महुरे–फोक्सिङटार सडक कालोपत्रको काम अन्यौलमा
सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार ९४९ किलोमिटर० सडक कालोपत्रको काम अलपत्र परेको छ । दिक्तेलबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त सडक कालोपत्र ठेकेदार कम्पनीको लापर्बाहीले अलपत्र परेको हो ।
‘छोरी र ज्वाइँले घर न घाटको बनाए’
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–६, फुलकाहा बस्ने ७५ वर्षीया सागरदेवी यादव आफ्नै छोरी र ज्वाइँले आफूलाई घर न घाटको बनाएको भन्दै न्यायका लागि भौँतारिरहनुभएको छ। उहाँले आफूलाई छोरा नभएकोले बुढेसकालमा छोरी र ज्वाइँले सेवा गर्लान् भनेको उनीहरूले नै उठिबास लगाएको बिलौना गर्दै दोषीलाई कारबाही गरी न्यायका लागि सबैलाई गुहार्नुभएको छ।
नियमित हवाई उडानबारे छलफल
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच आतबार साँझ पोखरामा भेटवार्ता भएको छ ।उहाँहरुबीच पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान सञ्चालनलगायतका विषयमा छलफल भएको बताइएको छ ।
गर्भवतीलाई निः शुल्क भिडियो एक्सरे सेवा
गोरखाको भीमसेन थापा गाउँपालिकाले वडावडामा पुगेर गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गरेको छ । गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने कालागि निःशुल्क भिडियो एक्सरे सेवा थालनी गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयोे ।
‘हुलाक टिकटले देशको सभ्यता जोगाएको छ’
गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापाले हुलाक टिकटले देशको सभ्यता झल्किने बताउनुभएको छ। पश्चिमाञ्चल फिलाटेलिक सोसाइटीले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले हुलाक टिकटमार्फत देश चिनाउन सफल भएको बताउनुभएको हो।
स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह
कोभिडको सङ्क्रमण बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार आवश्यक तयारीमा जुटेको छ । यसका लागि प्रदेशस्तरीय कोभिड–१९ नियन्त्रण निर्देशक समितिको बैठक बसेको छ। समितिको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ। बैठकले सबै सरकारी, गैरसरकारी कार्यालयहरू तथा मानिसको भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय र शिक्षण संस्था, धार्मिक स्थल र नियमित भीडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जन स्थलहरूका मास्क अनिवार्य र स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ।
वृक्षरोपण अभियान सुरु
पछिल्लो समय वर्षायामसँगै बाँके जिल्लाका विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रममा तीव्रता देखिएको छ। जिल्लाको कोहलपुर, नेपालगञ्ज, राँझा र खजुरा क्षेत्रमा वृक्षरोपण दिनहुँ भइरहेको छ। कोहलपुर क्षेत्रमा वृक्षरोपण गर्नका लागि सब–डिभिजन वन कार्यालय कोहलपुरले २७ हजार आठ सय बिरुवा वितरण गरेको छ। स्थानीय क्षेत्रमा बढीभन्दा बढी वृक्षरोपण गरी वातावरण जोगाउन तथा हरियाली बढाउन निःशुल्क रूपमा बिरुवा वितरण कार्यलाई तीव्रता दिइएको वन कार्यालय कोहलपुरका रेन्जर मानबहादुर थापाले बताउनुभयो। उहाँले कोहलपुरबाट विभिन्न आठ प्रजातिका बिरुवाहरू वितरण गरिएको जानकारी दिँदै वृक्षरोपण कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाइएको बताउनुभयो।
बाँदर हेरालुको प्रबन्ध
बाँदर आतङ्कले गुल्मीका किसान हैरान भएका छन् । जिल्लाका अधिकांश ठाउँमा बाँदरले मकै खाइदिने गरेको छ । बिहानदेखि बेलुकीसम्म बारीमै बसे पनि मकै जोगाउन मुस्किल परेको रेसुङ्गा नगरपालिका–र ९ उपल्लो तम्घासकी सीता मरासिनीले गुनासो गर्नुभयो । दुःख गरेर मकै लगाइयो, पाक्ने बेला बाँदरले खान थाल्यो, घरमा ल्याउन पाइने हो कि होइन भन्ने चिन्ता लागेको गुनासो उहाँको छ । धुर्कोट गाउँपालिका–४ जैसिथोक, सत्यवती–२ को चेहमी, पाहादी, सत्यवती–१ को अश्लेवा, चौरलगायतका दर्जनौँ ठाउँमा बाँदरले हैरानी पारेको छ ।
पाताल भूमेश्वर पदमार्ग निर्माण
