• २६ वैशाख २०८१, बुधबार

धनुषाको १८ मध्ये पाँच पालिकाको मतपरिणाम सार्वजनिक

blog

धर्बेन्द्र झा 

जनकपुरधाम, जेठ ३ गते । स्थानीय तह निर्वाचन अन्तर्गत धनुषाको १८ वटा पालिकामध्ये मंगलबार दिउँसो सम्ममा चार वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । मतपरिणाम सार्वजनिक भएको पाँच पालिकामध्ये दुईमा नेपाली काँग्रेस, दुईमा नेकपा (एमाले) र एक पालिकामा जनता समाजवादी पार्टीले जित हाँसिल गर्न सफल भएको छ । 

धनुषाको लक्ष्मिनियाँ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका भोगेन्द्र मिश्रले तीन हजार ७६५ मत ल्याएर निर्वाचित हुनुभएको छ । आफनो निकटतम प्रतिद्धन्दीभन्दा २६८ मत बढी ल्याएर उहाँ निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी जनता समाजवादी पार्टीका शत्रुधन यादवले तीन हजार ४९७ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी, उपाध्यक्षमा काँग्रेसकै फुलकुमारी यादव तीन हजार ६२८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्धन्दी जनता समाजवादी पार्टीका विमलाकुमारी यादवले तीन हजार ४६० मत प्राप्त गर्नुभएको छ ।

धनुषाकै धनौजी गाँउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजकुमार साह दुई हजार २६२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका जीवेन्द्र झाले दुई हजार १६३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपाध्यक्षमा काँग्रेसकै रामवती देवीले दुई हजार ४३० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । 

उहाँको निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका रंजितादेवी मण्डलले एक हजार ९०१ मत प्राप्त गर्नुभयो । धनुषाको विदेह नगरपालिकाको प्रमुखमा एमालेका बेचन दास चार हजार ४१२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । आफनो प्रतिद्धन्दी नेकपा एकृकित समाजवादीका राजकिशोर रोहिता यादव भन्दा ९८५ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो । 

उहाँका निकटतम प्रतिद्धन्दी एकृकित समाजवादीका यादवले तीन हजार ४२७ मत ल्याउनुभएको छ । त्यसैगरी उपप्रमुखमा एमालेकै आशा झा चार हजार ६५९ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका सीमादेवी महतोले दुई हजार ७८६ मत प्राप्त गर्नुभयो ।  

धनुषाकै औरही गाँउपालिकाको अध्यक्षमा एमालेका उमाशंकरप्रसाद साहले तीन हजार ३२६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँ आफनो निकटतम प्रतिद्धन्दी काँग्रेसका उम्मेदवार व्रहमदेव यादवभन्दा ४०३ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्धवन्दी यादवले दुई हजार ९२३ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी उपाध्यक्षमा एमालेकै पुनमकुमारी साहले दुई हजार ९९४ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्धन्दी काँग्रेसका रिंकुकुमारी मण्डलले दुई हजार ७९० मत प्राप्त गर्नुभएको छ । धनुषाको जनकनन्दनी गाँउपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका दिपिनदेव यादव तीन हजार १५७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्धन्दी काँग्रेसका सुरेश चौधरीले दुई हजार ७६८ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी उपाध्यक्षमा काँग्रेसका कमला सहगलले दुई हजार ९९८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्धन्दी जनता समाजवादीका गीता सुढीले दुई हजार ८४० मत प्राप्त गर्नुभएको छ ।  घोषणा भएका बाहेकका पालिकामा मतगणना जारी रहेको र छिटै मतगणना सम्पन्न गर्ने पक्षमा निर्वाचन आयोग रहेको मधेश प्रदेश निर्वाचन कार्यलयका प्रमुख श्रीधर पन्थीले जानकारी दिनुभयो ।