इन्टर मिलान शीर्षस्थानमा
इन्टर मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा इन्टरले एस रोमालाई ३–१ गोलले हरायो ।
बायर्न म्युनिख तीन खेल अगावै च्याम्पियन
जर्मन बुन्डेसलिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बोरुसिया डर्टमन्डलाई ३–१ गोलले हराउँदै बायर्न च्याम्पियन बनेको हो ।
पुलिसलाई महिला गोल्डकप उपाधि
प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
बक्सिङको पुरुष/महिला दुवैमा आर्मी च्याम्पियन
नेपाल आर्मीले पुरुष/महिला दुवैमा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको उपाधि शनिबार जितेको छ । पुरुषमा आर्मी पाँच स्वर्ण र दुई रजतसाथ च्याम्पियन बन्यो ।
रुस र बेलारुसका खेलाडीलाई विम्बल्डनमा प्रतिबन्ध
घाँसे मैदानमा खेलिने ग्रान्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनमा रुस र बेलारुसका खेलाडीले यस वर्ष खेल्न नपाउने भएका छन् अल इङ्गल्यान्ड क्लबले युक्रेनसँग युद्ध गरेको भन्दै रुस र बेलारुसका खेलाडीलाई यस वर्ष विम्बल्डनमा प्रतिबन्ध लगाएको हो ।
सरसफाइका लागि दौड
काठमाडौँ, वैशाख १० गते । मैनादेवी फाउन्डेसनको आयोजनामा राजधानीमा शनिबार सरसफाइ अभियानलाई समेत सहयोग पु¥याउने उदेश्येले ४ किलोमिटर सडक दौड सम्पन्न भएको छ । दौड काठमाडौँ हात्तिसारबाट सुरु भएर ज्ञानेश्वर, रातोपुल, सेतोपुल, डिल्लीबजार, बागबजार हुँदै पुनः हात्तिसारमा आएर टुङ्गिएको थियो । उक्त दौडमा चारसयभन्दा बढीको सहभागिता रहेको तथा सो दौडलाई व्यवस्थिति गर्न ८० जना स्वयमसेवी परिचालन गरिएको सरसफाइ अभियन्ता तथा मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले जानकारी दिनुभयो । समूहगत रुपमा आयोजना गरिएको उक्त दौडमा शीर्ष पाँच टोलीलाई दश–दश हजार रुपियाँ नगद सहित सम्मानित गरिएको बताइएको छ । राजधानीको सरसफाइलाई ध्यानमा राख्दै हरेक व्यक्तिले जथाभावी फोहर नगर्ने सस्कारको विकास गराउने सचेतना अभियानको रुपमा दौडको आयोजना गरिएको आयोजकको दावी रहेको छ ।
रशिलाद्वारा खेलमा जितेको पैसा अर्को खेलाडीको उपचारमा सहयोग
ब्याडमिन्टनकी राष्ट्रिय च्याम्पियन रशिला महर्जनले आर्थिक सहयोग गर्नुभएको छ । महर्जनले अर्का ब्याडमिन्टन जुनियर खेलाडी विवेक चौधरीको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको हो ।
पीवाईसी बिबिए कपमा १८ टोली
पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाख १३ गते देखि काठमाडौँमा ‘पीवाईसी बिबिए कप’ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
रोड रेसमा मुकेश र सन्तोषी पहिलो
मुकेशबहादुर पाल र सन्तोषी श्रेष्ठ तेस्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसको खुलातर्फ शनिबार पहिलो हुनुभएको छ ।
पाल्पा जिल्ला फुटबल सङ्घको अध्यक्षमा राणा विजयी
रेखीराम रानापाल्पा, वैशाख १० गते । पाल्पा जिल्ला फुटबल सङ्घको अध्यक्षमा प्रणयविक्रम राणा विजयी हुनुभएको छ । सङ्घको नेतृत्वका लागि भएको निर्वाचनमा निकतम् प्रतिद्वन्द्वी मनोहर थापालाई ४ मतले पराजित गर्दै राणा विजयी हुनुभएको हो । १५ मत रहेको पाल्पा जिल्ला फुटबल सङ्घमा राणाले नौ मत प्राप्त गर्नुभएको थियो भने थापाले ५ मत प्राप्त गर्नुभएको थियो । अध्यक्षमा एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ । यस्तै सङ्घको उपाध्यक्षमा मनोजमान लिगल, प्रज्वल उदय, कृष्ण सारु मगरले समान नौ मत पाउनुभएको थियो । निकटतम् अच्युत खनालले ६ मत पाएको निर्वाचन समितिले जनाएको छ । सङ्घको महिला