• ५ जेठ २०८१, शनिबार

भूपेन्द्र बक्सिङको फाइनलमा

blog

वीर गणेमानन सिंह स्मृति बक्सिङमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौँ, वैशाख ९ गते । नेपाल पुलिस क्लबका भूपेन्द्र थापामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गर्नुभएको छ । बसन्तपुर डबलीमा शुक्रबार भएको पुरुष ६३ केजी तौल समूहको फाइनलमा एपिएफका सोनम सार्कीलाई पराजित गर्दै भूपेन्द्रले फाइनलमा स्थान बनाउनुभएको हो । 

यही तौल समूहमा त्रिभुवन आर्मी क्लबका पुरन सुनारले लुम्बिनी प्रदेशका अनिल पुन मगरलाई हराउँदै भूपेन्द्रसँगको उपाधि भिडन्त पक्का गर्नुभयो । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५२ केजी तौल समूहमा आर्मीका प्रेम चौधरी र एपीएफका प्रदीप महर्जनले फाइनलमा स्थान बनाउनुभयो । 

प्रेमले पुलिसका चन्द्रबहादुर थापा र प्रदीपले मधेस प्रदेशका मदनकृष्ण डंगोलले पाखा लगाउनुभयो । पुरुषकै ५७ केजीमा आर्मीका इन्द्र सुनारले पुलिसका शम्भु राजवंशी र एपिएफका पुरन राईले गण्डकी प्रदेशका सौगात कुमाललाई पराजित गर्दै फाइनलमा स्थान बनाउनुभयो । पुरुषकै ६९ केजी तौल समूहमा पुलिसका सनिल शाही र आर्मीका दनबहादुर दर्लामीले उपाधि भिडन्त पक्का गर्नुभयो । 

सनिलले सुदूरपश्चिम प्रदेशका भरत चन्द र दनबहादुरले बागमती प्रदेशका शिरिस खनाललाई पराजित गर्नुभयो । पुरुषको ७५ केजीमा आर्मीका दीपेश लामाले मधेस प्रदेशका कोशिश श्रेष्ठ र प्रदेश १ का सनम गुरुङले कर्णाली प्रदेशका दिल राज भण्डारीलाई पराजित गर्दै फाइनलमा स्थान बनाउनुभयो । ८१ केजी तौल समूहमा आर्मीका दीपक श्रेष्ठ र सुदूरपश्चिमका श्यामबहादुर महताले उपाधि भिडन्त पक्का गर्नुभयो । पुरषकै ९१ केजी तौल समूहमा एपिएफका रविन नेपाल र आर्मीका गणेश प्रधानले उपाधि भिडन्त पक्का गर्नुभयो । 

महिलाको ५१ केजी तौल समूहमा पुलिसकी दिवाना शेर्मा र आर्मीकी मीनु गुरुङले उपाधि भिडन्त पक्का गर्नुभयो । महिलाकै ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपिएफकी नङ्जा बुढामगर र पुलिसकी निशा तामाङले प्रदेश १ की सुस्मिता राईलाई पराजित गर्दै फाइनलमा पुग्नुभयो । महिलाकै ६० केजीमा आर्मीकी संगीता दंगाल र एपिएफकी संगीता सुनारले फाइनलमा स्थान बनाउनुभयो । 

६९ केजी तौल समूहमा एपिएफकी विनिता थापा मगरले लुम्बिनी प्रदेशकी जुनमाया थारु र आर्मीकी पुनम रावलले मधेशस प्रदेशकी अपराजिता गोतानीलाई हराउँदै फाइनलमा पुग्नुभयो । ७५ केजी तौल समूहमा एपिएफकी सरस्वती राना र आर्मीकी निरु गुरुङ फाइनलमा पुग्नुभयो । 

प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच गरी १२ स्पर्धा समावेश छन् । सातै प्रदेश र तीन विभागीय टोली आर्मी, प्रहरी र एपीएफ गरी १० टिमका १ सय २ खेलाडीकोे सहभागिता रहेको छ । प्रत्येक स्पर्धाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुने ७५ सय रुपियाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।