यू–१९ माहिला विश्वकपका लागि ४४ खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौँ, वैशाख ८ गते । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला यू–१९ विश्वकप छनोटको लागि ४४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । क्यानले बिहीबार पहिलो चरणको बन्द प्रशिक्षण क्याम्पमा ४४ खेलाडी बोलाएको हो । प्रधानमन्त्री कप राष्ट्रिय यू–१९ महिला क्रिकेटमा सहभागिता जनाएका उत्कृष्ट खेलाडीलाई बन्द प्रशिक्षण क्याम्पमा बोलाएको क्यानले जनाएको छ । बन्द प्रशिक्षण वैशाख १० गतेबाट सुरु हुनेछ । यू–१९ महिला विश्वकप सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुनेछ । यस विश्वकपमा १६ देशको सहभागिता रहनेछ । क्यानले बन्दप्रशिक्षणका लागि बेलाएको खेलाडीहरुमा हेलिषा गुरुङ, किरण कुमारी कुवर, त्रिशाना विश्वकर्मा, अनु कडायत, सावित्री धामी, आस्मा पुलामीमगर, जिज्ञासा थापा, रन्जु श्रेष्ठ, सना प्रविन, यशोदा बिष्ट, एलिशा यादव, बिमला मलाहा, अलिसा कुमारी कडायत, हिरामाया रोय, स्नेहा महरा र मनिषा उपाध्याय हुनुहुन्छ ।यसैगरी बिना थापा, अन्जिला थापा, मनिष चौधरी, बिपिषा शाही, जोत्सिका मरासिनी, कुसुम गोदार, यसु पाण्डे, जोति दनवार, मधु राउत, श्रीमी सिंह थारु, भावना कामति, सोनी पाख्रिन, प्रिया मलह, सोनिया थापा, मनिष रानामगर, दिक्षा पुरी, नितु घर्तीमगर, सुष्मिता भुषाल, सलिना सिलवाल, प्रतिमा शाह, स्वस्तिका बजगाईं, शृष्ठी जैशी, अन्जली शाह, कृतिका मराशिनी, निशा शाह, अंग पेम्बा, लिम्बु शेर्पा, टिका शाह र प्रज्ञा कटवाल पनि बन्द प्रशिक्षणमा पर्नुभएको छ ।
च्यालेन्ज गल्फमा भुवनको एकल अग्रता
काठमाडौँ, वैशाख ८ गते । सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिताको तेस्रो दिन भुवन नगरकोटीले एकल अग्रता लिनुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा जारी प्रतियोगितामा बिहीबार भुवनले ६ अन्डर ६२ खेल्नुभयो । ५४ होलको समाप्तिसँगै भुवनको कूल ११ अन्डर एक सय ९३ स्कोर छ । भुवनले दोस्रो स्थानमा रहनुभएका भुवन कुमार रोक्कालाई एक स्ट्रोकले पछि पार्नुभएको छ । बिहीबार दुई अन्डर ६६ खेल्नुभएको रोक्काको कूल १० अन्डर एक सय ९४ स्कोर छ । कूल नौ अन्डर एक सय ९४ स्कोरका साथ सन्जय लामा तेस्रो स्थानमा झर्नुभएको छ । अघिल्लो दिन शीर्षस्थान कब्जा गर्नुभएको लामाले बिहीबार इभनपार ६८ मा चित्त बुझाउनु भयो । दिनेश प्रजापती र दीपक थापामगर एक सय ९७ स्कोरका साथ संयुक्त चौथो स्थानमा हुनुहुन्छ । यसैगरी एमेच्योरतर्फ कूल ६ अन्डर एक सय ९८ स्कोरका साथ सुवास तामाङ उपाधि नजिक पुग्नुभएको छ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता सुवासले बिहीबार तीन अन्डर ६५ खेल्नुृभयो । दोस्रो स्थानमा रहन सफल सुरेस तामाङको कूल ११ ओभर दुई सय १५ स्कोर छ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । सूर्य नेपाल गल्फ टुर अन्तर्गत बर्षको छैटौँ स्पर्धाको यस प्रतियोगिताको पुरस्कार राशी पाँच लाख ४५ हजार रुपियाँ रहेको छ । प्रतियोगितामा प्रोतर्फको विजेताले एक लाख, उपविजेताले ६५ हजार र तेस्रो हुनेले ४६ हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रोतर्फ फाइनलमा पुगेका २१ खेलाडीलाई समेत आकर्षक नगद पुरस्कार प्रदान गरिने बताईएको छ । एमेच्योर तर्फको विजेताले आकर्षक ट्रफी हात पार्नेछन् ।