सदस्यमा युकी गाहा विजय हुनुभयो । सदस्यहरूमा अनिष श्रेष्ठ, दिपेन्द्र खनाल, कृष्ण बहादुर बाकाबल, सुलभ कार्की, सुरज सारु, हरिबहादुर ज्ञवाली, दलबहादुर रास्कोटी, युवराज चिदी, अमृत बहादुर राना, सुजन थापा बिजयी हुनुभएको छ । सदस्य सबैले समान ९ मत पाउनुभएको थियो । नवनिर्वाचित अध्यक्ष राणाले फुटबलको विकास र खेलाडी उत्पादन, प्रतियोगिता आयोजनामा सक्रिय हुने बताउनुभयो । शुक्रबार भएको निर्वाचनमा एन्फाका केन्द्रीय सहमहासचिव प्रकाश पंगेनीले दुई वर्ष कोभिडले खेलकुदका गतिविधि सुस्ताए पनि आगामी दिनमा खेल गतिविधि बढ्ने बताउनुभयो ।
भूपेन्द्र बक्सिङको फाइनलमा
नेपाल पुलिस क्लबका भूपेन्द्र थापामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गर्नुभएको छ ।
नवौँ राष्ट्रिय र १९औँ एसियाडको खेल संख्या तय
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद र चीनमा भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा सहभागि खेलको संख्या तय गरेको छ ।
भुवनलाई च्यालेन्ज गल्फ उपाधि
सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिताको उपाधि भुवन नगरकोटीले जित्नुभएको छ ।
दुवै पुलिसको उपाधि जित्ने दाबी
काठमाडौँ, वैशाख ९ गते । कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीको एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच शनिबार राति प्रतिस्पर्धा हुँदैछ । धनगढी रङ्गशालामा हुने फाइनल खेलमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । शुक्रबार धनगढी रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका हुन् । उत्कृष्ट लयमा रहेको एपिएफकी कप्तान अनिता बस्नेतले उपाधि जित्नका लागि आफ्नो टोली तयार रहेको बताउनुभयो । ‘पहिलो पटक फर्डलाइटमा खेल्दा केही गाह्रो भइरहेको छ । तर हामी लय गुमाउने पक्षमा छैनौँ । महिला गोल्डपक पहिलो पटक भएको हुँदा यसले हामी सबैलाई उत्साहित बनाएको छ । हामी च्याम्पियन बन्न चाहन्छौँ,’ बस्नेतले भन्नुभयो । एपिएफएका प्रशिक्षक जनकसिंह थारुले पनि जित्नको लागि खेल्ने बताउनुभयो । ‘लिगमा पनि लगातार जितिरहेका छौँ । नकआउट प्रतियोगिता पनि जित्छौँ ।’ प्रशिक्षक थारुले भन्नुभयो–‘हामीले पुलिसलाई हराउँदै आएका छौँ । फेरि हराएर उपाधि जित्छौं ।’ एपिएफल सेमिफाइनलमा आर्मीलाई ३–२ गोलले हराएको थियो । नेपाल पुलिस क्लबले पनि उपाधि जित्ने दाबी गरेको छ । लामो समयपछि प्रतियोगिताको फाइनलमा पुगेकोले यस अवसरलाई सदुपयोग गर्ने पुलिसको भनाइ छ । पुलिसकी कप्तान घिमकुमारी गुरुङले जित्नको लागि खेल्ने बताउनुभयो । ‘हामी जित्नकै लागि खेल्छौँ । सबै जनाले सोही अनुसार तयारी गरेका छौँ,’ कप्तान गुरुङले भन्नुभयो । पुलिसका प्रशिक्षक सञ्जीव जोशीले पनि पुलिसको एउटै लक्ष्य उपाधि भएको दाबी गर्नुभयो । ‘धेरै वर्षपछि फाइनल पुगेका छौँ । मैदानमा केही समस्या छ । बललाई चाहे अनुसार खेलाउन गाहे भइरहेको छ । तर पनि खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन् । नतिजा पुलिसको पक्षमा आउनेमा आशावादी छु,’ जोशीले भन्नुभयो ।पुलिसले सेमिफाइनलमा आयोजक वीवाइसी क्लबलाई ३–० गोलले हराएर फाइनलमा स्थान बनाएको थियो । गोल्डकपको विजेताले ट्रफीसहित पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछ ।
जिम्बावेविरुद्ध खेल्ने नेपाली टाेलीको घोषणा
