• ५ जेठ २०८१, शनिबार

स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित

blog

इमानसिं राना

रामपुर (पाल्पा), वैशाख २३ गते । निस्दी गाउँपालिका–५, पीपल भञ्ज्याङ्गमा भएको स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी नागरिक लाभान्वित भएका छन् । एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट निस्दी गाउँपालिका ३, ४ र ५ का तीन सय १५ नागरिकले सेवा लिएका हुन् । 

शिविर जुनतारा समाज पीपल भञ्ज्याङ्ग र रोटरी क्लब अफ रामपुरको संयुक्त आयोजना तथा पाल्पा मेट्रोसिटी हस्पिटल प्रा.लि.रामपुर पाल्पाको प्राविधि सहयोगमा भएको थियो। शिविरको शुभारम्भ गर्दै निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले स्वास्थ्य शिविरले समय मै रोगको पहिचान गरी निराकरण गर्न सहयोग गर्ने बताउनुभयो । सहजै स्वास्थ्य सेवा प्राप्त गर्न पाउनु नागरिकको हक रहेको भन्दै पालिकामा १५ शैयाको अस्पताल निर्माण भैरहेको र स्वास्थ्य संस्थालाई थप व्यवस्थित बनाउने कार्य भैरहेको बताउनुभयो । 

निस्दी गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले शिविरले सेवासँगै स्वास्थ्य सचेतनामा सहयोग गरेको बताउनुभयो । जापानि नागरिक काजुमासा काकिमी ओके बाजेले सबैभन्दा ठूलो कुरा स्वास्थ्य रहेको बताउनुभयो । 

रोटरी क्लव अफ रामपुरका अध्यक्ष सागर प्रसाद देवकोटाले गाउँमा रहनुभएका नागरिकको सहजताका लागि शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । जनता आधारभूत विद्यालयमा भएको शिविरबाट निस्दी ३, ४ र ५ का विभिन्न टोलका तीन सय १५ जनाले सेवा प्राप्त गरेको जुनतारा समाजका अध्यक्ष तिलबहादुर राक्सेले जानकारी दिनुभयो ।

शिविरमा महिला तथा प्रसुती रोग, जनरल फिजिसियन, भिडियो एक्सरे, इसिजी, मधुमेह जाँच सेवा प्रदान गरिएको थियो । साथै निःशुल्क औषधी वितरण गरिएको छ । स्वास्थ्य परीक्षणका लागि आउनुभएका बिरामीमध्ये २० प्रतिशतमा उच्च रक्तचाप, ३० प्रतिशतमा मधुमेह, १० प्रतिशतमा पेट सम्बन्धी समस्या देखिएको पाल्पा मेट्रोसिटी हस्पिटल प्रा.लि.का सञ्चालक डाक्टर भीमसेन सुनारले जानकारी दिनुभयो । शिविरमा डा. भीमसेन सुनार संगै डा. रमेश यादव, डा. सञ्जीव रावल र डा. कामना धौबञ्जरसहितका स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नुभएको थियो ।