बैतडीको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाताल भूमेश्वरसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको २५ लाख रुपियाँ आर्थिक सहयोगमा पाँच सय मिटर ढलान गरिएको पक्की बाटो निर्माण गरिएको हो ।
एक वर्ष थन्किए दुई विधेयक
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरेको ‘प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ एक वर्षदेखि प्रक्रियामै थन्किएका छन् । यी दुई विधेयकलाई प्रदेश सरकारले २०७८ सालमा प्रदेश सभामा दर्ता गरेको थियो । दुवै विधेयक प्रदेश मामिला तथा विधायन समितिमा थन्किएको छ । दफावार छलफल भई प्रतिवेदनसमेत तयार भइसकेको विधेयक प्रदेश सरकारको राय र सङ्घीय ऐन नआएका कारण समितिमै रहेको जनाइएको छ ।
‘विकासमा वन मन्त्रालय बाधक बन्दैन’
वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासको काममा वन मन्त्रालय बाधक नबन्ने बताउनुभएको छ। भरतपुर महानगरपालिकाको सभाहलमा आइतबार आयोजित विकास बहसमा मन्त्री यादवले कानुनी जटिलतालाई समाधान गर्दै विकासलाई प्राथमिकता दिने बताउनुभयो। उहाँले स्थलगत रूपमा अध्ययन गरी समस्याको वैकल्पिक समाधान खोज्ने गरेको बताउनुभयो। उहाँले चितवनको विकासमा वनले पारेको असरका विषयमा ध्यान गएको उपयुक्त तरिकाबाट निकास खोजिने जानकारी दिनुभयो।
काईनेटिक ढुङ्गा सहित बस्नेत पक्राउ
सुर्खेतको वीरेन्द्रनगरबाट अवैध खनिज पदार्थ (काईनेटिक ढुङ्गा)सहित आइतबार एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलका ३२ वर्षीय दिपकबहादुर बस्नेत रहेको छ ।
भरतपुरमा ओपीडी सेवा निःशुल्क
चितवनको भरतपुर केन्द्रीय अस्पतालले आइतबारबाट ओपीडी सेवा निःशुल्क गरेको छ। भरतपुर अस्पताल विकास समितिले शुक्रबार निर्णय गर्दै अर्को सूचना जारी नभएसम्मका लागि ओपीडी टिकटमा लाग्दै आएको सेवा शुल्क मिनाहा गरेको हो। अस्पतालले ओपीडी टिकटमा ३० रुपियाँ शुल्क लिँदै आएको थियो। महिला र स्वास्थ्य बीमा भएकालाई ओपीडी टिकट पाँच वर्षदेखि निःशुल्क थियो। बाँकी बिरामीलाई पनि आइतबारदेखि निःशुल्क गरिएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनुभयो।
कोसी अस्पतालमा बिरामीको चाप
निजी अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको सेवा बन्द गरेपछि विराटनगरको कोसी अस्पतालमा बिरामीहरूको चाप बढेको छ। स्वास्थ्य केन्द्रहरूबाट सिफारिस ल्याउने अधिकांश बिरामीले विराटनगरस्थित नोवेल मेडिकल कलेज र विराट मेडिकल कलेजबाट उपचार सेवा लिने गरेका थिए। निजी क्षेत्रका अस्पतालले बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य बीमा सेवा बन्द गरेपछि त्यहाँका बिरामी कोसी अस्पतालमै जान थालेका छन्। यस क्षेत्रका अरू दुईवटा ठूला अस्पतालबाट सेवा लिइरहेका सर्वसाधारण कोसीमा जान थालेपछि अस्पतालमा चाप बढेको हो।
मकालु क्षेत्रमा यार्सागुम्बा लोपोन्मुख
पछिल्लो समय मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा यार्सागुम्बा लोप हुँदै गएको छ । विगतमा लाखौँ रुपियाँ मूल्य बराबरको यार्सा सङ्कलन गरिए पनि पछिल्लो समय त्यस क्षेत्रमा यार्सा उम्रिन छोडेको हो । यस वर्ष मकालु गाउँपालिकाको यार्सा सङ्कलन क्षेत्रमा केही सङ्कलन गरिए पनि सिलिचोङ गाउँपालिका क्षेत्रमा भने नउम्रिएको बताइएको छ । यार्सागुम्बा सङ्कलनका लागि पुर्जी लिएर सङ्खुवा खोलाको शिर क्षेत्र पुगेका सिलिचोङ गाउँपालिका–१, शिसुवाखोलाका स्थानीय रित्तै फर्किनु परेको बताएका छन् । दुई हप्ता लगाएर यार्सा सङ्कलन क्षेत्रमा बसे पनि कतै उम्रेको नपाइएको यार्सा सङ्कलनमा गएर फर्कनुभएका सूर्य कुलुङले बताउनुभयो । “एक महिनाका लागि पुर्जी लिएका थियौँ, केही दिनमा उम्रिन्छ कि भनेर पर्खे पनि रित्तै फर्किनु प-यो,” कुलुङले भन्नुभयो । निकुञ्जले यार्सा सङ्कलनका लागि जेठ १० गतेदेखि असार ९ गतेसम्मका लागि सङ्कलन पुर्जी खुलाएको थियो ।
