• ८ पुस २०८२, मङ्गलबार

विज्ञान र प्रविधिको विकास

blog

मानिस एक जिज्ञासु प्राणी हो । यही जिज्ञासु स्वभावको कारणले नै प्रकृतिका नियम बुझ्न, सिद्धान्त प्रतिपादन गर्न, त्यसलाई प्रयोग गर्न मानिसले छलाङ लगाइरहेकै छ र तथ्यमा आधारित भएर गरिने कार्य नै विज्ञान हो भन्न सकिन्छ । यस हिसाबले विज्ञान भनेको ब्रह्माण्डसित सिद्धान्त र प्रयोगको आधारमा तर्कयुक्त संवाद गर्ने माध्यम हो भन्न सकिन्छ । जीवनलाई सहज बनाउन विज्ञान र प्रविधिको प्रयोग मानव सभ्यतासँगै अगाडि बढ्दै आउनु स्वाभाविक छ । विज्ञानको चेतसँगै दैनिक जीवनलाई सजिलो बनाउन प्रविधिको विकास हुँदै जान्छ र आवश्यकता अनुसार प्रविधिमा स्थानविशेष, हावापानी, स्रोतसाधनको उपलब्धतासँगै नवप्रवर्तनको खाँचो पर्दै जान्छ । नवप्रवर्तनमार्फत उपलब्ध प्रविधिलाई सर्वसुलभ बनाउन सकिन्छ र विकास निर्माणलाई आमजनताको श्रीवृद्धिमा प्रयोग गर्दा राष्ट्र समृद्धिको यात्रामा अगाडि बढ्छ । विज्ञान र प्रविधिमा देश तथा समाजको आवश्यकता अनुसार नवप्रवर्तनले सदैव नयाँ कुराको माग गरिरहेको हुन्छ किनभने देश, समाज र व्यक्तिका आवश्यकता फरक फरक प्रकृतिका हुन्छन् । समकालीन विश्वमा विभिन्न देशले विज्ञान र प्रविधिको प्रयोगमा चामत्कारिक उपलब्धि हासिल गरेका छन् र विकासमा उल्लेख्य प्रगति गरेका छन् । हाल विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ नयाँ विकाससँगै प्राज्ञिक क्षेत्रमा विज्ञान, प्रविधि र नवप्रर्वतनको विषयमा खुलेर छलफल सुरु भएको छ, यसलाई सुखद सङ्केतका रूपमा लिन सकिन्छ ।

करिब सय वर्षअघि नै नेपालमा आधुनिक विज्ञानको सुरु भएको मान्न सकिन्छ । सन् १९२२ मा तत्कालीन श्री ३ चन्द्रशमशेर राणाले सुरु गराएको भनिएको माल सामान ढुवानीका लागि २२ किमी लामो चिसापानी चन्द्रागिरी हुँदै काठमाडौँ आउने रज्जुमार्ग एक महìवपूर्ण कोसेढुङ्गा मान्न सकिन्छ । त्यसपछि विसं २०२१ त्यही रज्जुमार्गको विस्तारित गरिएको हेटौँडादेखि काठमाडौँसम्मको ४२ किमी लामो रज्जुमार्ग अमेरिकी सहयोगमा निर्माण भएको थियो । थानकोटदेखि कुलेश्वर त्रिपुरेश्वर खण्डमा माल सामान ढुवानीका लागि रेलमार्ग बिछ्याएको कुरा इतिहासका पानामा उल्लेख छ । नेपालमा विज्ञान र प्रविधिको अध्ययन अध्यापन गराई जग बसाली योगदान पु¥याएको 

‘पब्लिक साइन्स कलेज’ को स्थापना २०१३ असोज १ गते भएको थियो । नेपाल सरकारले २०७० असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउन सुरु गरेको हो । विज्ञान तथा प्रविधिलाई आमजनमानस सँगसँगै सबै क्षेत्रमा काम गर्नेहरूलाई महत्व बुझाउन र यसको अपरिहार्यतालाई आत्मसात् गर्न विज्ञान दिवस मनाउने कुराको थालनी अति नै सराहनीय छ । नेपाली समाज र सभ्यतामा अनेकौँ प्रकारका प्रविधि प्रयोग गरिएका छन् ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको बेला थुप्रै शिल्पीको ज्ञान र प्रविधिलाई अपनाएको सन्दर्भ एकातिर छँदै छ भने सम्भ्रान्त राणा परिवारमा जन्मिएका गेहेन्द्रशमशेर राणाको विज्ञान, प्रविधि र नवप्रर्वतनमा विशेष भूमिका छ भने उनका सहयोगी मुसे थापालगायतले गरेको अनुसन्धानले परम्परागत प्रविधिको प्रयोग गर्दै आधुनिक विज्ञानको उपयोगमा भूमिका खेलेको इतिहासमा पाइन्छ । गेहेन्द्रशमशेरले थुप्रै किसिमका हतियारको विकासमा महìवपूर्ण भूमिका खेलेको र जमल, सुन्दरीजल, बालाजु र भोजपुरमा हतियार निर्माण थालेको कुरा इतिहासमा उल्लेख छ । उनले बनाएका हतियार काठमाडौँको छाउनीमा रहेको नेपाली सेना सैन्य सङ्ग्रहालयमा राखिएका छन् । नेपालको सैन्य र औद्योगिक आधुनिकीकरणमा महìवपूर्ण भूमिका खेलेको गहेन्द्रशमशेरको मृत्यु युवा अवस्थामामै रहस्यमयी ढङ्गले भएको बताइन्छ । 

