विज्ञान र प्रविधि नै एउटा राष्ट्रको सामाजिक तथा आर्थिक समुन्नतिको मेरुदण्ड, राष्ट्रको अन्तर्निहित शक्तिको परिसूचक समृद्धिको संवाहक एवं सामाजिक नवचेतनाका उत्प्रेरक हुन् भन्ने तथ्य विश्वसामु छर्लङ हुनाले नै संयुक्त राष्ट्रसङ्घले विश्वका सदस्य राष्ट्रहरूलाई विज्ञान तथा प्रविधिको समुचित विकास एवं प्रयोगका निमित्त अनुरोध तथा मार्ग निर्देशन गरेको तथ्य विदित नै छ । नेपाल सरकारको निर्णय अनुसार नेपालमा २०७० असोज १ गतेदेखि विज्ञान दिवस मनाउन प्रारम्भ गरिएको छ । अमृत साइन्स क्याम्पसको स्थापना दिवसलाई विज्ञान दिवसको रूपमा मनाउने गरिएको छ ।
मुलुकमा विभिन्न कारणले विज्ञान तथा प्रविधिसँग आबद्ध संस्थाले आशातीत उपलब्धि हासिल गर्न सकेनन् । विज्ञानको क्षेत्रमा अत्यधिक न्यून लगानी, विज्ञान र प्रविधिको संस्थाहरूमा विज्ञान र प्रविधिभन्दा प्रशासनिक व्यक्तिको बाहुल्यता हुनु, नीतिगत रूपमा अनुसन्धान तथा विकासको कार्यलाई अग्रगामी बनाउने कार्यको अभाव, नीतिगत सुधारमा कमी, विज्ञान र प्रविधिको विकासको लागि सारगर्भित प्रयासहरूको कमी, अति आवश्यक संस्थागत संरचनाको कमी आदि कारणले गर्दा विज्ञान र प्रविधिको क्षेत्रमा सोचे अनुरूप उपलब्धि हासिल हुन सकेन । यही कारणले गर्दा छिमेकी राष्ट्र भारत र चीनले चन्द्र विजय गरेर मङ्गल विजयको अभियानमा संलग्न रहिसकेको परिप्रेक्ष्यमा हामी अझै पनि ग्यालिलियोको युगमा छौँ ।
यसै गरी विश्वविद्यालयस्थित विज्ञानका विभागहरू केवल विज्ञान पढाउने विभागका रूपमा सीमित रहेको देखिन्छ । केही अनुसन्धान पनि सर्वेक्षण प्रकारका देखिन्छन् । अत्याधुनिक अनुसन्धानको त कुरा छोडाँै सामान्य अनुसन्धानका लागि पनि त्यहाँ बजेटको अभाव देखिन्छ । एकातिर सरकारबाट पर्याप्त मात्रामा बजेट उपलब्ध हुँदैन भने अर्कोतिर स्वयम्ले स्रोतसाधन उत्पादन गर्ने कार्य पनि गर्न सक्दैनन् र प्राप्त स्रोतसाधनलाई पनि समुचित रूपमा प्रयोग गरेको देखिँदैन । विज्ञानका संस्थाहरूलाई पनि राजनीतिक हस्तक्षेपबाट मुक्त रहेर अटोनोमस संस्थाको रूपमा विकास हुन नसक्नु र उनीहरूलाई राष्ट्र विकासप्रति बढी उत्तरदायी बनाउँदै अनुन्धानात्मक कार्यहरूको उच्च मूल्याङ्कन हुन सक्ने प्रणालीको विकासको पनि कमी देखिन्छ ।
