• १ असोज २०८२, बुधबार

गुल्मीका चार स्थानमा चाडपर्व लक्षित सहुलियत मूल्य पसल

blog

गुल्मीको मदाने गाउँपालिका–२ बाट खाद्यान्य खरिद गर्दै स्थानीय । तस्बिर : टोपलाल अर्याल


टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), असोज १ गते । नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम र खाद्य व्यवस्था एवम् व्यापार कम्पनी लिमिटेडको निर्णय अनुसार देशमा विभिन्न स्थानमा सहुलियत मूल्य पसल सञ्चालन भएका छन् । गुल्मीमा पनि मुख्य चाड दशैँ, तिहार र छठलाई केन्द्रमा राखेर चार स्थानमा भदौ ३० देखि कात्तिक १० गतेसम्म सहुलियत मूल्य पसल सञ्चालन भएका छन् । खाद्य व्यावस्था एवम् व्यापार कम्पनी लिमिटेडका तम्घास, बलेटक्सार, बाँझकटेरी र अर्खबाङ्ग बिक्री केन्द्र मार्फत सहुलियत मूल्य पसल सञ्चालन गरिएको छ ।

चार प्रकारका चामल र चिनी बिक्री हुनेछ । खाद्यान्यमा प्रति प्रतिकिलो पाँच रुपियाँ छुट हुनेछ । तेल र दालको माग भइरहेको छ । जिल्लाको लागि एक हजार क्वीन्टल चामल र चिनी प्राप्त भएको कम्पनीका सूचना अधिकारी राजाबाबु साहले जानकारी दिनुभयो ।

सहुलियत मूल्य पसल सञ्चालनको पहिलो दिनमै एक लाख ४९ हजार ५०० रुपियाँ बराबरको कारोबार भएको थियो । बिक्री केन्द्रहरुबाट गुल्मी र अर्घाखाँचीका कारागार, सहकारी, डिलर र सर्वसाधरणहरुले खाद्यान्य खरिद गर्ने गरेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गुल्मी शाखाको विवरण अनुसार गतवर्ष चिनी र चामल दुई हजार ३३७.१० क्वीन्टल अर्थात एक करोड ७१ लाख सात हजार ३४५ रुपियाँ मूल्य बराबरको बिक्री गरिएको थियो । जसमध्ये तम्घास शाखा कार्यालयले ५९ लाख ५७ हजार ५२६ रुपियाँ बराबरको ८३९.२५ क्वीन्टल चामल र चिनी बिक्री गरेको थियो ।

बलेटक्सार बिक्री केन्द्रले ४५ लाख चार हजार १२५ रुपियाँ बराबरको ५५९.५० क्वीन्टल खाद्यान्न बिक्री गर्‍यो । त्यस्तै अर्खबाङ्ग बिक्री केन्द्रले ३० लाख २९ हजार २२५ रुपियाँको ४२६ दशमलव ६० क्वीन्टल चामल र चिनी बिक्री गरेको थियो । बाँझकटेरी बिक्री केन्द्रले ३६ लाख १६ हजार ४७० रुपियाँको ५११.७५ क्वीन्टल खाद्यान्न बिक्री गरेको थियो ।