विज्ञान दिवसको अवसरमा देशको समग्र विकासमा विज्ञान–प्रविधिको महìवलाई नीति निर्माणको तहमा पु¥याउन विशेष पहल गर्दै युवा प्रतिभाहरूलाई आकर्षित गर्ने र पूर्वजहरूसित भएको ज्ञानको खोजी गर्न आवश्यक छ । विज्ञान र प्रविधिले हाम्रो कार्यसम्पादनमा सहजता ल्याउन सक्नु पर्छ यो नै महìवपूर्ण कुरा हो । आमजनमानसमा रहेको परम्परागत ज्ञान र सिपलाई परिस्कृत गर्नु पर्छ जसबाट स्थानीय स्तरमा उपलब्ध संसाधनको उचित उपयोगबाट दैनिक जीवनमा सकारात्मक रूपान्तरण ल्याउन सकियोस् । देशका विभिन्न भागमा उपलब्ध प्राकृतिक सम्पदा, स्थानीय ज्ञान र सिपबाट सञ्चालन हुन सक्ने ससाना उद्योगहरूको विकास गर्ने नीति राज्यको हुन सक्छ । रोजगारीको वृद्धि हुनगई आर्थिक उन्नयनमा ठुलो सहयोग पुग्न जाने हुन्छ । यस्ता कार्यका लागि सरकारले संरक्षक तथा अभिभावकको भूमिका खेल्न आवश्यक छ । देशको भौगोलिक विशिष्टतालाई बुझेर, स्थानीय स्रोतसाधनमा आधारित उद्योग तथा कलकारखाना खोलेर रोजगारी दिन सक्ने हो भने देश आत्मनिर्भर बन्दै जान्छ र युवा पलायन पनि रोकिन जान्छ । 

नीति निर्माणमा संलग्न हुने व्यक्ति र संस्थाले यो कुरामा ध्यान दिनै पर्छ । अनि मात्र नेपालीले चाहेको सुखी र सम्पन्न नेपाल बन्न सक्छ । विकास भनेको एकीकृत प्रयास हो र यो भूगोलमा आधारित हुन्छ । भौगोलिक विविधतासँगै हावापानीमा पनि भिन्नता हुन्छ र भूगोलको विविधता अनुसार उत्पादन गरिने वस्तुहरू फरक हुन्छन् । हिमाली तथा उच्च पहाडी भूभाग, चुरे तराईमा फरक फरक कुराको उत्पादन हुन्छ । आधुनिक विज्ञान र प्रविधिको प्रयोगसँगै पारम्परिक ज्ञान र प्रविधिलाई पनि सुधार्दै अगाडि बढ्ने हो भने उत्पादनमा वृद्धि भई समृद्ध नेपाल बन्न सक्ने ठुलो सम्भावना छ । 

एउटा मानवीय स्वभाव के हो भने आफू जन्मिएको र हुर्किएको देश तथा गाउँ समाजलाई विश्वको जुनसुकै कुनामा पुगे पनि मानिसले कहिल्यै बिर्सन सक्दैन । विदेशमा अध्ययन र अनुसन्धान गरेर नाम र दाम कमाएका विज्ञता हासिल गरेका व्यक्तिहरू नेपालमा फर्किएर काम गरिरहेका र गर्न चाहिरहेका धेरै दृष्टान्त छन् । सरकारबाट उचित वातावरण र प्रोत्साहन पाए नपाएको भने ख्याल गर्नै पर्ने हुन्छ । वैज्ञानिक अनुसन्धान गरेर राष्ट्रको समृद्धिमा योगदान पु¥याउन खोलिएका संस्थाहरू र विश्वविद्यालयलाई आवश्यक दक्ष व्यक्तिलाई स्थान दिन सरकार र सम्बन्धित निकायको स्पष्ट योजना आजको आवश्यकता हो । 