कर्मचारीतन्त्र तथा राजनीतिले जगत्ले पनि विज्ञानलाई त्यति महत्व दिएको देखिँदैन । कतिपय राजनीतिक पार्टीले चुनावी समयको मुखपत्रमा विज्ञान तथा प्रविधिको समुचित विकास तथा प्रयोगका लागि संलग्न रहने कुरा उल्लेख भए पनि सो अनुरूप कार्य गरेको देखिँदैन । विज्ञान तथा प्रविधिको सार्थक ज्ञानलाई जनप्रवाह गर्नका लागि कुनै विशेष नीतिसमेत रहेको पाइँदैन । उच्च क्षमताका वैज्ञानिकलाई पर्याप्त तलब तथा सुविधा दिने कुनै प्रणाली देखिँदैन । नेपाल सरकारका पुरातन मन्त्रालयमा लागु भएको आर्थिक तथा प्रशासनिक नियमावलीबाट विज्ञान जस्तो गहन विधालाई सञ्चालन गरेको देखिन्छ, जुन विज्ञान तथा प्रविधिको समुचित विकासका लागि उपयुक्त देखिँदैन ।
यो दिवसमा हामीले विभिन्न कुरा मनन गर्न आवश्यक छ । हाम्रो राष्ट्रमा विज्ञान तथा प्रविधिको अवस्था कस्तो छ ? हामीले विज्ञानको क्षेत्रमा कत्तिको अनुसन्धान गरिरहेका छाैँ ? के हाम्रो विज्ञानका संस्था विज्ञानका भव्य समाधिस्थलमा रूपान्तरण त भइरहेका छैनन् ? हेर्दा राम्रो भवन, उच्च अध्ययन गरेका कर्मचारी तर परिणाम के आएको छ ? विज्ञानका कतिपय संस्थाको स्थापनाको पनि लामो समयावधि भइसक्यो । स्थापनापश्चात् यी संस्थाहरूले राष्ट्रका लागि, जनमानसका लागि के कति उपलब्धिमूलक कार्यहरू गरेका छन् ? के नेपाल सरकारले विज्ञानको क्षेत्रमा बृहत्तर लगानी गरेको छ ? के समुचित स्रोतसाधन उपलब्ध गराएको छ ? यी संस्थाहरूमा विज्ञानका कार्यहरू, अनुसन्धानहरू कत्तिको भइरहेका छन् ? विज्ञान तथा प्रविधिको द्रुततर विकासका लागि कर्मचारीतन्त्रमा पनि हाल छुट्टै विशेष सुविधा र अनुसन्धानलाई अगाडि बढाउन सक्षम दक्ष जनशक्तिका लागि छुट्टै विज्ञान सेवा समूहका लागि विशेष पहल हुन जरुरी छ कि ?
साथै हामीले के कुरा बुझ्न आवश्यक छ भने राष्ट्रको उज्ज्वल भविष्य युवा वैज्ञानिकमा निहित छ र नेपाललाई वर्तमानभन्दा भविष्यमा विकसित र सशक्त राष्ट्रको रूपमा रूपान्तरण गर्नका लागि उनीहरूलाई समुचित स्रोतसाधन तथा कार्यरत रहने वातावरण उपलब्ध गराउन अति आवश्यक हुन्छ । वर्तमान परिप्रेक्ष्यमा युवा वैज्ञानिकलाई विशेष सुविधा, स्रोतसाधन दिएर उनीहरूलाई राष्ट्र हितका लागि अनुसन्धानमा संलग्न गराउन अपरिहार्य देखिन्छ । साथै ज्ञान र विज्ञानको विस्फोट भइरहेको वर्तमान युगमा युवा वर्गले पनि नवीनतम उपलब्धिहरू प्राप्त गर्नेतर्फ अग्रसर हुन जरुरी छ । महान् वैज्ञानिकलाई आफ्नो आदर्श स्थापित गर्दै अध्ययन अनुसन्धानमा संलग्न भएर राष्ट्रका लागि नवीनतम तथा जनपयोगी उपलब्धि प्राप्त गर्नेतर्फ अग्रसर हुन जरुरी छ ।
