• ३ साउन २०८१, बिहिबार

सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण

blog

मुसीकोट समाचारदाता

रुकुम पश्चिम, साउन ८ गते  । चौरजहारी नगरपालिकाले कार्यपालिकाको कार्यालयमा आउने सेवाग्राहीको सन्तुष्टि  सर्वेक्षण सुरु गरेको छ । 

कार्यालयको सार्वजनिक सेवा प्रवाहको अवस्था बारेमा जानकारी लिने उद्देश्यले सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले कार्यालयको सेवालाई प्रभावकारी बनाउन सेवाग्राही सन्तुष्टि सर्वेक्षण गर्न थालिएको बताउनुभयो । 

उहाँका अनुसार यस कार्यबाट सेवाग्राहीमैत्री कार्यसम्पादनमा सहयोग पुग्ने विश्वास लिइएको छ । आर्थिक वर्षको सुरुवातसँगै नगरपालिकाले सेवाग्राहीको सन्तुष्टि मापन गर्न थालेको हो । सर्वेक्षणमा महìवपूर्ण छवटा विषयलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ । 

नगरप्रमुख पुष्प बादीले सर्वेक्षण फाराममा सेवा प्राप्त गर्दाको सहजीकरण शैली, सेवाका लागि लागेको समय, कर्मचारीले गरेको व्यवहारको जवाफ लिने गरिएको बताउनुभयो । 

त्यसैगरी सेवा प्रवाहमा कर्मचारीले दिने आवश्यक सूचनाको स्पष्टता, सेवा प्रक्रिया र समग्रमा सेवा कस्तो रह्यो भन्ने विषयमा पनि सुझाव लिने गरिएको छ । कार्यालयको सेवा प्रवाह थप सुधारका लागि मौलिक सुझाव पनि दिन सकिने व्यवस्था छ । सेवाग्राहीको सन्तुष्टि मापनबाट पृष्ठपोषणसहित सेवा प्रवाहमा सुधार हुने अपेक्षा गरिएको नगरप्रमुख बादीले बताउनुभयो । 

सर्वेक्षणले सेवा प्रवाहको स्तर मापन गर्नेछ । प्राप्त सुझावका आधारमा सेवा प्रवाहलाई छिटो छरितो र व्यवस्थित बनाउन सकिने कार्यालयको विश्वास छ । 

सेवाग्राहीको सुझावलाई कार्यसम्पादनको मार्गदर्शन बनाइने नगरपालिकाले जनाएको छ । सेवाग्राही सन्तुष्टि सर्वेक्षण गर्ने कार्यले सुशासनको प्रत्याभूतिमा समेत सघाउ पुग्ने बताइको छ ।