विज्ञान र प्रविधिको क्षेत्रमा देशभित्रका विभिन्न प्राज्ञिक सङ्घ संस्था, सरकारी निकाय, गैरसरकारी सङ्घ संस्थामा कार्यरत देशबाहिर रहेका जनशक्तिलाई एक आपसमा सहकार्य गर्ने वातावरण नीतिगत रूपमा मिलाई दिन सरकारीस्तरबाट मात्रै सम्भव हुन सक्छ र अपेक्षित उपलब्धि हासिल हुन सक्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) विज्ञान तथा प्रविधिको विकासका लागि खोलिएको सर्वोच्च निकाय हो । त्यसै गरी नीति अनुसन्धान प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र त्रिभुवन विश्वविद्यालयको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र, नेपाल सरकारको वनस्पति विभाग अन्तर्गतको अनुसन्धान प्रयोगशाला तथा विभिन्न निकायको प्रयोगशाला छन् । नास्टलाई एक सबल संस्थाको रूपमा अधि बढाउन पहल लिनु पर्छ । नास्ट तथा विश्वविद्यालयले विदेशमा रहेका वैज्ञानिक, अनुसन्धानविद्लाई देशभित्र बोलाउन विशेष कार्यक्रम ल्याउन अति नै जरुरी छ । खासमा नेपालको हावापानी सुहाउँदो, स्थानीय आवश्यकताबमोजिमको अनुसन्धान र प्रविधि विकास मुख्य कुरा हो । यी राज्यका निकायले जनचाहना र आजको युगको मागबमोजिम कार्य गर्न सक्ने हो भने मात्रै सान्दर्भिकता बढेर जान्छ । 

खास गरी नेपालको पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा आशालाग्दो रूपमा विकास भएको छ तर नेपालमा जति फाइदा लिनुपर्ने हो त्यो हुन भने सकेको छैन किनभने हाल प्रविधिलाई अधिकांश रूपमा मनोरञ्जनको माध्यमको रूपमा मात्र प्रयोग भएको पाइएको छ । यसरी प्रविधिलाई कृषि, स्वास्थ्य जस्ता विभिन्न क्षेत्रमा अत्यधिक प्रयोग गरी ग्रामीण क्षेत्रमा त्यसबाट सेवा पु¥याउन सकियो भने मात्र केही उपलब्धि हासिल गर्न सकिएला । यसै गरी स्वास्थ्यको क्षेत्रमा पनि सूचना प्रविधिलाई प्रयोग गर्न सम्भव छ । कोरोना कालमा देशमा विद्यालय, महाविद्यालयदेखि विश्वविद्यालयसम्मका कक्षाहरू सूचना प्रविधिको प्रयोग गरेर सञ्चालन गर्न सफल भएको कुरा बिर्सन सकिँदैन । अप्ठ्यारो समयमा शिक्षाको गतिलाई अवरुद्ध हुनबाट बचाउन धेरै हदसम्म सूचना प्रविधिले महìवपूर्ण भूमिका खेलेको छ । यस हिसाबले सूचना प्रविधिको विकास र पहुँच सन्तोषजनक ढङ्गले अगाडि बढिरहेको भन्न सकिन्छ ।

कुनै पनि देशको विकासमा जनता आफैँ जागे भने देशको विकास हुन कठिनाइ हुँदैन । यति मात्र कि सरकारको सही योजना निर्माण अति आवश्यक हुन्छ । हाल नेपाली अधिकांश युवा विदेश गइरहेका छन्, त्यस्तो जनशक्तिलाई नेपालमा काम गर्न सक्ने वातावरण सरकारले बनाउनु पर्छ र अधिकतम मानव संसाधनको प्रयोग गर्नु पर्छ । साथै हाम्रो देशको पारम्परिक पद्धति तथा प्रविधिलाई बढावा दिन र प्रविधिको अधिकतम प्रयोग गर्नेतर्फ देशले ध्यान दिनु जरुरी छ । जबसम्म नेपालमा विज्ञान र प्रविधिलाई केन्द्रमा राखेर काम गरिँदैन तबसम्म विदेशको मोहमा पर्ने युवाको सङ्ख्यामा कमी आउने छैन । यो महìवपूर्ण कुरालाई सरकार र समाजले गम्भीरताका साथ लिनु पर्छ । 

राजनीतिक स्थिरता र इमानदार राज्य व्यवस्था कायम गर्न सकियो भने नेपालको भौगोलिक विविधता, परिश्रमी जनता, विभिन्न जनसमुदायमा भएको सिप, समाज र उमेर समूहले देशलाई ठुलो फाइदा पु¥याउन सक्छ । विज्ञान र प्रविधिको क्षेत्रमा योगदान पु¥याउन सक्ने प्राज्ञिक संस्थाहरू, अनुसन्धान केन्द्रहरू, गैरसरकारी सङ्घ संस्था र विदेशमा रहेका जनशक्तिलाई उत्प्रेरित गरी उनीहरूको आर्जित ज्ञान, सिप र अनुभवलाई देशको हितमा प्रयोग गर्न राष्ट्रिय नीति नै ल्याउनु पर्छ । उत्साहका साथ अघि बढ्न खोजेका प्रतिभालाई प्रोत्साहित गर्नु पर्छ । यस कार्यका लागि विषयविज्ञका विचार लिई उनीहरूका साथमा बसेर देश विकासको खाका कोर्न सकियो भने देशले चाहेको अपेक्षित प्रगति हासिल गर्न सकिन्छ । विकास र समृद्धि आफ्नै जीवनकालमा देख्न र भोग्नका लागि विज्ञान र प्रविधिलाई प्राथमिकतामा राख्न जरुरी छ ।