रमेश विश्वकर्मा
गुल्मी, चैत १ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि गुल्मीको एक क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नेविसङ्घले विद्यार्थी नेता सुदीप खत्रीलाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएको छ । विद्यार्थी नेता खत्री स्वतन्त्र विद्यार्थी युनियन रेसुङ्गा बहुमुखी क्याम्पसका सचिव हुनुहुन्छ ।
उहाँ यस क्याम्पसमा व्यवस्थापन सङ्कायतर्फ चौथो वर्षमा अध्ययनरत हुनुहुन्छ । अनुशासनलाई विशेष ख्याल गरेर आफ्नो अध्ययनलाई निकै मेहनती र लगनशीलताका साथ अगाडि बढाउनु भएका खत्रीको नाम स्ववियु निर्वाचनका लागि अध्यक्ष पदमा आज (बिहीबार) सार्वजनिक गरिएको नेविसङ्घ गुल्मीका अध्यक्ष सिजन रानाले जानकारी दिनुभयो । क्याम्पसलाई हरेक ढङ्गबाट अब्बल बनाउन नेविसङ्घले हरदम प्रयत्न र आवाज उठाउँदै आएको छ ।
शिक्षामा भएका विकृतिको अन्त्य तथा समयानुकुल प्राविधिक शिक्षा सञ्चालन र विद्यार्थीको हकहितका लागि नेविसङ्घले निरन्तर आवज उठाएको उहाँले बताउनुभयो । विद्यार्थीको हकहितका लागि नेविसङ्घले विगतदेखि नै आवाज उठाउँदै आएकाले आगामी दिनमा पनि समयानुकुल शिक्षा प्रवाहका लागि निरन्तर आवाज उठाउने स्ववियु अध्यक्ष उम्मेदवार खत्रीले बताउनुभयो । पुर्कोटदहस्थित जनज्योति बहुमुखी क्याम्पसमा नेविसङ्घका गङ्गा पन्थी निर्विरोध निर्वाचित हुनुभएको छ ।
यस जिल्लामा नेपाल विद्यार्थी सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबिच तालमेल भएको छ । दुई सङ्गठनले गरेको तालमेल अनुसार रेसुङ्गा बहुमुखी क्याम्पस, जनज्योति बहुमुखी क्याम्पस, चन्द्रकोट बहुमुखी क्याम्पस, मानका टीकाराम बहुमुखी क्याम्पस, सत्यवती बहुमुखी क्याम्पस र रुरु संस्कृत विद्यापिठमा नेविसङ्घले नेतृत्व लिने सहमति भएको हो ।
रिडी बहुमखी क्याम्पस, दिगाम आर्दश बहुमुखी, रुद्रावती बहुमुखी क्याम्पस, धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस, शृङ्गेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुले लिने सहमति भएको छ । नेविसङ्घले नेतृत्व लिएका क्याम्पसहरुमा उपाध्यक्ष, सचिव र सहसचिव अनेरास्ववियुले लिने छ भने अनेरास्ववियुले नेतृत्व लिएका क्याम्पसहरूमा उपाध्यक्ष, सचिव र सहसचिव नेविसङ्घले लिने सहमति भएको हो ।
नेविसङ्घले नेतृत्व लिएका क्याम्पसहरूमा अध्यक्ष, कोषाध्यक्षसहित बहुमत सदस्य लिने र अनेरास्ववियुले नेतृत्व लिएका क्याम्पसहरूमा अध्यक्ष, कोषाध्यक्षसहित बहुमत सदस्य लिने बताइएको छ । त्यस्तै, रुद्रावती बहुमुखी क्याम्पसमा अनेरास्ववियुले नेतृत्व लिएपनि नेविसङ्घलाई बहुमत सदस्य दिने र सत्यवती बहुमुखी क्याम्पसमा नेविसङ्घले नेतृत्व लिए पनि अनेरास्ववियुलाई बहुमत सदस्य दिने सहमति भएको नेविसङ्घ गुल्मीका अध्यक्ष सिजन रानाले बताउनुभयो ।