काठमाडौँ, वैशाख ९ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले जिम्बाब्वे ए विरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा जिम्बाब्वेरुद्ध खेल्ने एकदिवसीय र टी-२० क्रिकेट सिरिजका लागि २३ सदस्यीय राष्ट्रिय खेलाडी टोलीको घोषणा गरेको हो । क्यानले यही २३ खेलाडीबाट खेलकै दिन सुरुवाती ११ खेलाडी छनोट गर्ने पनि जनाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपालले जिम्बावे ए सँग वैशाख १७, १९ र २१ गते एकदिवसीय तथा वैशाख २३, २४ र २६ गते टी-२० सिरिज खेल्नेछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको तयारीका लागि जिम्बाब्वे ए सँग सिरिज खेल्न लागेको हो ।नेपालसँगको खेलका लागि जिम्बाब्वेले पनि टोलीको घोषणा गरेको छ । लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान , यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् । नेपाली टोली : सन्दीप लामिछाने (कप्तान) ,दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, विक्रम सोब र सुनिल धमला । जिम्बाब्वे टोली : क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोङग्वे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणी तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योङगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर र त्सिग्वागा तफाडजवा ।
बार्सिलोनाको जितमा औवामियाङको गोल
काठमाडौँ, वैशाख ९ गते । पिएरे इमरिक औवामियाङले निर्णायक गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले रियल सोसिडाडमाथि कठिन जित निकालेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई उसैको मैदानमा १–० गोलले हरायो । औवामियाङले ११औँ मिनेटमा गरेको गोल बार्सिलोनाको जितमा पर्याप्त बन्यो । बल पोसेसनमा अब्बल देखिएपनि रियल सोसिडाडले गोल फर्काउन सकेन । जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३२ खेलबाट ६३ अङ्क बनाएको छ । बार्सिलोना शीर्षस्थानमा रहेको रियल म्याड्रिडभन्दा १५ अङ्कले पछाडि छ । एक खेल कम खेलेको रियलको ७८ अङ्क छ । समान ६३ अङ्क बनाएको सेभिया गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ । बार्सिलोनासँग पराजित सोसिडाड ५५ अङ्कसहित छैटौँ स्थानमा छ । बिहीबार राति नै भएको अन्य खेलमा सेभियाले घरेलु टोली लिभान्लातेई ३–२, एथलेटिक बिल्बाओले काडिजलाई ३–२ र रायो भालेकानोले स्पान्योललाई १–० गोलले हरायो । एजेन्सी
महिला गोल्डकपमा दुई पुलिसबीच उपाधि भिडन्त
काठमाडौँ, वैशाख ९ गते । प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबलको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेभएको छ । धनगढी रंगशालामा बिहीबार राति भएको खेलमा पुलिसले आयोजक वनदेवी युवा क्लब (विवाइसी) लाई ३–० गोलले हराउँदै फाइनलमा एपिएफसँगको भेट पक्का गरेको हो ।एपएिफले यसअघि नै त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनलमा स्थान बनाएको थियो । पुलिसको जितमा निर्मला विकले दुई र रेखा पौडेलले एक गोल गर्नुभयो । पुलिसले सवै गोल दोस्रो हाफमा गरेको हो । दुई गोल गरेकी पुलिसकी निर्मला प्लेयर अफ दि म्याच हुनुभयो । फाइनल खेल शनिबार राति हुनेछ । विभागीय तीन सहित आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुीपयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
सौगात र पुरन सेमिफाइनलमा
