काठमाडौँ, चैत १ गते । राजनीतिक दलहरूको आयको महत्वपूर्ण हिस्सा चन्दा तथा सहयोग रकम अपारदर्शी बनेको छ । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस, दोस्रो ठुलो दल नेकपा (एमाले), चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले चन्दा तथा सहयोगबाट उल्लेख्य आम्दानी गरेका छन् तर लेखा परीक्षण प्रतिवेदन बुझाउँदा कुनै पनि दलले चन्दा दिनेको नाम खुलाएका छैनन् । कानुनले त्यस्तो आम्दानीको स्रोत र २५ हजार रुपियाँभन्दा बढी चन्दा दिनेको नाम खुलाउनुपर्ने व्यवस्था गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) ले आव २०७९/८० को विवरण बुझाउँदा चन्दा दिनेको नाम र सहयोग राशि खुलाए पनि गत आवको प्रतिवेदनमा सो विषय लुकाएको छ । राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ३८ मा दलले कुनै व्यक्ति वा सङ्गठित संस्थाबाट २५ हजार रुपियाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्किङ ट्रान्सफर वा चेकमार्फत मात्र गर्नुपर्ने व्यवस्था छ ।
सोही दफामा आर्थिक सहयोगसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने उल्लेख छ । दलसम्बन्धी ऐनसँग सम्बन्धित अनुसूची २ ले २५ हजार रुपियाँभन्दा बढी चन्दा दिनेको नाम, थर, वतन वा संस्थागत परिचय उल्लेख गर्ने विवरणसँग सम्बन्धित छ ।
राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन बुझाउँदा चन्दा तथा सहयोग र विशेष आर्थिक सहयोग शीर्षक अन्तर्गतको कुल आम्दानी उल्लेख गरेका छन् तर चन्दा तथा सहयोग दिनेको नाम उल्लेख गरेका छैनन् । दलले अनुसूची ३ अन्तर्गत गरेको आम्दानीलाई भने शीर्षकगत रूपमै राखेका छन् । अनुसूची ३ प्रकाशन बिक्रीबापत भएको आम्दानीसँग सम्बन्धित छ ।
दलहरूले निर्वाचन आयोगमा बुझाएका विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेका छन् । सो विवरण अनुसार नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०/८१ मा एक करोड ७३ लाख ९४ हजार ४३९ रुपियाँ चन्दा तथा सहयोगबाट आम्दानी गरेको छ । यसअघि कांग्रेसले यस शीर्षकमा दुई करोड ६५ लाख ६४ हजार ५७७ रुपियाँ आम्दानी गरेको थियो ।
नेकपा (एमाले) ले विशेष आर्थिक सहयोग अन्तर्गत आव २०८०/८१ मा ६२ लाख २४ हजार ५२० रुपियाँ आम्दानी गरेको छ । आव २०७९/८० मा सो दलले आर्थिक सहयोग शीर्षकमा पाँच करोड छ लाख ६८ हजार १७८ रुपियाँ आम्दानी गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले आव २०८०/८१ मा एक करोड १५ लाख ७२ हजार ३९६ रुपियाँ चन्दा तथा सहयोगबाट प्राप्त गरेको छ । सो दलले स्थापनाको पहिलो वर्ष भने एक करोड ८६ लाख २५ हजार ८१५ रुपियाँ चन्दा तथा सहयोगबाट प्राप्त गरेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनले लिन नहुने स्वेच्छिक आर्थिक सहयोगको रकम कुनै दलले प्राप्त गरेको प्रमाणसहितको उजुरी परेमा वा अन्य कुनै स्रोतबाट जानकारी प्राप्त गरेमा वा दलले त्यस्तो रकम प्राप्त गरेको छ भनी विश्वास गर्नुपर्ने मनासिब कारण भएमा आयोगले त्यससम्बन्धमा तोकिएबमोजिम जाँचबुझ गर्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगको जाँचबुझबाट दलले त्यसरी रकम प्राप्त गरेको देखिएमा त्यस्तो रकम आयोगमा दाखिला गर्न सम्बन्धित दललाई आदेश दिने उल्लेख छ । राजनीतिक दलले यसअघि राजनीतिक नियुक्ति शीर्षकमा समेत आम्दानी जनाएको थियो । त्यसयता दलले कुल आम्दानी उल्लेख गरे पनि सहयोग दिनेको नाम र शीर्षक उल्लेख गर्न चाहेनन् ।
नेकपा (माओवादी केन्द्र) ले सार्वजनिक गरेको विवरण अनुसार १० हजार मात्र उसले चन्दाबाट सहयोग प्राप्त गरेको छ । चन्दा तथा सहयोगबाट सबैभन्दा बढी नेकपा (एकीकृत समाजवादी) ले आम्दानी गरेको छ तर सो दलले पनि चन्दा तथा सहयोगको विवरण पारदर्शी गरेको छैन ।
एकीकृत समाजवादीका अनुसार आव २०८०/८१ मा सो दलले तीन करोड ११ लाख ५९ हजार १४५ रुपियाँ आम्दानी गरेको छ, जसमध्ये संस्थागत सहयोग एक करोड ४५ लाख र व्यक्तिगत सहयोग करिब एक करोड ६६ लाख छ ।