गाउँको विकास गर्नु मेरो सपना हो : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँको विकास गर्नु नै आफ्नो राजननीतिक सपना भएको बताउनुभएको छ । कांग्रेस क्षेत्र १ तनहुँद्वारा भानु नगरपालिका –६ मा आयोजित सभा तथा वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो ।
तातोपानी नाकाबाट २३३ प्रतिशतले राजश्व संकलन बृद्धि
आर्थिक बर्ष २०७८÷०७९ मा तातोपानी नाकाबाट लक्ष्यभन्दा दोब्बर राजश्व संकलन भएको छ । एक अर्ब ४६ करोड लक्ष्य राखिएकोमा तीन अर्ब ४२ करोड राजश्व संकलन भएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो ।
बाढी जोखिममा नाग्म बजार
मुगु कर्णाली र जुम्ला कर्णालीको दोभानस्थित कालीकोटको नाग्म बजार बाढीको उच्च जोखिममा परेको छ । बजारसँगै धार्मिकस्थल कृष्ण मन्दिरसमेत जोखिममा परेको छ । कर्णालीको माथिल्लो हिमाली क्षेत्रमा अत्यधिक वर्षा भएकाले कर्णालीमा बाढी आएको हुँदा दोभानमा डुबान र बाढीको जोखिम बढेको हो । जुम्ला कर्णालीभन्दा मुगु कर्णालीमा पानीको बहाव निकै बढेको छ । कर्णाली प्रदेशको माथिल्लो हिमाली भेगमा अत्यधिक वर्षा भएको बताइएको छ ।
सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण
चौरजहारी नगरपालिकाले कार्यपालिकाको कार्यालयमा आउने सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण सुरु गरेको छ । कार्यालयको सार्वजनिक सेवा प्रवाहको अवस्था बारेमा जानकारी लिने उद्देश्यले सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले कार्यालयको सेवालाई प्रभावकारी बनाउन सेवाग्राही सन्तुष्टि सर्वेक्षण गर्न थालिएको बताउनुभयो ।
कैलालीमा लागूऔषध प्रयोगकर्ता बढ्दै
बर्दगोरिया गाउँपालिका–२ मा लम्कीचुहा नगरपालिका–१० का वसन्त डङ्गौरा एक ग्राम २०० मिलिग्राम लागूऔषधसहित साउन २ गते साँझ पक्राउ परे । टीकापुर नगरपालिका–१, वनगाउँका २९ वर्षका सुरज पुनमगरको साथबाट साउन १ गते एक ग्राम ८५० मिलिग्राम खैरो हिरोइन फेलाप¥यो । मगरले २६ वटा स–साना पोका बनाई चुरोटको बट्टामा लुकाएर राखेको अवस्थामा प्रहरीले फेलापारेको थियो ।
शेर्पा कलाकार सङ्घको अध्यक्षमा कुङगा निर्वाचित
शेर्पा कलाकार सङ्घको अध्यक्षमा कुङगा शेर्पा निर्वाचित हुनु भएको छ । संघको सम्पन्न दोस्रो महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा साङगे शेर्पा, उपाध्यक्षमा दावा शेर्पा, महासचिवमा लमु शेर्पा, कोषाध्यक्षमा पल्मु शेर्पा निर्वाचित हुनुभएको छ ।
काभ्रेमा कोरोना सङ्क्रमण बढ्दै
यहाँ दैनिक कोरोना सङ्क्रमणदर बढिरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा १०३ जनामा गरिएको परीक्षणमा २० मा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच सङ्क्रमित फेला परेको हो । कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना सङ्क्रमण देखिएको छ । १३ स्थानीय तहमध्ये सात तहमा सङ्क्रमण देखिएको छ । यसमध्ये सबैभन्दा बढी सदरमुकाम धुलिखेल नगरपालिकामा १३ महिलासहित २६ मा सङ्क्रमण देखिएको हो ।
बाइस प्रतिशतको स्वास्थ्य बीमा
म्याग्दी स्वास्थ्य बीमा कार्यक्रम २२ प्रतिशत जनसङ्ख्याको पहुँचमा मात्रै पुग्न सकेको छ । २०७३ सालदेखि म्याग्दीमा यो कार्यक्रम लागू भएको हो । राज्यको नीतिअन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने संविधानमै उल्लेख छ । म्याग्दीमा स्वास्थ्य बीमा कार्यक्रम २०७३ पुस १३ गतेबाट लागू भएको थियो । यो कार्यक्रम लागू भएको छैटौँ वर्ष चल्दै गर्दा अझै पनि जिल्लाका २५ प्रतिशत नागरिकले त्यसको सुविधा लिन पाएका छैनन् । अहिले स्वास्थ्य बीमा कार्यक्रम नेपालमा ७७ जिल्लामा लागू भएको छ ।
पुरानो अस्पतालमा बेथिति
पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पताल अहिले बेथितिको अखडा बनेको छ । जिल्लाको सबैभन्दा पुरानो अस्पतालका रूपमा रहेको पृथ्वीचन्द्र अस्पताल सेवा प्रवाह, अस्पतालको व्यवस्थापन, सुशासन र प्रशासन व्यवस्थापन सबै हिसाबले जिल्लाकै बेथितिको अखडा बनेको मिडिया एसोसिएसन नवलपरासीका अध्यक्ष बेचु गौडले बताउनुभएको छ ।