• ८ पुस २०८२, मङ्गलबार

दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँ : मन्त्री सिन्हा

blog

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा ।

काठमाडाैँ, पुस ८ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूको सञ्जाल तल्लो तहसम्म सक्रिय भएकाले उनीहरूमार्फत निर्वाचनको सन्देश प्रवाह गर्न सरकार सक्रिय भएको बताउनु भएको छ । मङ्गलबार नेपाली कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालयको अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री सिन्हाले यस्तो बताउनु भएको हो । 

निर्वाचनको वातावरण अझ सुदृढ बनाउन सरकार राजनीतिक दलहरूलाई निर्वाचनको सन्देश तल्लो तहसम्म प्रभावकारी रूपमा प्रवाह गर्न आग्रह गरिएको उहाँकाे भनाइ छ । उहाँले दलहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूको जिज्ञासा सङ्कलन गरी सरकारसमक्ष लैजाने जिम्मेवारी स्वरूप आफूहरू छलफल गरिरहेको समेत बताउनु भयो । 

"सरकार र जेनजी युवा पुस्ता समेत निर्वाचन गर्नुपर्ने मनसायका साथ अगाडि बढिरहेको छ । जेन–जी अगुवाहरूको माध्यमबाट विभिन्न मागहरू आउनु स्वभाविक हाे । प्रत्येक दलहरूको सम्पर्क तल्लो तहसम्म पनि भएको कारण उहाँहरूले एकपटक निर्वाचनको बारेमा बोलिदिनु भयो भने त्यो इको समेत तल्लो तहसम्म पुग्छ । त्यसो भएको हुनाले दलहरूको माध्यमबाट चुनावको वातावरण अझै बन्नसक्छ भन्ने कुराहरू हामीले उहाँहरूलाई भनेका छौँ," उहाँले भन्नुभयाे, "निर्वाचन आयोग र सरकारले समेत निर्वाचनको तयारीका लागि आयोजना गरेका छलफलहरूमा समेत सबै राजनीतिक दलहरूलाई बोलाउने गरेका थियौँ । अब हामी मुख्य राजनीतिक दलहरूको कार्यालयमै गएर उहाँहरूसँग छलफल गर्ने र उहाँहरूको जिज्ञासाहरू छन् भने ति जिज्ञासाहरूलाई सरकारसमक्ष लिएर जाने जिम्मेवारी लिएर हामी हिँडिरहेको अवस्था छ ।"

भदौ २३, २४ को जुन दुर्भाग्य अवस्था आउनुमा धेरै आयामहरू छन् । सबै वर्गको संयुक्त आवाज लिएर उहाँहरूले आन्दोलनमा आउनुभएको अवस्था थियो । कुनै एउटा मात्र राजनीतिक दल भएको भए पनि एउटै कुरामा अडिग भएर बस्न सक्नु हुन्छ । तर जेनजी समूहहरूसँग हामी जुन छलफल गरिरहेका छौँ त्यसमा उनीहरूको विभिन्न मागहरू आउनु स्वभाविक कुरा नै हो, उहाँले थप्नु भयाे ।

उहाँले सरकारले राजनीतिक दलहरूसँग संवाद गरी निर्वाचनको अनुकुल वातावरण निर्माण गर्न सक्रिय रहेको समेत उल्लेख गर्नु भयो ।