गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ ।
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब ५० करोड रुपियाँ जम्मा गर्ने भएको छ । राष्ट्र बैङ्कले आफ्नो उपादान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा राख्न लागेको हो । राष्ट्र बैङ्कले वाणिज्य बैङ्कमा एक अर्ब २० करोड, विकास बैङ्कमा २२ करोड ५० लाख र फाइनान्स कम्पनीमा सात करोड ५० लाख रुपियाँ गरी कुल एक अर्ब ५० करोड रुपियाँ राख्न लागेको हो ।
सर्लाहीको लालबन्दी थोक तरकारी बजारबाट एक महिनामा साढे १३ करोड रुपियाँको तरकारी बिक्री भएको छ । कृषि थोक बजार व्यवस्थापन समितिका अनुसार साउनमा यहाँबाट १३ करोड ५५ लाख ३७ हजार ९५० रुपियाँको तरकारी देशका विभिन्न सहरमा पुगको हो । लालबन्दी बजारमा लालबन्दीसहित छिमेकी हरिवन, ईश्वरपुर, चन्द्रनगर, हरिपुर, बागमतीलगायत पालिका तथा महोत्तरीको बर्दीबास र गौशाला नगरपालिकाका किसानले तरकारी बिक्री गर्छन् । साउन महिनामा सबैभन्दा धेरै परबर चार करोड ७६ लाख ९० हजार रुपियाँ र बोडी दुई करोड नौ लाख ९७ हजार रुपियाँको बिक्री भएको छ । त्यस्तै भिन्डी एक करोड ६२ लाख ४१ हजार पाँच रुपियाँ, झिङ्गनी एक करोड दुई लाख ७८ हजार, लौका ८४ लाख १२ हजार ९५० रुपियाँ र काँक्रो ५० लाख ९६ हजार २५० रुपियाँको बिक्री भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामा मङ्गलबार जापानिज येनको भाउ घटेको छ । सोमबार जापानिज येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेकामा आजका लागि खरिददर ९ रुपैयाँ ३२ र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा रहेको छ ।
पछिल्लो समय धनकुटामा तरकारी खेतीप्रतिको आकर्षण बढ्दो छ । बजारको सहज पहुँच, सडक विस्तारलगायतका कारण मौसमी तथा बेमौसमी तरकारी उत्पादनमा धनकुटा कोशी पहाडी जिल्लामै अग्र स्थानमा देखिएको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार आर्थिक वर्ष २०७९/८० मा पाँच हजार ९८१ हेक्टरमा तरकारी उत्पादन भएकोमा गत आवमा पाँच हजार ९९७.२० हेक्टर व्यावसायिक तरकारी खेती भएको छ । यहाँ अघिल्लो आवमा एक लाख ३३ हजार ५९५.५० मेट्रिक टन तरकारी उत्पादन भएकोमा गत आवमा एक लाख ३७ हजार ४४८ मेट्रिक टन उत्पादन भएको छ । तरकारी उत्पादनको यो परिमाण कोशी पहाडका भोजपुर, तेह्रथुम र सङ्खुवासभा जिल्लाको तुलनामा बढी भएको रहेको केन्द्रले जनाएको छ ।
हरिप्रसाद कल्याणी रिमाल नाट्यसङ्गीत प्रतिष्ठानले प्रतियोगितात्मक राष्ट्रिय नाटक महोत्सव गर्ने भएको छ । भदौ ३० गतेदेखि सुरु हुने तिनदिने महोत्सवमा छ वटा नाटक प्रदर्शन गरिने जनाइएको छ । प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । नेपाली मौलिक रङ्गमञ्चको खस्कँदो अवस्थालाई पुनर्जीवन दिने उद्देश्यसहित सो नाटक महोत्सव गर्न लागिएको विज्ञप्तिमा जनाइएको छ ।
