• ८ जेठ २०८१, मङ्गलबार

पुरानो अस्पतालमा बेथिति

blog

गोपी ज्ञवाली 

नवलपरासी, साउन ८ गते ।  पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पताल अहिले बेथितिको अखडा बनेको छ । जिल्लाको सबैभन्दा पुरानो अस्पतालका रूपमा रहेको पृथ्वीचन्द्र अस्पताल सेवा प्रवाह, अस्पतालको व्यवस्थापन, सुशासन र प्रशासन व्यवस्थापन सबै हिसाबले जिल्लाकै बेथितिको अखडा बनेको मिडिया एसोसिएसन नवलपरासीका अध्यक्ष बेचु गौडले बताउनुभएको छ । 

वि.सं. १९६५ मा स्थापना भएको पृथ्वीचन्द्र अस्पतालमा आईसीयूका यन्त्रहरू आएको एक वर्ष हुन लाल्दा आईसीयू सञ्चालन हुनसकेको छैन, भेन्टिलेटरको सामग्री आएको भए पनि जडान हुन नसक्दा सामग्रीहरू बिग्रिँदै गएका छन् । यसैगरी अस्पताल परिसरभित्र सरसफाइको चरम अभाव, खानेपानीको यथोचित व्यवस्थाको अभाव छ । सरकारले दिने भनेका निःशुल्क औषधि बिरामीहरूले पाउने गरेका छैनन् । चौबीसै घण्टा सुविधा भएको भनिएको भए पनि साँझ र बिहान एक्स–रेको सेवा सेवाग्राहीहरूले पाउने गरेका छैनन् ।

गत वर्ष करिब २० लाख बराबरको म्याद नाघेका औषधिहरू अस्पताल प्रशासनले नष्ट गरेको थियो भने अस्पतालमा आउने बिरामीहरूले सरकारले सेवाग्राहीहरूलाई निःशुल्क उपलब्ध गराउने भनेका औषधिमध्ये आधी औषधि पनि अस्पतालमा नपाइने सेवाग्राहीहरूले बताउने गरेका छन् । जम्मा ८३ जना जनशक्तिको दरबन्दी रहेको जिल्ला अस्पतालमा अहिले १३ जना विशेषज्ञ डाक्टरको नै अभावमा धेरै शाखा सेवा दिनबाट वञ्चित रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र गुप्ताले बताउनुभयो । 

अध्यक्ष गुप्ताले आपूm केही महिना पहिला मात्र अस्पतालको अध्यक्षको जिम्मेवारीमा आएकाले अस्पतालका धेरै विषय बुझ्ने क्रममा रहेको भन्दै थप बोल्न चाहनुभएन । बिरामीहरूको सेवा सहयोगका लागिभन्दा पनि अस्पतालमा प्रभाव राख्ने केही कर्मचारी र केही स्थानीय राजनीतिकर्मीहरूको इच्छाका आधारमा अस्पतालमा काम हुने वा बेथितिको काम हुने गरेको एक जना सेवाग्राहीले बताउनुभयो । 

जिल्ला अस्पतालले वर्षौंदेखि अस्पतालको सार्वजनिक सुनुवाइ र लेखा परीक्षणसमेत नगरेको पाइएको छ । अस्पतालमा सुशासन र प्रशासनको समेत ठूलो समस्या रहेको पाइएको छ । अस्पतालमा गत वर्ष ल्याइएको एम्बुलेन्सको मूल्य एउटा देखाइएको भए पनि अत्यन्तै कमसल प्रकारको एम्बुलेन्स ल्याएर सञ्चालन गरिएको छ । अस्पतालको एम्बुलेन्स परासी अस्पतालमा ल्याएको दुई वर्षसम्म बिनानम्बर प्लेट नै चलेको थियो ।  

विभिन्न प्रकारका भवन निर्माण र मर्मतका लागि प्रदेश सरकार र केन्द्र सरकारबाट आएका ठूलाठूला रकममा समेत कागज मिलाएर काम गर्ने र आर्थिक हिनामिना गर्ने गरेको अस्पताललाई आरोप लाग्ने गरेको छ ।