• १६ चैत २०८०, शुक्रबार

मतगणना स्थलमा विवाद भएपछि प्रहरीद्वारा हवाई फायर

blog

लक्ष्मी चौधरी

जनकपुरधाम, जेठ २ गते । धनुषाको धनौजी गाउँपालिकामा मतगणना क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हवाई फायर गरेको छ । धनौजी वडा १ को लखौरी गाउँको मतगणनाका क्रममा मतपत्र बढी  देखिएपछि विवाद उत्पन्न भएको स्थानीयले बताएका छन् । 

विवादले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन हवाई फायर गरेको थियो । यस्तै, गाउँपालिकाको ३, ४ र ५ को मतगणना सम्पन्न हुँदा तीनै वडामा काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । वडा नं. १ को मतगणनामा समेत काँग्रेसकै अग्रता देखिएका कारण अन्य पार्टीका कार्यकर्ताले मतगणना स्थलमा विवाद उत्पन्न गरेपछि सो विवादलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको निवर्तमान गाउँपालिका उपाध्यक्ष रामवती मण्डलले जानकारी दिनुभयो । 

मतगणना भइरहेको वडामा समेत काँग्रेसकै अग्रता देखिएको छ । गाउँपालिका अध्यक्षमा पनि काँग्रेसका उम्मेदवारले अग्रता लिएको मण्डलले बताउनुभयो । विवाद साम्य भएपछि सर्वदलीय बैठक बसिरहेको छ । दलहरुको निर्णयअनुसार मतगणना पुनः गरिने उहाँले जानकारी दिनुभयो । त्यहाँको अवस्था अहिले सामान्य रहेको छ ।

उक्त गाउँपालिकामा वडा १ र २ मा मतगाणना हुन बाँकी छ । धनौजीमा जम्मा ५ वटा वडा छ । यसअघि पनि काँग्रेसकै अध्यक्ष एवम् उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।