• ३० वैशाख २०८२, मङ्गलबार

भन्सार परिसरको आपतकालीन गोदामघर प्रदेशलाई हस्तान्तरण

blog

शशिधर पराजुली 

विराटनगर, वैशाख ३० गते । विराटनगर भन्सार क्षेत्रमा निर्माण गरिएको आपतकालीन गोदामघर संघीय सरकारले कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । आज मंगलबार गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई गोदामघरको साँचो हस्तान्तरण गर्नुभएको हो । 

विराटनगर भन्सार कार्यालयमा आयोजना गरिएको समारोहमा गृहमन्त्री लेखकले गोदाम घर हस्तान्तरण मात्र नभई संघीयताको कार्यान्वयनका लागि समेत यो निर्णय लिइएको बताउनुभयो । संघीय सरकार संघीयता कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री लेखकले विपद् व्यवस्थापनमा प्रदेश सरकारसँग सहकार्य गरिरहेको जानकारी दिनुभयो । 

कार्यक्रममा मन्त्री लेखकले अब सरकारले छिट्टै प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी बाँकी रहेका कानुनहरु निर्माण गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले अब चाँडै नै शिक्षा विधेयक, निजामती सेवा विधेयक, नेपाल प्रहरीसम्बन्धी विधेयकहरू पास गरेर संघीयताको कार्यान्वयनलाई अघि बढाउने तयारी गरिरहेको छ ।’

सरकारले व्याप्त निराशालाई आशामा बदल्ने र स्थायित्व दिनका लागि गठबन्धन बनेको उल्लेख गर्दै गृहमन्त्री लेखकले भन्नुभयो, ‘यो गठबन्धनले स्थायित्वको सन्देश दिएको छ, औद्योगिक वातावरण निर्माण गरेको छ, मुद्रा सञ्चिति बढाएको छ र समग्र आर्थिक सूचकाङ्कमा पनि वृद्धि भएको छ ।’ मन्त्री लेखकले सरकारले १० महिनाको छोटो अवधिमा उल्लेख्य आर्थिक प्रगति र निराशालाई आशामा बदल्ने काम गरेको पनि बताउनुभयो । 

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिलेको सरकार गठन भएपछिमात्रै प्रदेशलाई अधिकार हस्तान्तरण हुने प्रक्रिया सुरु भएको बताउनुभयो । संघीय सरकारबाट अधिकार हस्तान्तरणमा भएका प्रयासहरू सकारात्मक रहेको बताउँदै उहाँले एकै पटक सबै अधिकार हस्तान्तरण गर्न कठिनाइ हुने पनि बताउनुभयो । 

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार संवैधानिक र कानुनी रूपमा अघि बढिरहेको बताउनु भयो । तर कतिपय कर्मचारीको साँघुरो सोच र ज्ञानको अभावले समस्या भएको बताउनुभयो । 

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले विपद् व्यवस्थापनमा प्रदेशले गरेका कार्यको चर्चा गर्दै संघीय सरकारले दिनुपर्ने अधिकार तुरुन्त दिनुपर्ने बताउनुभयो । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर दिनेश भट्टले हस्तान्तरण गरिएको गोदाम घरमा टेन्ट, त्रिपाल, सेल्टर किट, स्लीपिङ ब्याग, ब्लाङ्केटलगायत ११ प्रकारका सामग्रीहरू रहेका छन् । नेपाल सरकारले हरेक प्रदेशमा यस्ता गोदामघरहरू निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्दै आएको छ । यी गोदामहरूमा दातृ निकायहरूले उपलब्ध गराएका विपद् व्यवस्थापन सम्बन्धी अत्यावश्यक सामग्रीहरू भण्डारण गरिएका छन् ।

अबदेखि विराटनगर भन्सार क्षेत्रमा रहेको सो गोदाम घर र त्यसको क्षेत्र प्रदेश सरकारको मातहत रहने प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टले जानकारी दिनुभयो ।