पीएसजी उपाधि नजिक
काठमाडौँ, वैशाख ८ गते । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई उसैको मैदानमा ३–० गोलले हरायो । पीएसजीको सहज जितमा केलियन एमबाप्पे, सर्जियो रामोस र मार्किन्हसले गोल गर्नुभयो । एकपक्षीय खेलमा एमबाप्पेले २८औँ मिनेटमा गोलको खाता खोल्नुभएको थियो । उहाँले अचरफ हाकिमीको पासमा गोल गर्नुभएको हो । पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले एन्जल डि मारियाको पासमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाउनुभयो । ७७औँ मिनेटमा डि मारियाकै पासमा कप्तान मार्किन्हसले गोल गर्दै पीएसजीलाई सजिलै जिताउनुभयो । दोस्रो हाफको इन्जुरी समयमा पीएसजी १० खेलाडीमा समेटिएपनि एन्जर्सले गोल फर्काएन सकेन । जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको ३३ खेलबाट ७७ अंक बनाएको छ । पीएसजीले दोस्रो स्थानको मार्सेलीभन्दा १५ अंकले अगाडि छ । दोस्रो स्थानमा रहेको मार्सेलीको ६२ अंक छ । पराजित एन्जर्स ३४ अंक सहित १४औँ स्थानमा छ । एजेन्सी
सिटी फेरि प्रिमियर लिगको शीर्षस्थानमा
काठमाडौँ, वैशाख ८ गते । म्यानचेस्टर सिटी फेरि इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा ब्राइटनलाई ३-० गोलले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो । सिटीलाई जिताउन रियाद महारेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक एक गोल गर्नुभयो । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा महारेजले ५३औँ मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाउनुभयो । ६५औँ मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि ८२औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई सहज जित दिलाउनुभयो । जितसँगै सिटीले शीर्षस्थान कब्जा गरेको सिटीले ३२ खेलबाट ७७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ७६ अंक छ । पराजित ब्राइटन ४० अंक सहित १०औँ स्थानमा छ । अर्को खेलमा चेल्सीलाई आर्सनलको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा चेल्सी आर्सनलसँग ४-२ गोलले पराजित भयो । एजेन्सी
उपाधि दौड बलियो बनाउँदै रियल म्याड्रिड
काठमाडौँ, वैशाख ८ गते । रियल म्याड्रिडले स्पेनिस ला लिगामा उपाधि दौड बलियो बनाएको छ । बुधबार राति भएको खेलमा रियलले ओसासुनालाई उसैको मैदानमा ३–१ गोलले हरायो । अनुभवी कप्तान करिम बेन्जेमाले दुई वटा पेनाल्टी मिस गरेपनि रियलले सहज जित निकालेको हो । रियलको जितमा डेभिड अलाबा, मार्को असेन्सियो र लुकास भाजक्वेजले गोल गर्नुभयो । ओसासुनाका एन्टी बुडिमिरले सान्त्वना गोल फर्काउनुभयो । रियलले १२औँ मिनेटमा डेभिड अलाबाको गोलबाट अग्रता लिएको थियो । तर, रियलको अग्रता एक मिनेट पनि टिकेन । १३औँ मिनेटमा एन्टी बुडिमिरले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । त्यसपछि ४५औँ मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई पुन अग्रता दिलाउनुभयो । बेन्जेमाले दोस्रो हाफमा दुई पेनाल्टी मिस गर्नुभएको थियो । बेन्जेमाको दुवै पेनाल्टीलाई ओसासुनाका गोलरक्षक सर्जियो हेरेराले बचाउनुभयो । इन्जुरी समयमा लुकासले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई सजिलै जिताउनुभयो । जितसँगै उपाधितर्फ लम्किएको रियलले शीर्षस्थानमा १७ अंकको अग्रता बनाएको छ । अब रियललाई उपाधिको जित्न पाँच खेलबाट चार अंक मात्त आवश्यक छ । रियलले अबको दुई खेलमै उपाधि जित्ने सम्भावना छ ।दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ६१ अंक तथा दुई खेल कम खेलेको बार्सिलोनाको ६० अंक छ । रियलसँग पराजित ओसासुना ४४ अंक सहित नवौँ स्थानमा छ । बुधबार रातिनै भएको खेलमा एट्लेटिको ग्रानाडासँग गोलरहित बराबरीमा रोकिएको हो । अर्को खेलमा गेटाफेले सेल्टा भिगोलाई २–० गोलले हरायो । एजेन्सी
कोपा इटालिया : युभेन्ट्स फाइनलमा
काठमाडौँ, वैशाद ८ गते । युभेन्ट्स कोपा इटालिया कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्सले फियोरेन्टिनालाई २–० गोलले हरायो ।युभेन्ट्स समग्रमा ३–० को जित निकाल्दै फाइनलमा पुगेको हो । यसअघि पहिलो लेगमा युभेन्ट्स १–० गोलले विजयी भएको थियो । युभेन्ट्सको सहज जितमा फेडरिको बर्नरडेस्ची र डानिलोले गोल गर्नुभयो । पहिलो र दोस्रो हाफमा समान एक एक गोल गरेको युभेन्ट्सले ३२औँ मिनेटमा फेडरिको बर्नरडेस्चीको गोलबाट अग्रता लिएको थियो । त्यसपछि इन्जुरी समयमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई फाइनमा लग्नुभयो । उपाधिको लागि युभेन्ट्सले इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । इन्टर मिलानले एसी मिलानलाई ३–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल मे ११ तारिख हुनेछ । एजेन्सी
एपिएफ महिला गोल्डकपको फाइनलमा
काठमाडौँ, वैशाख ८ गते । विभागीय टोली एपिएफ क्लब धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार राति भएको सेमिफाइनल खेलमा एपएिफले अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई ३–२ गोलले हरायो । एपिएफको जितमा सरु लिम्बुले दुई तथा सावित्रा भण्डारीले एक गोल गर्नुभयो । आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक एक गोल फर्काउनुभयो । एपिएफकी सरु लिम्बु प्लेयर अफ दि म्याच हुनुभयो । वनदेवी युवा क्लब (वीवाइसी) को आयोजनमा जारी प्रतियोगितामा वबहीबार दोस्रो सेमिफाइनलमा आयोजक वीवाइसी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । वैशाख १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार र उत्कृष्ट विधाका खेलाडीलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
च्यालेन्ज गल्फमा सन्जय र भुवनको अग्रता
काठमाडौँ, वैशाख ७ गते । सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिातको दोस्रो दिन सन्जय लामा र भुवन कुमार रोक्काले अग्रता लिनुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा बुधबार सन्जयले ६ अन्डर ६२ र भुवनले चार अन्डर ६४ खेल्नुभयो । ३६ होलको समाप्तिसँगै सन्जय र भुवनको कूल आठ अन्डर एक सय २८ स्कोर छ । सन्जयले पहिलो दिन दुई अन्डर ६६ र भुवनले चार अन्डर ६४ खेल्नुभएको थियो । कूल सात अन्डर एक सय २९ स्कोरका साथ सूर्य प्रसाद शर्मा तेस्रो, ६ अन्डर एक सय ३० स्कोरका साथ दीपक मगर चौथो तथा पाँच अन्डर एक सय ३१ को समान स्कोर बनाउन सफल भुवन नगरकोटी र रवि खड्का संयुक्त पाँचौँ स्थानमा हुनुहुन्छ । पहिलो दिन ६ अन्डर खेल्नु भएको रविले दोस्रो दिन एक ओभर ६९ मा चित्त बुझाउनुभयो । यसैगरी एमेच्योरतर्फ सुवास तामाङ शीर्षस्थानमा हुनुहुन्छ । सुवासको कूल तीन अन्डर एक सय ३३ स्कोर छ । एक सय ४२ स्कोर सहित सुरेस तामाङ दोस्रो स्थानमा हुनुहुन्छ । बुधबार ३६ होलको समाप्तिसँगै कूल ११ ओभर एक सय ४७ स्कोरसम्म खेल्ने २६ खेलाडी थप ३६ होलको फाइनल राउन्डमा प्रवेश गरेका छन् । