा रहेको गिरुवारी खोलाको पुल भाँचिएको छ । पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालका अनुसार पुल केही भासिएकाले मर्मत नगरी यो पुलबाट गाडी चलाउन सक्ने अवस्था छैन । डाईभर्सनको प्रयास भइरहेको उहाँले बताउनुभयो । सडक विभागलाई आफूहरुले खबर गरेकाले त्यहाँबाट प्राविधिक नआउँदासम्म सडक सञ्चालन गर्न सकिने अवस्था नभएको उहाँको भनाइ छ । 

पुलमा म.प्र.०३-००१ क ३१६३ नंको (१८ चक्के टेलर) किलिङ्गर कच्चा पदार्थ बोकी होङ्सी सिमेन्ट कम्पनीबाट बिरगञ्जतर्फ जाँदैगरेको टेलर पुलमा गुड्दै गर्दा पुल भासिएपछि यातायात अवरुद्ध भएको छ ।

पुल भाँचिएको ठाउँमा तत्काल डाईभर्सन गर्ने ठाउँ नभएको र नयाँ पुल पनि नबनेकाले लामो समय यातायात अवरुद्ध हुनसक्ने देखिएको छ । स्थानीयका अनुसार ओभरलोड ट्रक पुलको बिचमा अड्किएको छ ।

झन्डै तीन वर्षअघि पनि सोही पुलमा प्वाल परेको थियो। हाल पुनः समस्या देखिएपछि यात्रुहरू अलपत्र परेका छन् । सवारी साधनलाई आवागमनमा थप समस्या भएको छ। पुल कमजोर बन्दै गएपछि जोखिम कम गर्न डाईभर्सनमार्फत यातायातलाई एकतर्फी बनाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका पमुख, प्रहरी निरीक्षक जनक बन्जराले बताउनुभयो ।

प्रहरीले यात्रु र चालकलाई सजग रहन आग्रह गरेको छ। पुल पूर्ण रूपमा बन्द भएपछि अन्य कुनै वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । स्थानीयले पुलको तत्काल मर्मत आवश्यक रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासस्थित बिनयी खोलाको पुल पनि भाँचिएको थियो । पुल भाँचिएपछि बनाइएको डाईभर्सन पनि दुई पटकसम्म खोलाले बगाउँदा यातायात आवागमनमा समस्या भएको थियो ।

यसअघि नवलपुरको गैँडाकोटको जय श्रीपूल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला पुल भाँचिएका थिए । जीर्ण अवस्थामा रहेका यी पुलहरु विगत १० बर्षदेखि मर्मत गर्दै सञ्चालन गर्दै आइरहेको छ । नारायणघाट– बुटवल सडक विस्तारपछि नयाँ पुल बन्ने कारण देखाउँदै अहिले पुरानै पुलबाट सवारी साधनहरु सञ्चालन गर्ने गरिएको छ ।