• १३ साउन २०८१, आइतबार

सरकार विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा छ : अर्थमन्त्री पौडेल

blog

आइतबार मन्त्रालयमा स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका पदाधिकारीसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल।

काठमाडौँ, साउन १३ गते। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा रहेको बताउनुभएको छ।

आइतबार मन्त्रालयमा स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) सँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो।उहाँले विद्युत उत्पादनलाई बढाइ, धेरै भन्दा धेरै स्वदेशमै उपभोग बढाउने र बचेको विद्युत निर्यात गर्ने नीतिका साथ सरकार अघि बढेको बताउनुभयो।उहाँले ऊर्जा उत्पादकलाई डिस्करेज गर्नेतर्फ नभई इन्करेज गरेर अघि बढ्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘सरकारको पनि नीति र मेरो आफ्नो दृष्टिकोण पनि के हो भने हामीले ऊर्जा उत्पादकलाई डिस्करेज होइन इन्करेज नै गर्नुपर्छ।अहिलेको सभ्यताको, जीवनस्तरको, ह्युमन डेभलपमेण्ट इण्डेक्सको मापन गर्ने एउटा महत्त्वपूर्ण आधार परक्यापिटा इनर्जी कन्जुम्सन कति छ भन्ने पनि होला।कति डलर कमाउँछ भनेको जस्तै कति बिजुली खपत गर्छ ? भनेर पनि हेरिन्छ।त्यो पनि बढाउनुपर्ने छ।अर्को कुरा विद्युत उत्पादन गरी, अत्यधिक मात्रामा उपभोग गरेर बचेको बिजुली बेच्ने हाम्रो नीति हो।त्यसैले बिजुली पुग्यो भन्ने ठाउँमा हामी छैनौँ।अहिले पनि कहिले ल्याउनुपर्ने र कहिले बेच्नसक्ने अवस्थामा छौँ ।’’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले ऊर्जा उत्पादकहरूलाई आफ्नो मनोबल बढाइ विद्युत उत्पादनमा लाग्न आग्रह गर्नुभयो।