• २४ वैशाख २०८३, बिहिबार

लिमीको बाँझो जमिनमा व्यावसायिक आलुखेती सुरु

blog

लिमीको जाङ गाउँमा लगाइएको आलुखेती । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, वैशाख २४ गते ।
चार हजार मिटर उचाइमा रहेको उत्तरी नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीको हल्जी बस्तीमा व्यावसायिक आलुखेती सुरु गरिएको छ । चार वर्षदेखि बाँझो रहेको जमिनमा यस वर्ष स्थानीय तीन युवा मिलेर आलुखेती सुरु गरेका हुन् ।

थोरै मात्रामा उत्पादन हुने र चार वर्षदेखि खेती नै छाडिएको लिमीको जाङ गाउँको खेतीयोग्य जमिनमा व्यावसायिक आलुखेती सुरु गरिएको स्थानीय कुन्चोक लामाले बताउनुभयो । उहाँका अनुसार हाल चार रोपनी जमिनमा स्थानीय जातको आलु लगाइएको छ भने त्यसका लागि आठ क्विन्टल आलुको बीउ रोपिसकिएको छ ।

उच्च हिमाली क्षेत्रमा उत्पादन हुने आलु स्वादिष्ट हुने भएकाले लिमीमा उत्पादन भएको आलु चीनको ताक्लाकोट तथा काठमाडौंसम्म पठाउने लक्ष्यसहित खेती सुरु गरिएको उहाँले बताउनुभयो । यस वर्ष नै खेती विस्तार गर्ने योजना पनि रहेको उहाँको भनाइ छ । आलुखेतीको जिम्मा दुई जना किसानलाई दिइएको छ ।

उच्च क्षेत्रमा आलुखेती सुरु भएपछि नाम्खा गाउँपालिकाको कृषि शाखाले वडा नम्बर ५ स्थित यारीबाट स्थानीय जातको आलुको बीउ खरिद गरी लिमीका किसानलाई उपलब्ध गराएको छ । पशु (झोपा) प्रयोग गरेर खेत जोत्न कठिन हुने भएकाले आगामी वर्षदेखि खेत जोत्न मेसिन प्रयोग गर्ने तयारी गरिएको पनि उहाँले जानकारी दिनुभयो ।