काठमाडौँ, वैशाख ८ गते । गण्डकी प्रदेशका सौगात कुमाल र एपीएफका पुरन राई वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीमा बिहीबार सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको क्वाटरफाइनलमा सौगातले मधेश प्रदेशका अमन अली तथा पुरनले लुम्बिनी प्रदेशका निशम घर्तीमगरलाई पराजित गर्नुभयो । पुरुष ५२ केजीमा मधेसका मदनकृष्ण डंगोलले सुदूरपश्चिम प्रदेशका सन्दिप नाथ तथा एपीएफका प्रदीप महर्जनले बाग्मती प्रदेशका रोहित महर्जनलाई हराउँदै सेमिफाइनलमा पुग्नुभयो। पुरुष ६३ केजीमा नेपाल आर्मीका पुरन सुनुवारले बाग्मतीका मौसम राना मगर तथा लुम्बिनीका अनिल पुन मगरले सुदूरपश्चिमका महेन्द्र चन्दलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो । बसन्तपुर डबलीमा जारी प्रतियोगिताको पुरुष ६९ केजीमा आर्मीका दानबहादुर दर्लामीले लुम्बिनीका विकास राना मगरलाई पन्छ्याउँदै सेमिफाइनल यात्रा तय गर्नुभयो । सोही तौलसमूहमा बाग्मतीका शिरीश खनालले प्रदेश १ का अभिनय राईबाट वाकओभर पाउदै सेमिफाइनलमा पुग्नुभयो । पुरुष ७५ केजीमा कर्णाली प्रदेशका दिलराज भण्डारीले सुदूरपश्चिमका भूपेन्द्र बिसी तथा प्रदेश १ का सनम गुरुङले गण्डकीका निसान गुरुङको चुनौती समाप्त पार्दै सेमिफाइनलमा स्थान बनाउनुभयो। पुरुष ८१ केजीमा बाग्मतीका रोशन स्याङ्तान र सुदूरपश्चिमका श्यामबहादुर महता अन्तिम चारमा पुग्न सफल हुनुभयो । रोशनले मधेशका किरण लामा तथा श्यामले गण्डकीका मनीष बिसीमाथि जित निकाल्नुभयो। पुरुष ९१ केजीमा आर्मीका गणेश प्रधानले सुदूरपश्चिमका दिनेश भट्ट तथा प्रदेश १ का प्रसिश रुचालले बाग्मतीका उमंग महर्जनलाई निराश पार्दै सेमिफाइनलमा प्रवेश गर्नुभयो । यसैगरी महिला ५१ केजीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता आर्मीकी मीनु गुरुङ र लुम्बिनीकी माया खत्री केसी सेमिफाइनलमा पुग्नुभएको छ । मीनुले बाग्मतीकी अस्मिता दुवाल तथा मायाले सुदूरपश्चिमकी सोनिया शेठ्ठीलाई हराउनुभयो । महिला ५७ केजीमा नेपाल प्रहरीकी निशा तामाङले मधेशकी सुमिना खड्का तथा प्रदेश १ की सुस्मिता राईले गण्डकीकी सिमा गुरुङलाई पराजित गर्दै अन्तिम चारमा पुग्नुभयो । महिला ६० केजीमा एपीएफकी संगिता सुनारले प्रदेश १ की सम्झना देउलाबाट वाकओभर पाउदै सेमिफाइनलमा पुग्नुभयो । प्रदेश १ की नारिका राईले लुम्बिनीकी सुरक्षाकुमारी कुमाललाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो । महिला ६९ केजीमा लुम्बिनीकी जुनमाया थारुले कर्णालीकी अस्मिता चन्दलाई पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गर्नुभयो । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।
यू–१९ माहिला विश्वकपका लागि ४४ खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौँ, वैशाख ८ गते । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला यू–१९ विश्वकप छनोटको लागि ४४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । क्यानले बिहीबार पहिलो चरणको बन्द प्रशिक्षण क्याम्पमा ४४ खेलाडी बोलाएको हो । प्रधानमन्त्री कप राष्ट्रिय यू–१९ महिला क्रिकेटमा सहभागिता जनाएका उत्कृष्ट खेलाडीलाई बन्द प्रशिक्षण क्याम्पमा बोलाएको क्यानले जनाएको छ । बन्द प्रशिक्षण वैशाख १० गतेबाट सुरु हुनेछ । यू–१९ महिला विश्वकप सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुनेछ । यस विश्वकपमा १६ देशको सहभागिता रहनेछ । क्यानले बन्दप्रशिक्षणका लागि बेलाएको खेलाडीहरुमा हेलिषा गुरुङ, किरण कुमारी कुवर, त्रिशाना विश्वकर्मा, अनु कडायत, सावित्री धामी, आस्मा पुलामीमगर, जिज्ञासा थापा, रन्जु श्रेष्ठ, सना प्रविन, यशोदा बिष्ट, एलिशा यादव, बिमला मलाहा, अलिसा कुमारी कडायत, हिरामाया रोय, स्नेहा महरा र मनिषा उपाध्याय हुनुहुन्छ ।