अमरराज नहर्की
तनहुँ, असोज १ गते । जेनजी आन्दोलनको क्रममा तनहुँ जिल्ला कारागारमा भएको आगजनीका कारण महत्त्वपूर्ण कागजात पूर्ण रूपमा जलेर नष्ट भएको पाइएको छ । कारागारमा रहेका कैदीबन्दीसम्बन्धी फाइल, मुद्दासम्बन्धी विवरण तथा प्रशासनिक अभिलेख जलेर ध्वस्त भएको कारागारका प्रमुख(जेलर) टेकप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
जेलर भट्टराईका अनुसार कारागार स्थापना भएदेखिका सबै अभिलेख जलेर नष्ट भएका छन् । उहाँले भन्नुभयो, “कैदीबन्दीको विवरण, मुद्दासम्बन्धी फाइल तथा आन्तरिक प्रशासनिक अभिलेख जस्तै महत्त्वपूर्ण कागजात जलेका छन् । यसले आगामी दिनमा प्रशासनिक कामकाजमा ठूलो कठिनाइ निम्त्याउने देखिन्छ ।” प्रशासनिक कार्यालयका फर्निचर तथा विद्युतीय उपकरण समेत जलेर नष्ट भएका छन् ।
मङ्गलबार दिउँसोदेखि चर्किएको आन्दोलनका क्रममा आन्दोलनकारीहरूले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला अदालत, खानेपानी तथा सरसफाइ डिभिजन, सिँचाइ कार्यालयलगायतका विभिन्न सरकारी निकायमा तोडफोड र आगजनी गरेका थिए । सो क्रममा तनहुँ कारागार परिसर पनि आक्रमणमा परेको प्रहरीले जनाएको छ ।
स्थिति नियन्त्रणबाहिर गएपछि कैदीबन्दीहरू भाग्न सफल भएका थिए । फरारमध्ये केही सामान्य मुद्दामा सजाय काटिरहेका भए पनि धेरैजना गम्भीर आपराधिक मुद्दामा सजाय भोगिरहेका कैदी रहेको प्रहरीको भनाइ छ । तनहुँ कारागारबाट भागेका ३२७ मध्ये १४८ जनालाई नियन्त्रणमा लिइसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी अशोक थापाले जानकारी दिनुभयो । सो कारागारमा ३०७ पुरुष र २० महिला कैदीबन्दी रहेका थिए । आगजनीपछि सुरक्षाकर्मी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयबासीको उपस्थितिमा मुचुल्का उठाइएको र आज बुधबारबाट भग्नावशेष हटाउने काम सुरु भएको जेलर भट्टराईले बताउनुभयो ।