राजु लामिछाने
रुकुमपश्चिम, वैशाख २९ गते । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –१० तिमीलेमा स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार दिउँसो दाङबाट कुलपूजा गर्न रुकुमपश्चिम आएर फर्कनेक्रममा लुप्र ०२–००१ च ०१७७ नम्बरको स्कार्पियो दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार दुर्घटनामा परेर सानीभेरी गाउँपालिका –१० घर भई हाल दाङको तुल्सीपुरमा बस्दै आउनुभएका ५० वर्षीय नरबहादुर ओली र उहाको श्रीमती ४४ वर्षीया लिला ओलीको मृत्यु भएको हो ।
नरबहादुरको घटनास्थलमै मृत्यु भएको हो भने उहाँको श्रीमतीको उपचारको लागि चौरजहारी अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा परेका अन्य दुई जना गम्भीर घाइते छन् । घाइते हुनेमा मृतक ओलीको माइती आमा ६० वर्षीया रुद्री ओली र चालक दाङको तुलसीपर उपमहानगरपालिका ७ बस्ने ४४ वर्षिय लिलामणी भण्डारी रहेको प्रहरीले जनाएको छ । उहाँहरूलाई उपचारको लागि अहिले चौरजहारी अस्पतालमा लगिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानका क्रममा ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । गाडी सडकबाट करिव पाँचसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।