प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), असोज १ गते । आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका कारण क्षति पुगेका रौतहटका पाँच वटा स्थानीय तहको सेवा अझै सुचारु हुन् सकेको छैन । प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएका चन्द्रपुर, गरुडा, कटहरिया, फतुवा विजयपुर र बौधीमाइ नगरपालिकाको सेवा तत्काल सुचारु गर्न समस्या देखिएको हो ।
चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहले आगजनी र तोडफोडबाट कार्यालयका कागजात, फर्निचर, कम्प्युटर, प्रिन्टर लगायत सबै सामग्री नष्ट भएकाले तत्कालै सेवा सुचारु हुने अवस्था नरहेको बताउनुभयो ।
प्रदर्शनकारीले चन्द्रपुर नगरपालिका वडा नं. ४ को वडा कार्यालयमा पनि तोडफोड गरेर क्षति पु¥याएको प्रमुख प्रशासकीय अधिकृत डा. साहले जानकारी दिनुभयो । नगरपालिका कार्यालय सञ्चालन हुन् नसके पनि वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था सुचारु भएको उहाँले बताउनुभयो ।
यस्तै, गरुडा नगरपालिका कार्यालयमा प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट नगरपालिकामा भएको क्षतिका कारण तत्काल सेवा सुचारु गर्न नसकिने नगर प्रमुख कन्थमणि प्रसाद कलवारले जानकारी दिनुभयो । नगरप्रमुख, नगर प्रहरी बल चढने गाडीलगायत नगरपालिका कार्यालयका फर्निचर, कम्प्युटर, कागजात पूर्ण रुपमा नष्ट गरिएको उहाँले बताउनुभयो ।
जनताको प्रत्यक्ष सरोकार रहने ठाउँ भएकाले तत्काल सेवा सुचारु गर्न लागि परेको उहाँको भनाइ रहेको छ । आन्दोलनका क्रममा भएको आगजनीका कारण कार्यालयमा विद्युत आपूर्ति समेत अवरुद्ध रहेकाले विद्युत आपूर्ति सुचारु गराई नितान्त आवश्यक स्रोत साधनको व्यवस्थापन गरेर कार्यालय सञ्चालन गरिने नगर प्रमुख कलवारले जानकारी दिनुभयो ।
आगजनी र तोडफोडबाट प्रभावित भएको बौधीमाइ नगरपालिकाले अनिश्चितकालीन रुपमा सेवा बन्द गरेको छ । बौधीमाइ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीका अनुसार आगजनी र तोडफोडबाट नगरपालीका कार्यालयमा केहि बाँकी नरहेकाले प्रचलित कानुन अनुसार नगरपालिकालाई आवश्यक सामग्री खरिद भएर आपूर्ति भए पश्चात मात्र नगरपालिका कार्यालय सुचारु गरिने बताउनुभयो । नगरपालिका स्थापनादेखि हालसम्मको कुनै कागजात बाँकी नरहेको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी, फतुवा विजयपुर नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवले जनताको प्रत्यक्ष सरोकार रहने कार्यालय भएको कारण यस विषम परिस्थितिमा सेवा अवरुद्ध राख्नु उचित नहुने बताउनुभयो । उहाँले जेनजी पुस्ताको नाउँमा अराजक व्यक्ति प्रवेश गरेर नगरपालिका कार्यालयमा आगजनी गरेर कागजातदेखि कम्प्युटर, फर्निचर नष्ट पारेको बताउनुभयो ।
नगरपालिका कार्यालय सुचारु गर्न एक दुई दिन लागे पनि ११ वटै वडा कार्यालय, विद्यालय सुचारु भइ सकेको उहाँले जानकारी दिनुभयो ।
जेनजीको प्रदर्शनको क्रममा कटहरिया नगरपालिकामा भएको आगलागी र तोडफोडका कारण भवनमा क्षतिदेखि लिएर फर्निचर, कम्प्युटर, कागजात सबै नष्ट भएकाले तिहार अघि नगरपालिका कार्यालय सञ्चालन हुन् सक्ने अवस्था नरहेको कटहरिया नगरपालिका कार्यालयका लेखा अधिकृत कामेश्वर सहनीले जानकारी दिनुभयो ।
नगरपालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको उप सचिव गणेश नेपालि सोमबार हाजिर हुनु भएकाले नियमानुसार कार्यालयलाई आवश्यक सामग्री खरिद गरी निर्माणाधीन प्रशासनिक भवनबाट सेवा सुचारु गर्ने तयारी रहेको लेखा अधिकृत सहनीले जानकारी दिनुभयो । निर्माणाधीन प्रशासकीय भवनबाट सेवा सुचारुका लागि निर्माण कम्पनीलाई तत्काल आवश्यकताका काम सकाउन अनुरोध गरिएको उहाँले बताउनुभयो ।
कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाशले आगजनीले क्षतिग्रस्त भवनमा सामान्य मरम्मत गराएर भए पनि दर्ता चलानी, पन्जीकरण लगायतका सेवा तत्काल सुचारु गर्ने योजना रहेको बताउनुभयो । वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्था सुचारु रहेको उहाँको भनाइ रहेको छ । जिल्लाका अन्य १३ वटा पालिकाको सेवा प्रवाह भने सुचारु भएको छ ।