अर्थतन्त्रका कतिपय बाह्य सूचक सकारात्मक भए पनि आन्तरिक अर्थतन्त्रले गति लिन सकिरहेको थिएन । निक्षेप तथा कर्जामा ब्याजदर न्यून विन्दुमा हुँदा पनि लगानी बढेन । बेरोजगारीले असन्तुष्टि बढ्यो । कुशासनले लगानीमैत्री वातावरण बन्न दिएन । सुशासनको अभावमै भ्रष्टाचार बढ्यो । अर्थतन्त्र उठ्न सकेन । नवपुस्ताले सुशासन, स्थिर सरकार र भ्रष्टाचारमुक्त समाज चाह्यो । देशभित्रै सपना सजाउन चाह्यो । देशभित्रै समृद्धि सपना सजाउन नवपुस्ता अर्थात् जेनजीले आरम्भ गरेको शान्तिपूर्ण विद्रोह नै समग्र परिवर्तन अनि नयाँ अन्तरिम सरकारको जग हो । परिवर्तनका क्रममा व्यापक जनधनको क्षति भयो । अब नयाँ सरकार नयाँ आशाका साथ उठ्ने कार्यदिशामा अगाडि बढेको छ । सरकारको पहिलो चरणको विस्तारका क्रममा अर्थमन्त्री रामेश्वर खनालका साथै अन्य मन्त्रीले नयाँ कार्यदिशाका साथ कार्यक्रम अगाडि बढाउनु भएको छ । अर्थतन्त्रमा गहिरो अध्ययन र अनुभवसिद्ध अर्थमन्त्री खनालले निजी सचिवालयसमेत नराखी अति सादगी ढङ्गले काम थाल्नुभएको छ । भौतिक पूर्वाधारको अकल्पनीय क्षतिबाट उठेर आशा र विश्वास दिन उहाँले पदबहालीकै दिन स्पष्ट सङ्केत दिने प्रयास गर्नुभएको छ । नयाँ सवारीसाधन खरिद गर्नुभन्दा भएकै सवारीसाधन मर्मतसम्भार गरेर काम चलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जेनजी आन्दोलनका क्रममा मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र आसपासमा रहेका सरकारी निकायमा भएको आगजनीबाट धेरै भवन जले । एक हजारभन्दा बढी सवारीसाधन जले । तैपनि अर्थमन्त्रीको निर्णय कठोर मितव्ययितातर्फ अग्रसर छ ।
परिवर्तित आवश्यकता सम्बोधन गर्न चालु आर्थिक वर्षको बजेट अब नयाँ परिवेशमा सोहीबमोजिम रूपान्तरण गरिनुपर्ने भएको छ । त्यसका निम्ति अर्थमन्त्रीले पूरक बजेट नल्याउने स्पष्ट पार्नुभएको छ । बजेट लक्ष्यमूलक तवरले नवप्राथमिकीकरण गरिने छ । स्रोत व्यवस्थापनका क्रममा प्रोजेक्ट बैङ्कमा राजनीतिक दबाबमा छिराइएका आयोजनाको बजेट कटौती हुने छन् । तयारी पूरा नभएका र टुक्रे आयोजना पनि खारेज हुने छन् । यसबाट सरकारी कोषमा झन्डै एक खर्ब रुपियाँ प्राप्त हुने छ । प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रको सम्पत्तिमा पुगेको क्षति आकलन गरी पुनर्निर्माण तत्कालै थाल्न त्यो कोष उपयोग हुने छ । आगलागीले जलेका भवन र त्यसभित्रका कोठामा रङरोगन पहिलो काम हुन आउँछ । अर्थमन्त्रीले सबैभन्दा पहिले अर्थ मन्त्रालयमा तत्काल रङ लगाएर हामी तत्कालै उठ्यौँ है भन्ने सन्देश दिने बताउनुभएको छ । निजी क्षेत्रको मनोबल बढाउनुपर्ने दायित्वप्रति अर्थमन्त्री संवदेनशील देखिनुभएको छ । त्यसका निम्ति वित्तीय अथवा बजार प्रणालीलगायतबाट काम गर्न केन्द्रीय बैङ्कसित समन्वय गरिने भएको छ । करदाताको पैसा सही सदुपयोग गर्न अनि जानेर वा नजानेर कुनै कमीकमजोरी नगर्न अर्थमन्त्रीले निजी क्षेत्रमैत्री सन्देश दिनुभएको छ । आन्दोलन र परिवर्तनको मर्म अनुरूप हामी सच्चिने छौँ भन्ने सन्देश दिन अर्थमन्त्रीको निर्देशन मार्मिक छ । गत वर्ष मात्र अर्थतन्त्र सुधार्न उच्चस्तरीय आर्थिक सुधारमा नेतृत्व दिएको अनुभव उहाँमा छ । त्यसैले पनि अर्थतन्त्र अब उठ्ने आशा र भरोसा गर्नु स्वाभाविक छ ।
उज्यालो नेपालसँग जोडिएको चर्चित र भरोसायोग्य नाम कुलमान घिसिङ नयाँ सरकारमा देखिँदा समग्र अर्थतन्त्रमै आशाको सञ्चार भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकासमन्त्री घिसिङले पदभार ग्रहण गरेलगत्तै अर्थतन्त्रलाई माथि उठाउन आधार बन्ने स्पष्ट प्राथमिकता तोक्नु भयो । ती प्राथमिकता अनुसार सार्वजनिक संरचनामा पुगेको क्षति यकिन गर्ने र त्यसको पुनर्निर्माण कार्य तत्काल अगाडि बढाइने छ । पुनर्निर्माणका लागि नागरिक तथा आमसमुदायमा सहायता परिचालन गरिने छ । देशविदेशमा रहेका सम्पूर्ण नेपालीलाई पुनर्निर्माणमा सहभागी गराई अपनत्व लिइने छ । सबैको साथ र सहयोगलाई पारदर्शी रूपमा पुनर्निर्माण कार्य अगाडि बढाइने छ । सहयोग प्राप्तिका लागि सरकारले विशेष कोष खडा गर्ने छ । भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीमा शून्य सहनशीलता अवलम्बन गरिने छ । सबैभन्दा महत्वपूर्ण विषय त डेडिकेटेड र ट्रङ्क लाइन महसुलको बक्यौता असुली गर्ने निर्णय गरी कार्यान्वयनमा तत्काल निर्देशन दिनुभयो । विगतमा यो मामिलामा ठुलो अनियमितता भएको आशङ्का छ । सामान्य ग्राहकले केही दिन बिजुलीको पैसा नतिर्दा लाइन काटिन्छ तर राज्यले अर्बौं रुपियाँ बर्सौंसम्म छुट दिएर ठुलो अन्याय प्रतीत भएको थियो । अर्थतन्त्रमा फेरि नयाँ शिराबाट उठाउन तमाम निर्णय महत्वपूर्ण छन् । अविलम्ब कार्यान्वयन वाञ्छनीय छ ।