रुकुमको मगर सुमदायको कथावस्तुमा बनाइएको चलचित्र ‘खुश्मा’ असोज पहिलो हप्ताबाट प्रदर्शनमा लैजाने तयारी भएको छ । चलचित्रका निर्देशक अशोक थापामगरका अनुसार चलचित्र निर्माणमा निकै मेहनत गरिएको छ । वृत्तचित्र निर्माण गर्दै आएका थापाको यो पहिलो कथानक चलचित्र हो । चलचित्र प्रवर्धनको युनिट पोखरा आइपुगेको छ । चलचित्रमा मुख्य भूमिकामा रहेका उपसनासिंह ठकुरी र धीरज मगरले चलचित्रबाट आफूहरू निकै आशावादी रहेको बताउनुभयो । पुनमगरको उद्गमथलो रुकुमको मैकोटमा फिल्मका अधिकांश दृश्य खिचिएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गरेको र यसलाई सरकार निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारको सहकार्यमा प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ । सोमबार महासङ्घको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा उहाँले सरकारले पनि निजी क्षेत्रका सुझाव सुनेर नयाँ पुस्ताको सुधार अगाडि बढाइरहेको औँल्याउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा नेपालको निर्यात बढाउन भन्साररहित सुविधाको निरन्तरता महत्वपूर्ण रहेको बताउनुभएको छ । महासङ्घ, तयारी पोसाक सङ्घ, नेपाल अमेरिका चेम्बर अफ कमर्स, युएसएड र निर्यात महासङ्घले संयुक्त रूपमा आयोजना गरेको नेपाल अमेरिका व्यापार र लगानी अवसर र चुनौती विषयक कार्यक्रम उहाँले उक्त धारणा राख्नुभएको हो ।
यसपालिको दसैँमा काठमाडौँ उपत्यकामा २३ हजार सङ्ख्यामा खसीबोका तथा च्याङ्ग्रा खपत हुने अनुमान गर्दै सरकारी निकाय र निजी व्यवसायीले खसीबोका र च्याङ्ग्रा उपत्यकामा ल्याउने तयारी गरेका छन् । दसैँ आउन तीन साता बाँकी रहँदा व्यवसायीले खसीबोका खरिद गर्ने तयारी गरेका हुन् । घटस्थापनाको दिनदेखि उपत्यकामा ठुलो सङ्ख्यामा खसीबोका भित्रिने गर्छन् । व्यवसायीले गाउँ गाउँमा गएर खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् ।
सरकारले चाडपर्वलक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजनमा आउँदो असोजको पहिलो सातादेखि सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी भएको हो । सरकारले वाणिज्य मन्त्रालयमार्फत खर्च गर्ने गरी सहुलियत पसल सञ्चालनका लागि तीन करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
सत्ता साझेदार पाँच दलका शीर्ष नेताको बैठकले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच भएको सातबुँदे सहमतिको मर्म अनुसार सत्तासीन दलको मुद्दा समेटेर न्यूनतम साझा कार्यक्रम ल्याउने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सम्पन्न सत्तारूढ दलको बैठकमा सातबुँदे समझदारीका आधारमा सरकार सञ्चालन गर्ने प्रतिबद्धता अनुसार न्यूनतम साझा कार्यक्रम ल्याउने कांग्रेस–एमालेका शीर्ष नेताबिचको सहमतिका सन्दर्भमा सबै दलको एकीकृत धारणा बनाउन छलफल भएको हो । कांग्रेस संसदीय दलका मुख्य सचेतक श्यामकुमार घिमिरे र एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश गर्ने विषय, संविधान संशोधन, सरकार सञ्चालन र संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताउनुभयो ।
विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले सोमबार धनी र विकासोन्मुख मुलुकहरूबीचको असमानता कम गर्न खुला व्यापार मात्र पर्याप्त नहुने बताएको छ । सङ्गठनले गरिब मुलुकलाई सहयोग गर्न थप आवश्यक रहेको बताएको छ ।
सत्तारुढ दलहरूले सरकार र संसद्का समग्र कामलाई थप प्रभावकारी, सन्तुलित र व्यवस्थित बनाउने सहमति गरेका छन् ।
रुसले युद्ध सुरु गरेपछि युक्रेनमा क्लस्टर हतियारहरूबाट एक हजारभन्दा धेरै मानिस मारिएको वा घाइते भएको एउटा निरीक्षण संस्थाले सोमबार बताएको छ ।