• २४ वैशाख २०८३, बिहिबार

गोरखामा मिनी ट्रकको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

blog

गुणबहादुर रोका
सुलीकोट, वैशाख २४ गते ।
गोरखामा मिनी ट्रकको ठक्करबाट तीन वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ । गोरखा नगरपालिका–८ बराह क्षेत्रमा घ्याम्पेसालबाट आयुर्वेद चोकतर्फ आउँदै गरेको ग १ ख ७४४३ नम्बरको मिनी ट्रकले बाटोमा खेलिरहेका बालकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा मृत्यु हुनेमा आरुघाट गाउँपालिका–१ मान्बु स्थायी घर भई हाल गोरखा नगरपालिका–८ बराह क्षेत्रमा डेरा गरी बस्ने जस्मी गुरुङका तीन वर्षीय छोरा युहान्न गुरुङ रहेका छन् ।

बुधबार साँझ ६ बजेतिर सडक आसपासमा खेलिरहेका बालकलाई अचानक मिनी ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

मिनी ट्रक चालक गोरखा नगरपालिका–११ निवासी ४७ वर्षीय हिराबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

सडक क्षेत्रमा बालबालिका खेल्ने तथा सवारीसाधनको चाप बढ्दै जाँदा यस्ता दुर्घटना दोहोरिन थालेकाले स्थानीयले भित्री सडकमा सवारी सञ्चालन गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।