आजको २१ औँ शताब्दी कृत्रिम बृद्धिमत्ता (एआई) को युग हो । एआईले हाम्रो दैनिक जीवन शिक्षादेखि औद्योगिक क्षेत्र, स्वास्थ्यदेखि सञ्चारसम्म जीवनका प्रत्येक क्षेत्रमा निर्णायक भूमिका खेल्दै आएको छ । एआई प्रविधिले समाजमा एक बृहत्तर तथा असीमित अवसरहरू प्रदान गर्नुका साथै अत्यधिक चुनौती पनि समुपस्थित गरेको छ । विज्ञान दिवसको अवसरमा एआईको समुचित प्रयोग गर्दा मानव मूल्य, नैतिकता, व्यक्तिगत गोपनीयता जस्ता तथ्यहरूलाई पनि आत्मसात् गर्दै नकारात्मक प्रभावलाई समयोचित सम्बोधनका लागि जनमत निर्माण गर्न वा सोच्न अभिप्रेरणा प्रदान गर्नु पर्छ ।
हाम्रा विज्ञानसँग आबद्ध निकाय उच्चस्तरीय अनुसन्धानभन्दा सर्वेक्षण प्रकारका अनुसन्धानमा संलग्न देखिन्छन् । उद्योगहरू आयातित वस्तुहरूलाई मिलाएर सामग्रीहरू बनाउनमा मात्र सीमित रहेको देखिन्छ । जडीबुटीको धनी देशमा जडीबुटीमा कत्तिको अनुसन्धान भइरहेको छ ? स्वास्थ्यको अनुसन्धानको क्षेत्रमा हाम्रो आन्तरिक क्षमता कत्तिको छ ? कृषिको क्षेत्रमा हाम्रो अनुसन्धान कत्तिको प्रभावकारी छ ? हामीसँग के दीर्घकालीन योजनाहरू र प्राथमिकताका क्षेत्रहरू निर्धारण छन् ? यस राष्ट्रिय दिवसमा हाम्रो आजसम्मका उपलब्धिको आलोचनात्मक मूल्याङ्कन तथा राष्ट्रमा निहित विज्ञान एवं वैज्ञानिकको अन्तरनिहित क्षमताको पूर्ण मूल्याङ्कन हुनुका साथै राष्ट्रमा विज्ञान तथा प्रविधिको विकास तथा निर्दिष्ट मार्ग चित्रणका लागि जोडदार बहस एवं चर्चा हुनु अपरिहार्य देखिन्छ ।
यो दिवसले निश्चित रूपमा राष्ट्रमा वैज्ञानिक चेतना एवं संस्कारको प्रादुर्भाव गर्नमा अहम् भूमिका निर्वाह गर्ने छ । यसका लागि अधिकतम जनसहभागिता, युवा वैज्ञानिकहरूको अत्यधिक परिचालन अपरिहार्य हुन जान्छ, जसले गर्दा बढीभन्दा बढी सर्वसाधारणमा विज्ञानको सार्थक ज्ञानप्रति अभिरुचि बढोस् र युवामा विज्ञान तथा प्रविधिकोे क्षेत्रमा कार्यरत हुने प्रेरणा मिल्न सकोस् । यो दिवस यस क्षेत्रमा कार्यरत संस्था तथा वैज्ञानिकहरूले स्वयम्को मूल्याङ्कन गर्ने समय पनि हो । हामीले हाम्रा विगतका मिसनहरूमा प्राप्त सफलता वा असफलता, हाम्रा कार्यान्वयनमा रहेका मिसनहरू तथा भविष्यमा परिचालन गर्ने योजनाहरूलाई अन्तर्राष्ट्रिय दृष्टिकोणबाट पुनर्मूल्याङ्कन गर्नु जरुरी छ ।
हाम्रो जस्तो विकासोन्मुख, अन्धविश्वास तथा भाग्यवादी परम्पराबाट आक्रान्त समाजमा वर्षमा एक वा दुई दिन मनाइने विज्ञान दिवस पर्याप्त देखिँदैन । यसस“ग आबद्ध संस्थाले प्रत्येक दिन, सप्ताह, महिना र वर्षमा विज्ञान तथा प्रविधिको विकासका लागि समर्पित रहन आवश्यक छ, अनि मात्र राष्ट्र विकासले मूर्त रूप लिने छ । यसरी विज्ञान दिवस केवल एउटा औपचारिक दिवस मात्र नभई विज्ञान तथा प्रविधिको समुचित प्रयोगबाट मानव जीवनलाई अझै पूर्णतया सुरक्षित, सहज तथा समृद्ध बनाउनलाई प्रेरणा प्रदान गर्ने विशिष्ट अवसर हो ।