पीवाईसी बिबिए कपमा १८ टोली
पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाख १३ गते देखि काठमाडौँमा ‘पीवाईसी बिबिए कप’ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
रोड रेसमा मुकेश र सन्तोषी पहिलो
मुकेशबहादुर पाल र सन्तोषी श्रेष्ठ तेस्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसको खुलातर्फ शनिबार पहिलो हुनुभएको छ ।
पाल्पा जिल्ला फुटबल सङ्घको अध्यक्षमा राणा विजयी
रेखीराम रानापाल्पा, वैशाख १० गते । पाल्पा जिल्ला फुटबल सङ्घको अध्यक्षमा प्रणयविक्रम राणा विजयी हुनुभएको छ । सङ्घको नेतृत्वका लागि भएको निर्वाचनमा निकतम् प्रतिद्वन्द्वी मनोहर थापालाई ४ मतले पराजित गर्दै राणा विजयी हुनुभएको हो । १५ मत रहेको पाल्पा जिल्ला फुटबल सङ्घमा राणाले नौ मत प्राप्त गर्नुभएको थियो भने थापाले ५ मत प्राप्त गर्नुभएको थियो । अध्यक्षमा एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ । यस्तै सङ्घको उपाध्यक्षमा मनोजमान लिगल, प्रज्वल उदय, कृष्ण सारु मगरले समान नौ मत पाउनुभएको थियो । निकटतम् अच्युत खनालले ६ मत पाएको निर्वाचन समितिले जनाएको छ । सङ्घको महिला सदस्यमा युकी गाहा विजय हुनुभयो । सदस्यहरूमा अनिष श्रेष्ठ, दिपेन्द्र खनाल, कृष्ण बहादुर बाकाबल, सुलभ कार्की, सुरज सारु, हरिबहादुर ज्ञवाली, दलबहादुर रास्कोटी, युवराज चिदी, अमृत बहादुर राना, सुजन थापा बिजयी हुनुभएको छ । सदस्य सबैले समान ९ मत पाउनुभएको थियो । नवनिर्वाचित अध्यक्ष राणाले फुटबलको विकास र खेलाडी उत्पादन, प्रतियोगिता आयोजनामा सक्रिय हुने बताउनुभयो । शुक्रबार भएको निर्वाचनमा एन्फाका केन्द्रीय सहमहासचिव प्रकाश पंगेनीले दुई वर्ष कोभिडले खेलकुदका गतिविधि सुस्ताए पनि आगामी दिनमा खेल गतिविधि बढ्ने बताउनुभयो ।
भूपेन्द्र बक्सिङको फाइनलमा
नेपाल पुलिस क्लबका भूपेन्द्र थापामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गर्नुभएको छ ।
नवौँ राष्ट्रिय र १९औँ एसियाडको खेल संख्या तय
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद र चीनमा भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा सहभागि खेलको संख्या तय गरेको छ ।
भुवनलाई च्यालेन्ज गल्फ उपाधि
सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिताको उपाधि भुवन नगरकोटीले जित्नुभएको छ ।
दुवै पुलिसको उपाधि जित्ने दाबी
काठमाडौँ, वैशाख ९ गते । कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीको एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच शनिबार राति प्रतिस्पर्धा हुँदैछ । धनगढी रङ्गशालामा हुने फाइनल खेलमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । शुक्रबार धनगढी रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका हुन् । उत्कृष्ट लयमा रहेको एपिएफकी कप्तान अनिता बस्नेतले उपाधि जित्नका लागि आफ्नो टोली तयार रहेको बताउनुभयो । ‘पहिलो पटक फर्डलाइटमा खेल्दा केही गाह्रो भइरहेको छ । तर हामी लय गुमाउने पक्षमा छैनौँ । महिला गोल्डपक पहिलो पटक भएको हुँदा यसले हामी सबैलाई उत्साहित बनाएको छ । हामी च्याम्पियन बन्न चाहन्छौँ,’ बस्नेतले भन्नुभयो । एपिएफएका प्रशिक्षक जनकसिंह थारुले पनि जित्नको लागि खेल्ने बताउनुभयो । ‘लिगमा पनि लगातार जितिरहेका छौँ । नकआउट प्रतियोगिता पनि जित्छौँ ।’ प्रशिक्षक थारुले भन्नुभयो–‘हामीले पुलिसलाई हराउँदै आएका छौँ । फेरि हराएर उपाधि जित्छौं ।’ एपिएफल सेमिफाइनलमा आर्मीलाई ३–२ गोलले हराएको थियो । नेपाल पुलिस क्लबले पनि उपाधि जित्ने दाबी गरेको छ । लामो समयपछि प्रतियोगिताको फाइनलमा पुगेकोले यस अवसरलाई सदुपयोग गर्ने पुलिसको भनाइ छ । पुलिसकी कप्तान घिमकुमारी गुरुङले जित्नको लागि खेल्ने बताउनुभयो । ‘हामी जित्नकै लागि खेल्छौँ । सबै जनाले सोही अनुसार तयारी गरेका छौँ,’ कप्तान गुरुङले भन्नुभयो । पुलिसका प्रशिक्षक सञ्जीव जोशीले पनि पुलिसको एउटै लक्ष्य उपाधि भएको दाबी गर्नुभयो । ‘धेरै वर्षपछि फाइनल पुगेका छौँ । मैदानमा केही समस्या छ । बललाई चाहे अनुसार खेलाउन गाहे भइरहेको छ । तर पनि खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन् । नतिजा पुलिसको पक्षमा आउनेमा आशावादी छु,’ जोशीले भन्नुभयो ।पुलिसले सेमिफाइनलमा आयोजक वीवाइसी क्लबलाई ३–० गोलले हराएर फाइनलमा स्थान बनाएको थियो । गोल्डकपको विजेताले ट्रफीसहित पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछ ।
जिम्बावेविरुद्ध खेल्ने नेपाली टाेलीको घोषणा
काठमाडौँ, वैशाख ९ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले जिम्बाब्वे ए विरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा जिम्बाब्वेरुद्ध खेल्ने एकदिवसीय र टी-२० क्रिकेट सिरिजका लागि २३ सदस्यीय राष्ट्रिय खेलाडी टोलीको घोषणा गरेको हो । क्यानले यही २३ खेलाडीबाट खेलकै दिन सुरुवाती ११ खेलाडी छनोट गर्ने पनि जनाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपालले जिम्बावे ए सँग वैशाख १७, १९ र २१ गते एकदिवसीय तथा वैशाख २३, २४ र २६ गते टी-२० सिरिज खेल्नेछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको तयारीका लागि जिम्बाब्वे ए सँग सिरिज खेल्न लागेको हो ।नेपालसँगको खेलका लागि जिम्बाब्वेले पनि टोलीको घोषणा गरेको छ । लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान , यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् । नेपाली टोली : सन्दीप लामिछाने (कप्तान) ,दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, विक्रम सोब र सुनिल धमला । जिम्बाब्वे टोली : क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोङग्वे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणी तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योङगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर र त्सिग्वागा तफाडजवा ।
बार्सिलोनाको जितमा औवामियाङको गोल
काठमाडौँ, वैशाख ९ गते । पिएरे इमरिक औवामियाङले निर्णायक गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले रियल सोसिडाडमाथि कठिन जित निकालेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई उसैको मैदानमा १–० गोलले हरायो । औवामियाङले ११औँ मिनेटमा गरेको गोल बार्सिलोनाको जितमा पर्याप्त बन्यो । बल पोसेसनमा अब्बल देखिएपनि रियल सोसिडाडले गोल फर्काउन सकेन । जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३२ खेलबाट ६३ अङ्क बनाएको छ । बार्सिलोना शीर्षस्थानमा रहेको रियल म्याड्रिडभन्दा १५ अङ्कले पछाडि छ । एक खेल कम खेलेको रियलको ७८ अङ्क छ । समान ६३ अङ्क बनाएको सेभिया गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ । बार्सिलोनासँग पराजित सोसिडाड ५५ अङ्कसहित छैटौँ स्थानमा छ । बिहीबार राति नै भएको अन्य खेलमा सेभियाले घरेलु टोली लिभान्लातेई ३–२, एथलेटिक बिल्बाओले काडिजलाई ३–२ र रायो भालेकानोले स्पान्योललाई १–० गोलले हरायो । एजेन्सी