• १८ असार २०८१, मङ्गलबार

वृक्षरोपण अभियान सुरु

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, साउन ९ गते  । पछिल्लो समय वर्षायामसँगै बाँके जिल्लाका विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रममा तीव्रता देखिएको छ। जिल्लाको कोहलपुर, नेपालगञ्ज, राँझा र खजुरा क्षेत्रमा वृक्षरोपण दिनहुँ भइरहेको छ। 

कोहलपुर क्षेत्रमा वृक्षरोपण गर्नका लागि सब–डिभिजन वन कार्यालय कोहलपुरले २७ हजार आठ सय बिरुवा वितरण गरेको छ।  स्थानीय क्षेत्रमा बढीभन्दा बढी वृक्षरोपण गरी वातावरण जोगाउन तथा हरियाली बढाउन निःशुल्क रूपमा बिरुवा वितरण कार्यलाई तीव्रता दिइएको वन कार्यालय कोहलपुरका रेन्जर मानबहादुर थापाले बताउनुभयो।  उहाँले कोहलपुरबाट विभिन्न आठ प्रजातिका बिरुवाहरू वितरण गरिएको जानकारी दिँदै वृक्षरोपण कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाइएको बताउनुभयो। 

उहाँका अनुसार अमला एक हजार तीन सय, मसला १३ हजार, अम्बा तीन हजार, बकाइनु छ हजार, शिरीष एक हजार, जामुन ९८०, कोइरालो एक हजार ३२० र शीतलचिनी एक हजार दुई सय बिरुवा वितरण गरिएको छ।

व्यक्तिगत प्रयोजनका लागि २५ वटा र संस्थागत तथा बृहत् वृक्षरोपणका लागि माग र आवश्यकताअनुसार बिरुवा वितरण गर्ने कार्य भइरहेको छ। वन कार्यालयको लक्ष्य ६० हजार बिरुवा वितरण गर्ने रहेको छ। 

लक्ष्य पूरा नहुन्जेलसम्म बिरुवा वितरण जारी राखिने समेत वन कार्यालय कोहलपुरले जनाएको छ। लामो समयसम्म वर्षा नभएकाले पनि बिरुवा लिने व्यक्ति वा संस्थाहरू केही कम आएको रेञ्जर थापाले बताउनुभयो।

केही महिना अघिसम्म दैनिक सयदेखि डेढ सय बिरुवा वितरण भइरहेको थियो। वर्षा सुरु भएपछि तीन सयदेखि पाँच सय जति बिरुवा वितरण भइरहेको दाबी छ। सो बिरुवा डिविजन वन कार्यालय बाँकेको सहयोगमा उत्पादन हुने गरेको छ।