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले आयोजना गरेको सूर्य नेपाल गल्फ टुर अन्तर्गत बर्षको छैटौँ स्पर्धामा २२ एमेच्योर सहित ५९ गल्फरको सहभागिता रहेको थियो । कूल पाँच लाख ४५ हजार पुरस्कार राशी रहेको चारदिने प्रतियोगितामा प्रोतर्फको विजेताले एक लाख, उपविजेताले ६५ हजार र तेस्रो हुनेले ४६ हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रोतर्फ फाइनलमा पुग्ने शीर्ष २१ खेलाडीलाई समेत आकर्षक नगद पुरस्कार प्रदान गरिने बताईएको छ । एमेच्योर तर्फको विजेताले आकर्षक ट्रफी हात पार्नेछन् ।
राष्ट्रिय बक्सिङ : चन्द्रकला र नाङजा सेमिफाइनलमा
काठमाडौँ, वैशाख ७ गते । नेपाल आर्मी क्लबकी चन्द्रकला थापा र एपिएफकी नाङजा बुढामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । बसन्तपुर डबलीमा जारी प्रतियोगितामा चन्द्रकलाले स्वस्तिका तिरुवा तथा नाङजाले लुम्बिनी प्रदेशकी जानकी थापामगरलाई पराजित गर्नुभयो । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको महिला ५१ केजीमा एपिएफकी सन्जुमाया थिङले कर्णाली प्रदेशकी आरती विक तथा नेपाल प्रहरीकी दिवाना शेर्माले गण्डकी प्रदेशकी अस्मिता थापालाई हराउँदै सेमिफाइनलमा स्थान बनाउनुभयो । महिला ६० केजीमा बाग्मती प्रदेशकी शशिकला राईले गण्डकीकी जोशिका श्रेष्ठ तथा आर्मीकी संगिता डंगोलले कर्णालीकी मनीषा मगरको चुनौती समाप्त पार्दै सेमिफाइनल यात्रा तय गर्नुभएको छ । यसैगरी पुरुष ६३ केजीमा प्रहरीका भूपेन्द्र थापामगरले मधेश प्रदेशका रावन अलीलाई पन्छ्याउदै सेमिफाइनलमा पुग्नुभएको छ । सोही स्पर्धामा एपिएफका सोनाम सार्की पनि सेमिफाइनलमा पुग्नुभएको छ । उहाँले गण्डकीका निश्चल गुरुङमाथि जित निकाल्नुभयो । पुरुष ६९ केजीमा प्रहरीका सनिल शाहीले एपिएफका विक्रम चौधरी तथा सुदूरपश्चिम प्रदेशका भरत चन्दले कर्णालीका प्रशान्त लामालाई पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गर्नुभयो । भूपेन्द्र र सनिल १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुनुहुन्छ । पुरुष ५२ केजीमा आर्मीका प्रेम चौधरीले गण्डकीका आकाश राना र प्रहरीका चन्द्रबहादुर थापाले प्रदेश १ का धर्मेन्द्र राई तथा ५७ केजीमा प्रहरीका शम्भु राजवंशीले प्रदेश १ का भुगोल लिम्बू र आर्मीका इन्द्र सुनारले कर्णालीका पारस शाहीलाई निराश पार्दै सेमिफाइनलमा स्थान बनाउनुभयो । पुरुष ७५ केजीमा आर्मीका दिपेश लामाले बाग्मतीका निश्चल विष्ट र मधेसका कोसिश श्रेष्ठले एपिएफका झलक रोक्का तथा ८१ केजीमा आर्मीका दीपक श्रेष्ठले एपिएफका साजन तामाङलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्नुभयो । पुरुष ९१ केजीमा एपिएफका रविन नेपालले मधेशका विजय राजभण्डारीलाई पाखा लगाउँदै सेमिफाइनलमा पुग्नुभयो । सोही स्पर्धामा गण्डकीका किरन विकले लुम्बिनीका केशर खत्रीवाट वाकओभर पाउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो ।