• २४ वैशाख २०८३, बिहिबार

गोरखापत्रका ऐतिहासिक ती दिन

blog

नेपालको जेठो अखबार गोरखापत्र १२६ वर्षमा पाइला टेकेको छ । यो खुसियालीमा हामी सबै गौरवान्वित भएका छौँ । धेरै दुःख कष्ट झेलेर आधुनिक प्रविधिको युगमा यो अखबार प्रकाशन भइरहेको छ । हप्ताको एक पटक प्रकाशित हुने यो अखबार अहिले अनलाइन दुनियाँमा छिन छिनमै विश्वभर समाचार पु¥याउने माध्यम बनेको छ ।  

पहिले पहिले सिसाको एक/एक अक्षर केलाएर स्टिकमा राखी शब्द शब्द बनाई कम्पोज गरी वाक्य बनाइन्थ्यो । प्रत्येक १०–१२ लाइनमा कम्पोजलाई दुई हातले राम्ररी च्यापेर ग्यालीमा राखी समाचारको महìव अनुसार हेडलाइन राखिन्थ्यो । हेडलाइनको अक्षर पनि सिसाकै भए पनि ठुलठुलो हुन्थ्यो । १८ प्वाइन्ट, २४ प्वाइन्ट, ३६ प्वाइन्ट र ७२ प्वाइन्टको बनाइन्थ्यो ।  समाचारको अक्षर १२ प्वाइन्टको हुन्थ्यो । अङ्ग्रेजीभन्दा नेपाली कम्पोज गर्न निकै गाह्रो र ढिलो हुन्थ्यो । आकार, एकार, ऐकार, उकार, ओकार आदि जोड्नु परेको हुन्छ । छिटो र चाँडो गर्नेले एक कोलम कम्पोज गर्दा तीन घण्टा लाग्थ्यो भने ढिलो गर्नेले चार/पाँच  लाग्थ्यो । शीर्षक राख्ने छुट्टै, पेज बनाउने छुट्टै कर्मचारी हुन्थे । त्यस्तो दुःख गरेर कम्पोज गरेको सिसाको अक्षर–कोलम पेज कहिलेकाहीँ अकस्मात् भत्किँदा धेरै दुःख लाथ्यो । यसले अखबार निस्कन ढिलो पनि हुन्थ्यो ।

विसं २०२८ साल साउन महिनादेखि मैले गोरखापत्र संस्थानको जब शाखामा काम गर्न थालेँ । त्यतिबेला ओमबहालको पन्नारत्न वज्राचार्य यो शाखाको हाकिम हुनुहुन्थ्यो । सुरुमा मलाई शनिबार बिदा पाउने गरी ज्यालादारीमा नियुक्ति दिइएको थियो । पन्नारत्न हाकिम मेरो काम देखेर निकै खुसी हुनुभयो । यसैले होला उहाँको सिफारिसमा मलाई दुई तहको जुनियर कम्पोजिटर पदमा नियुक्ति दिइयो । पाँच महिनापछि लाइनो टाइप शाखामा दक्ष कर्मचारी आवश्यक भए अनुसार मलाई लाइनो टाइप अपरेटर पदमा नियुक्त गरी लाइनो टाइप शाखामा बढुवा गरियो । लाइनो टाइप शाखामा भूपालबहादुर श्रेष्ठ प्रमुख हुनुहुन्थ्यो । लाइनो टाइप शाखाले ‘दी राइजिङ नेपाल’ अखबारका लागि काम गर्दो रहेछ । ‘राइजिङ नेपाल’ अखबार छाप्न कोलम साइजको एक लाइन एक ढिक्का ढालेर निस्कने मेसिन रहेछ । किबोर्डबाट टाइप भएपछि पित्तलको मोल्ड मेसिनमा एडजस्ट भएपश्चात् गालेर झोल भएको सिसा मेट्रिक्समा पन्चिङ भएपछि एक कोलमका एक ढिक्का भएर निस्किँदो रहेछ । त्यसमा एक अक्षर मात्र गल्ती भए पनि एकै लाइन पुनः टाइप गर्नुपर्ने हुन्थ्यो ।