यसैगरी बिना थापा, अन्जिला थापा, मनिष चौधरी, बिपिषा शाही, जोत्सिका मरासिनी, कुसुम गोदार, यसु पाण्डे, जोति दनवार, मधु राउत, श्रीमी सिंह थारु, भावना कामति, सोनी पाख्रिन, प्रिया मलह, सोनिया थापा, मनिष रानामगर, दिक्षा पुरी, नितु घर्तीमगर, सुष्मिता भुषाल, सलिना सिलवाल, प्रतिमा शाह, स्वस्तिका बजगाईं, शृष्ठी जैशी, अन्जली शाह, कृतिका मराशिनी, निशा शाह, अंग पेम्बा, लिम्बु शेर्पा, टिका शाह र प्रज्ञा कटवाल पनि बन्द प्रशिक्षणमा पर्नुभएको छ ।
च्यालेन्ज गल्फमा भुवनको एकल अग्रता
काठमाडौँ, वैशाख ८ गते । सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिताको तेस्रो दिन भुवन नगरकोटीले एकल अग्रता लिनुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा जारी प्रतियोगितामा बिहीबार भुवनले ६ अन्डर ६२ खेल्नुभयो । ५४ होलको समाप्तिसँगै भुवनको कूल ११ अन्डर एक सय ९३ स्कोर छ । भुवनले दोस्रो स्थानमा रहनुभएका भुवन कुमार रोक्कालाई एक स्ट्रोकले पछि पार्नुभएको छ । बिहीबार दुई अन्डर ६६ खेल्नुभएको रोक्काको कूल १० अन्डर एक सय ९४ स्कोर छ । कूल नौ अन्डर एक सय ९४ स्कोरका साथ सन्जय लामा तेस्रो स्थानमा झर्नुभएको छ । अघिल्लो दिन शीर्षस्थान कब्जा गर्नुभएको लामाले बिहीबार इभनपार ६८ मा चित्त बुझाउनु भयो । दिनेश प्रजापती र दीपक थापामगर एक सय ९७ स्कोरका साथ संयुक्त चौथो स्थानमा हुनुहुन्छ । यसैगरी एमेच्योरतर्फ कूल ६ अन्डर एक सय ९८ स्कोरका साथ सुवास तामाङ उपाधि नजिक पुग्नुभएको छ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता सुवासले बिहीबार तीन अन्डर ६५ खेल्नुृभयो । दोस्रो स्थानमा रहन सफल सुरेस तामाङको कूल ११ ओभर दुई सय १५ स्कोर छ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । सूर्य नेपाल गल्फ टुर अन्तर्गत बर्षको छैटौँ स्पर्धाको यस प्रतियोगिताको पुरस्कार राशी पाँच लाख ४५ हजार रुपियाँ रहेको छ । प्रतियोगितामा प्रोतर्फको विजेताले एक लाख, उपविजेताले ६५ हजार र तेस्रो हुनेले ४६ हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रोतर्फ फाइनलमा पुगेका २१ खेलाडीलाई समेत आकर्षक नगद पुरस्कार प्रदान गरिने बताईएको छ । एमेच्योर तर्फको विजेताले आकर्षक ट्रफी हात पार्नेछन् ।
पीएसजी उपाधि नजिक
काठमाडौँ, वैशाख ८ गते । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई उसैको मैदानमा ३–० गोलले हरायो । पीएसजीको सहज जितमा केलियन एमबाप्पे, सर्जियो रामोस र मार्किन्हसले गोल गर्नुभयो । एकपक्षीय खेलमा एमबाप्पेले २८औँ मिनेटमा गोलको खाता खोल्नुभएको थियो । उहाँले अचरफ हाकिमीको पासमा गोल गर्नुभएको हो । पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले एन्जल डि मारियाको पासमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाउनुभयो । ७७औँ मिनेटमा डि मारियाकै पासमा कप्तान मार्किन्हसले गोल गर्दै पीएसजीलाई सजिलै जिताउनुभयो । दोस्रो हाफको इन्जुरी समयमा पीएसजी १० खेलाडीमा समेटिएपनि एन्जर्सले गोल फर्काएन सकेन । जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको ३३ खेलबाट ७७ अंक बनाएको छ । पीएसजीले दोस्रो स्थानको मार्सेलीभन्दा १५ अंकले अगाडि छ । दोस्रो स्थानमा रहेको मार्सेलीको ६२ अंक छ । पराजित एन्जर्स ३४ अंक सहित १४औँ स्थानमा छ । एजेन्सी
सिटी फेरि प्रिमियर लिगको शीर्षस्थानमा
