चौबीस मतदान केन्द्रमा आज मतदान
रौतहटको २४ वटा मतदान केन्द्रमा जेठ ४ गते बुधबार पुनः निर्वाचन हुनेभएको छ । स्थानीय तह चुनावअन्तर्गत वैशाख ३० गते रद्दभएको जिल्लाको छवटा पालिकाका १० वटा मतदान स्थलको २४ वटा मतदान केन्द्रमा पुनः मतदान गराउन निर्वाचन आयोगको आदेशानुसार जेठ ४ गते बुधबार निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले बताउनुभयो ।
पालिकाको अन्तिम परिणाम आउने क्रम जारी
मधेस प्रदेशअन्तर्गत जिल्लाका स्थानीय तहको अन्तिम मत परिणाम आउन थालेको छ । अहिलेसम्ममा एक नगरपालिका र चार गाउँपालिकाको मत परिणाम सार्वजनिकभएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशका सप्तरी, धनुषा, सर्लाही, सिरहाका केही स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षका अन्तिम परिणाम घोषणाभएको छ ।
रौतहटको २४ मतदान केन्द्रमा बुधबार पुनः मतदान हुने
सञ्जय कुमार मिश्रगौर, जेठ ३ गते । स्थानिय तह निर्वाचन अन्तर्गत वैशाख ३० गते स्थगित भएको रौतहट जिल्लाको २४ वटा मतदान केन्द्रमा जेठ ४ गते बुधवार पुनः निर्वाचन हुनेभएको छ । रौतहटको ६ वटा पालिकाकोे १० वटा मतदान स्थलको २४ वटा मतदान केन्द्रमा मतदान गराउन निर्वाचन आयोगले आदेश दिइएअनुसार जेठ ४ गते बुधवार निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले बताउनुभयो ।फतुआविजयपुर नपाको स्वास्थ्यचौकी मतदान स्थलको २ वटा मतदान केन्द्र, देवाहीगोनाही नपाको जनप्रिय प्रावि मतदान स्थलको २ मतदान केन्द्र, यमुनामाई गाउँपालिकाको श्री मावि भेडियाहीको मतदान स्थलको २ वटा, श्रीमावि चिकना जेठरहिया मतदान स्थलको ३ मतदान केन्द्रमा मतदान हुँदैछ ।यसैगरी, गढीमाई नपाको आदर्श प्रावि मतदान स्थलको २ मतदान केन्द्र, प्रावि लक्ष्मीपुर मतदान स्थलको २ मतदान केन्द्र, बौद्धीमाई नपाको कंकाली मतदान स्थलको २ मतदान केन्द्र, अजगैवी मतदान स्थलको ३ मतदान केन्द्र, इनरवा प्रावि मतदान स्थलको ३ मतदान केन्द्र र गरुडा नपाको शिवशंकर प्रावि मतदान स्थलको १ वटा मतदान केन्द्र गरी २४ वटा मतदान केन्द्रमा निर्वाचन हुँदैछ ।
धनुषाको १८ मध्ये पाँच पालिकाको मतपरिणाम सार्वजनिक
धर्बेन्द्र झा जनकपुरधाम, जेठ ३ गते । स्थानीय तह निर्वाचन अन्तर्गत धनुषाको १८ वटा पालिकामध्ये मंगलबार दिउँसो सम्ममा चार वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । मतपरिणाम सार्वजनिक भएको पाँच पालिकामध्ये दुईमा नेपाली काँग्रेस, दुईमा नेकपा (एमाले) र एक पालिकामा जनता समाजवादी पार्टीले जित हाँसिल गर्न सफल भएको छ । धनुषाको लक्ष्मिनियाँ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका भोगेन्द्र मिश्रले तीन हजार ७६५ मत ल्याएर निर्वाचित हुनुभएको छ । आफनो निकटतम प्रतिद्धन्दीभन्दा २६८ मत बढी ल्याएर उहाँ निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी जनता समाजवादी पार्टीका शत्रुधन यादवले तीन हजार ४९७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, उपाध्यक्षमा काँग्रेसकै फुलकुमारी यादव तीन हजार ६२८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्धन्दी जनता समाजवादी पार्टीका विमलाकुमारी यादवले तीन हजार ४६० मत प्राप्त गर्नुभएको छ ।धनुषाकै धनौजी गाँउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजकुमार साह दुई हजार २६२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका जीवेन्द्र झाले दुई हजार १६३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपाध्यक्षमा काँग्रेसकै रामवती देवीले दुई हजार ४३० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका रंजितादेवी मण्डलले एक हजार ९०१ मत प्राप्त गर्नुभयो । धनुषाको विदेह नगरपालिकाको प्रमुखमा एमालेका बेचन दास चार हजार ४१२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । आफनो प्रतिद्धन्दी नेकपा एकृकित समाजवादीका राजकिशोर रोहिता यादव भन्दा ९८५ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी एकृकित समाजवादीका यादवले तीन हजार ४२७ मत ल्याउनुभएको छ । त्यसैगरी उपप्रमुखमा एमालेकै आशा झा चार हजार ६५९ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका सीमादेवी महतोले दुई हजार ७८६ मत प्राप्त गर्नुभयो । धनुषाकै औरही गाँउपालिकाको अध्यक्षमा एमालेका उमाशंकरप्रसाद साहले तीन हजार ३२६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँ आफनो निकटतम प्रतिद्धन्दी काँग्रेसका उम्मेदवार व्रहमदेव यादवभन्दा ४०३ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्धवन्दी यादवले दुई हजार ९२३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपाध्यक्षमा एमालेकै पुनमकुमारी साहले दुई हजार ९९४ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्धन्दी काँग्रेसका रिंकुकुमारी मण्डलले दुई हजार ७९० मत प्राप्त गर्नुभएको छ । धनुषाको जनकनन्दनी गाँउपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका दिपिनदेव यादव तीन हजार १५७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्धन्दी काँग्रेसका सुरेश चौधरीले दुई हजार ७६८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपाध्यक्षमा काँग्रेसका कमला सहगलले दुई हजार ९९८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्धन्दी जनता समाजवादीका गीता सुढीले दुई हजार ८४० मत प्राप्त गर्नुभएको छ । घोषणा भएका बाहेकका पालिकामा मतगणना जारी रहेको र छिटै मतगणना सम्पन्न गर्ने पक्षमा निर्वाचन आयोग रहेको मधेश प्रदेश निर्वाचन कार्यलयका प्रमुख श्रीधर पन्थीले जानकारी दिनुभयो ।