लाइनो टाइप शाखाका भूपालबहादुर श्रेष्ठसहित राजमान शाक्य, मोहनगोपाल रञ्जित, श्याम श्रेष्ठ, ध्रुवरत्न तुलाधर र मसहित छ जनाले ‘दी राइजिङ नेपाल’ को शुक्रबारका दिन परिशिष्टाङ्क हित १२ पेजको काम गर्नु पथ्र्यो । कहिलेकाहीँ बिजुलीको लाइन बन्द हुँदा मनोशाखाले पनि सहयोग गथ्र्यो । मनो टाइपले गोरखापत्रको प्रायः सबै काम गथ्र्यो । समय बित्दै गयो बेला बेलामा लाइनो मेसिन पनि बरोबर बिग्रन थाल्यो । कहिले बत्तीको लाइन बन्द भई अखबार ढिलो हुने र कहिले काम गर्न गाह्रो हुने भयो । ड्युटीमा साथीहरू नआएर एक दिन एक्लै ३६ घण्टासम्म काम गर्नु पथ्र्याे । अफिसमै बिरामी भएर गोरखापत्र संस्थान, धर्मपथदेखि मेरो घर किलागलसम्म जान तीन/चार ठाउँमा थकाइ मार्दै, बस्दै घर पुग्नु परेको थियो । त्यो दिन सम्झँदा ‘धन्य रहेछु’ भन्ने म आफैँलाई लाग्न थाल्यो । पछि लाइनो टाइप मेसिन बिग्रियो । यसबाट काम भएन । लाइनो शाखा नै बन्द गरियो ।

फोटोग्राफी शाखाका प्रमुख गोपाल चित्रकारको माग अनुसार तस्बिरको नेगेटिभ मिलाएर राख्ने काममा मलाई उक्त शाखामा सरुवा गरियो । त्यसबेला फोटोग्राफी शाखा गोरखापत्रको पुरानो भवनको कौसीमा थियो । यो शाखामा विन्दु सुवाल, रामेश्वर कायस्थ र ‘ल्याब ब्वाए’ शिवहरि कार्की गरी चार जना काम गर्नुहुन्थ्यो । फोटोग्राफी शाखामा तस्बिरको नेगेटिभ मिलाएर राख्ने भनेर बदुवा भए पनि फिल्म धुने र तस्बिर बनाउनेतिर बढी काम गर्नु पथ्र्यो । फिल्म धुने, तस्बिर बनाउने काम छिटो नै सकिन्थ्यो । गोपाल चित्रकार, विन्दु सुवाल, रामेश्वर कायस्थले खिच्नुभएको नेगेटिभ धु्ने र श्यामश्वेत तस्बिर बनाउन जानेपछि क्यामरातिर ध्यान जान थाल्यो । फोटोग्राफी शाखामा गएको झन्डै १० महिनापछि गोपाल चित्रकारलाई आग्रह गरेँ । म पनि फोटो खिच्न जान्छु भनेर । उहाँको अनुमति पाएपछि यासिका क्यामरा र टुक्रा फिल्म लिएर तरकारी बजार र दसैँ बजारका फोटो खिच्न गएँ । ती खिचेका फोटाका फिल्म धोएर उहाँलाई नै देखाएँ । उहाँले निकै ध्यान दिएर हेर्नु भयो । अनि दुई वटा तस्बिर छानेर अखबारमा छाप्न पठाउनु भयो । तस्बिर गोरखापत्रमा छापिए । 

तस्बिर अखबारमा छापिएपछि यो कर्ममा लाग्न हौसला मिल्यो । यी तस्बिर तरकारी बजार र लुगा बजारका थिए । त्यसपछि नागपञ्चमीको दिन टङ्केश्वर महादेवको पश्चिम ढोकामा नागको तस्बिर टाँसेर नागपूजा गरेको तस्बिर खिचेर ल्याएँ । त्यो पनि छापियो । त्यो तस्बिरमा ‘पूजाको सम्पूर्ण अर्थ झल्किएको’ भनेर शाखा प्रमुख गोपाल चित्रकारले भन्नुभयो । यस भनाइले मलाई फोटोग्राफीमा प्रेरणा मिल्यो । विन्दु सुवाल, रामेश्वर कायस्थसँग सल्लाह गरी मलाई ‘फोटो–पत्रकार’ को दर्जा दिइयो । अनि यही काममा अनवरत लागेँ ।

विसं २०४१ साउदेखि फोटोग्राफी शाखाबाट क्यामरा र फिल्म दिएर अखबारमा छाप्ने खालको तस्बिर खिच्न उहाँहरूले भन्नुभयो । यसबाट मलाई आफूलाई लागेको समाचारमूलक तस्बिर चाडपर्व, जात्रा, सामाजिक व्रिmयाकलाप, राजनीतिक घटना आदिका खिच्न थालेँ र म फोटोग्राफरका रूपमा दरिएँ ।  अहिलेको डिजिटल युगमा भन्दा क्यामरामा नेगेटिभ राखेर समाचारमूलक फोटो खिच्न हिँड्न पनि त्यो बेला दुःख नै थियो । 

 

लेखक बाट थप