काठमाडौँ, वैशाख ८ गते । म्यानचेस्टर सिटी फेरि इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा ब्राइटनलाई ३-० गोलले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो । सिटीलाई जिताउन रियाद महारेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक एक गोल गर्नुभयो । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा महारेजले ५३औँ मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाउनुभयो । ६५औँ मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि ८२औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई सहज जित दिलाउनुभयो । जितसँगै सिटीले शीर्षस्थान कब्जा गरेको सिटीले ३२ खेलबाट ७७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ७६ अंक छ । पराजित ब्राइटन ४० अंक सहित १०औँ स्थानमा छ । अर्को खेलमा चेल्सीलाई आर्सनलको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा चेल्सी आर्सनलसँग ४-२ गोलले पराजित भयो । एजेन्सी
उपाधि दौड बलियो बनाउँदै रियल म्याड्रिड
काठमाडौँ, वैशाख ८ गते । रियल म्याड्रिडले स्पेनिस ला लिगामा उपाधि दौड बलियो बनाएको छ । बुधबार राति भएको खेलमा रियलले ओसासुनालाई उसैको मैदानमा ३–१ गोलले हरायो । अनुभवी कप्तान करिम बेन्जेमाले दुई वटा पेनाल्टी मिस गरेपनि रियलले सहज जित निकालेको हो । रियलको जितमा डेभिड अलाबा, मार्को असेन्सियो र लुकास भाजक्वेजले गोल गर्नुभयो । ओसासुनाका एन्टी बुडिमिरले सान्त्वना गोल फर्काउनुभयो । रियलले १२औँ मिनेटमा डेभिड अलाबाको गोलबाट अग्रता लिएको थियो । तर, रियलको अग्रता एक मिनेट पनि टिकेन । १३औँ मिनेटमा एन्टी बुडिमिरले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । त्यसपछि ४५औँ मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई पुन अग्रता दिलाउनुभयो । बेन्जेमाले दोस्रो हाफमा दुई पेनाल्टी मिस गर्नुभएको थियो । बेन्जेमाको दुवै पेनाल्टीलाई ओसासुनाका गोलरक्षक सर्जियो हेरेराले बचाउनुभयो । इन्जुरी समयमा लुकासले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई सजिलै जिताउनुभयो । जितसँगै उपाधितर्फ लम्किएको रियलले शीर्षस्थानमा १७ अंकको अग्रता बनाएको छ । अब रियललाई उपाधिको जित्न पाँच खेलबाट चार अंक मात्त आवश्यक छ । रियलले अबको दुई खेलमै उपाधि जित्ने सम्भावना छ ।दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ६१ अंक तथा दुई खेल कम खेलेको बार्सिलोनाको ६० अंक छ । रियलसँग पराजित ओसासुना ४४ अंक सहित नवौँ स्थानमा छ । बुधबार रातिनै भएको खेलमा एट्लेटिको ग्रानाडासँग गोलरहित बराबरीमा रोकिएको हो । अर्को खेलमा गेटाफेले सेल्टा भिगोलाई २–० गोलले हरायो । एजेन्सी
कोपा इटालिया : युभेन्ट्स फाइनलमा
काठमाडौँ, वैशाद ८ गते । युभेन्ट्स कोपा इटालिया कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्सले फियोरेन्टिनालाई २–० गोलले हरायो ।युभेन्ट्स समग्रमा ३–० को जित निकाल्दै फाइनलमा पुगेको हो । यसअघि पहिलो लेगमा युभेन्ट्स १–० गोलले विजयी भएको थियो । युभेन्ट्सको सहज जितमा फेडरिको बर्नरडेस्ची र डानिलोले गोल गर्नुभयो । पहिलो र दोस्रो हाफमा समान एक एक गोल गरेको युभेन्ट्सले ३२औँ मिनेटमा फेडरिको बर्नरडेस्चीको गोलबाट अग्रता लिएको थियो । त्यसपछि इन्जुरी समयमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई फाइनमा लग्नुभयो । उपाधिको लागि युभेन्ट्सले इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । इन्टर मिलानले एसी मिलानलाई ३–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल मे ११ तारिख हुनेछ । एजेन्सी