भगवानपुर र विष्णुपुर गाउँपालिकामा एमाले विजयी
सन्तोष सुवेदीसिरहा, जेठ ३ गते । सिरहाको भगवानपुर र विष्णुपुर गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवारहरु उग्रनारायण यादव र सत्यनारायण यादव निर्वाचित हुनुभएको छ । उहाँहरुले निवर्तमान गाउँपालिका अध्यक्ष रहनुभएका वेचनप्रसाद यादव र जागेश्वर यादवलाई पराजित गरी निर्वाचित हुनुभएको हो । भगवानपुर गाउँपालिका एमालेका उग्रनारायण यादवले चार हजार ३०२ मत प्राप्त गर्नुभएको थियो भने उहाँको निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका वेचनप्रसाद यादवले तीन हजार २३९ मत प्राप्त गर्नुभएको थियो ।भगवानपुर गाउँपालिकाको उपाध्यक्षमा एमालेका रेखाकुमारी यादव तीन हजार ९६० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी जसपाका जिवछीदेवी यादवले तीन हजार २१० मत प्राप्त गर्नुभएको भगवानपुर गाउँपालिकाका निर्वाचन अधिकृत विकासकुमार रजकले जानकारी दिनुभयो । यसैगरी, विष्णुपुर गाउँपालिकाको अध्यक्षमा एमालेका सत्यनारायण यादवले निकटतम प्रतिद्वन्दीलाई ४१ मतले पछि पार्दै निर्वाचित हुनुभएको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले दुई हजार १५८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी जसपाका जागेश्वर यादवले दुई हजार ११७ मत प्राप्त गर्नुभयो । विष्णुपुर गाउँपालिकाका उपाध्यक्षमा भने जसपाकी गीताकुमारी सिंह निर्वाचित हुनुभएको छ । नवनिर्वाचित सिंहले दुई हजार २७२ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसकी चन्द्रकलाकुमारी यादवले एक हजार १६९ मत प्राप्त गर्नुभयो ।
धनौजी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेस निर्वाचित
धनुषाको धनौजी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार राजकुमार साह निर्वाचित हुनुभएको छ । जिल्लाको धनौजी गाउँपालिका अध्यक्षमा २ हजार २ सय ६२ मतले काँग्रेसका उम्मेदवार साह विजयी हुनुभएको हो ।
सर्लाहीको बलरा नगरपालिकामा माओवादी केन्द्र विजयी
सर्लाहीको बलरा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका रामाशङ्कर प्रसाद कुशवाहा विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अभय कुमार सिंहलाई एक हजार १२ मतले पछि पार्दै कुशवाहा नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।
स्थानीय तह निर्वाचन, कतै स्थगित कतै पुनः मतगणना
मधेस प्रदेशका जिल्लाको स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ । यहाँका स्थानीय तहमा केही स्थानमा मतगणना सम्पन्न भएको छ, केहीमा मतगणना स्थगित भएको छ भने मतगणना स्थगित भएका केही स्थानमा त्रुटि सच्याएर पुनः मतगणना सुरु भएको छ । यहाँका अधिकांश स्थानीय तहमा मतगणना जारी छ ।
मतगणना स्थलमा विवाद भएपछि प्रहरीद्वारा हवाई फायर
लक्ष्मी चौधरीजनकपुरधाम, जेठ २ गते । धनुषाको धनौजी गाउँपालिकामा मतगणना क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हवाई फायर गरेको छ । धनौजी वडा १ को लखौरी गाउँको मतगणनाका क्रममा मतपत्र बढी देखिएपछि विवाद उत्पन्न भएको स्थानीयले बताएका छन् । विवादले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन हवाई फायर गरेको थियो । यस्तै, गाउँपालिकाको ३, ४ र ५ को मतगणना सम्पन्न हुँदा तीनै वडामा काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । वडा नं. १ को मतगणनामा समेत काँग्रेसकै अग्रता देखिएका कारण अन्य पार्टीका कार्यकर्ताले मतगणना स्थलमा विवाद उत्पन्न गरेपछि सो विवादलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको निवर्तमान गाउँपालिका उपाध्यक्ष रामवती मण्डलले जानकारी दिनुभयो । मतगणना भइरहेको वडामा समेत काँग्रेसकै अग्रता देखिएको छ । गाउँपालिका अध्यक्षमा पनि काँग्रेसका उम्मेदवारले अग्रता लिएको मण्डलले बताउनुभयो । विवाद साम्य भएपछि सर्वदलीय बैठक बसिरहेको छ । दलहरुको निर्णयअनुसार मतगणना पुनः गरिने उहाँले जानकारी दिनुभयो । त्यहाँको अवस्था अहिले सामान्य रहेको छ ।उक्त गाउँपालिकामा वडा १ र २ मा मतगाणना हुन बाँकी छ । धनौजीमा जम्मा ५ वटा वडा छ । यसअघि पनि काँग्रेसकै अध्यक्ष एवम् उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।