गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख २४ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गोरखापत्रले समावेशिता र राष्ट्रिय हितलाई सर्वोपरि राख्दै पत्रकारिताको जगलाई अझ सबल बनाउन सकोस् भन्ने शुभकामना दिनुभएको छ ।
गोरखापत्र प्रकाशनको १२६ वर्ष प्रवेश तथा राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले भन्नु भएको छ, ‘‘गोरखापत्रले विगतमा जस्तै भविष्यमा पनि सत्य, निष्पक्षता, समावेशिता र राष्ट्रिय हितलाई सर्वोपरि राख्दै पत्रकारिताको जगलाई अझ सबल बनाउन सकोस् भन्ने विश्वास लिएको छु । यस ऐतिहासिक क्षणमा गोरखापत्र संस्थानलाई निरन्तर प्रगति, नवप्रवर्तन र जनसेवामा समर्पित रहन शुभकामना व्यक्त गर्दछु ।’’
शुभकामनाको पूर्णपाठ यस प्रकार छ –
शुभकामना सन्देश
गोरखापत्र नेपालको पत्रकारिताको इतिहास मात्र होइन, राष्ट्रिय चेतना र सामाजिक रूपान्तरणको जीवन्त अभिलेख हो । वि.सं. १९५८ वैशाख २४ गते सुरु भएको गोरखापत्रले १२६ वर्षको गौरवशाली यात्रामा निरन्तर प्रगति र नवप्रवर्तनको उदाहरण प्रस्तुत गरेको छ । साप्ताहिक प्रकाशनबाट सुरु गरी दैनिक, बहु-संस्करण, साहित्यिक पत्रिका, बालबालिकामुखी सामग्री, अनलाइन संस्करण र बहुभाषिक सामग्रीसम्म बिस्तार गर्नु यसको ऐतिहासिक उपलब्धि हो । गोरखापत्रले नेपाली पत्रकारितामा 'पहिलो' हुने गौरव प्राप्त गर्दै वि.सं. १९८४ वैशाख १३ गते वीरगन्जकी १२ वर्षीया सूर्यमती श्रेष्ठिनीले चन्द्रकामधेनु चर्खाबाट धागो काटिरहेको पहिलो तस्बिर प्रकाशन, १९९८ मा पहिलो विशेषाङ्क ‘उदयाङ्क', २०५७ मा शताब्दी वर्ष प्रवेश, नेपालकै पहिलो अंग्रेजी ब्रोडसिट दैनिक 'दी राइजिङ नेपाल' प्रकाशन र ४९ वटा राष्ट्रिय भाषामा समाचार प्रस्तुत गर्ने 'नयाँ नेपाल' पृष्ठको प्रकाशन गरी कीर्तिमान स्थापित गरेको छ। यी नेपालको पत्रकारिताका लागि ऐतिहासिक कदमहरू हुन् । गोरखापत्रले लोकतन्त्रको उदयदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा नजिकबाट नियाल्दै सत्य, निष्पक्षता र समावेशिताको अभ्यासलाई निरन्तर सबल बनाएको छ।
सम्पादकीय नेतृत्वमा पण्डित नरदेव पाण्डे, जयपृथ्वीबहादुर सिंह, प्रेमराज, बालकृष्ण सम, टेकबहादुर खत्री 'नवीन' जस्ता व्यक्तित्वहरूले गोरखापत्रलाई बौद्धिक र व्यावसायिक दिशा दिएका छन् । आधुनिक छपाइ प्रणाली, डिजिटल संस्करण, रङ्गीन स्वरूप, क्षेत्रीय प्रकाशन तथा संवेदनशील समाचारमा 'स्टप दी प्रेस' जस्ता कीर्तिमानहरूले यस संस्थानलाई विश्वसनीय र अग्रणी बनाएका छन्।
बदलिँदा व्यवस्था, फेरिँदा समय र अनेक सामाजिक-राजनीतिक रूपान्तरणबिच गोरखापत्रले नेपालको भाषा, संस्कृति, राष्ट्रिय एकता र सार्वजनिक चेतनाको विश्वसनीय संवाहकका रूपमा विशिष्ट पहिचान कायम राख्दै आएकोमा उच्च प्रशंसा गर्दै हार्दिक बधाई दिन चाहन्छु ।
अन्त्यमा, गोरखापत्र १२६औं वर्षमा प्रवेश गरेको सुखद अवसरमा सम्पूर्ण सञ्चालक, सम्पादक, पत्रकार, प्राविधिक, कर्मचारी तथा पाठकवर्गलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । गोरखापत्रले विगतमा जस्तै भविष्यमा पनि सत्य, निष्पक्षता, समावेशिता र राष्ट्रिय हितलाई सर्वोपरि राख्दै पत्रकारिताको जगलाई अझ सबल बनाउन सकोस् भन्ने विश्वास लिएको छु । यस ऐतिहासिक क्षणमा गोरखापत्र संस्थानलाई निरन्तर प्रगति, नवप्रवर्तन र जनसेवामा समर्पित रहन शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल
धन्यवाद !