सर्लाहीको धनकौल गाउँपालिका अध्यक्षमा कांग्रेसका रामआश्रय साह विजयी
जनार्जन खत्री सर्लाही, जेठ २ गते । सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामआश्रय साह विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका फकिरा महतोलाई एक हजार ९९ मतले पछि पार्दै साह गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको धनकौलका निर्वाचन अधिकृत शिवदत्त बरालले गोरखापत्रलाई जानकारी दिनुभयो । साह गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । अध्यक्षमा विजयी साहले चार हजार ४७७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका महतोले तीन हजार ३७८ मत मात्रै प्राप्त गर्नुभएको छ । यस्तै, गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै अकली सहनी चार हजार ५०४ मत ल्याएर विजयी हुनुभएको छ । सहनी पनि गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुनुहुन्छ । उहाँकी प्रतिस्पर्धी माओवादी केन्द्रकी निलमकुमारी देवी सहनीले तीन हजार २२५ मत मात्रै ल्याउनुभएको छ । सातवटा वडा रहेको धनकौलमा नेपाली कांग्रेस चार, नेकपा माओवादी केन्द्र दुई र नेकपा एमाले एउटा वडामा विजयी भएका छन् । कांग्रेसले वडा नं. १, २, ४ र ७, माओवादी केन्द्रले वडा नं. ५ र ६ तथा एमालेले वडा नं. ३ मा जित निकालेको छ । यस्तै, सर्लाहीका अन्य १८ वटा पालिकामा अहिले मतगणना जारी रहेको छ । तीमध्ये बलरा नगरपालिका, रामनगर गाउँपालिका, हरिपुर नगरपालिकालगायतका केही पालिकामा सोमबार बेलुकासम्म अन्तिम नतिजा आइसक्ने सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन् । जिल्लाको बरहथवा नगरपालिकामा भने मङ्गलबार वडा नंं. १७ मा पुनः मतदान भएपछि मतगणना सुरु गरिने निर्वाचन अधिकृत दशरथ पङ्गेनीले बताउनुभयो ।
धनुषाको सात वडामा कांग्रेस विजयी
धनुषाको बिभिन्न पालिकाका ११ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये नेपाली कांग्रेसले सात ,नेकपा (एकीकृत समाजवादी)ले दुई तथा नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले एक/एक स्थानमा विजयी भएका छन् । कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १ र २ सहित मिथिला नगरपालिकाको वडा नम्बर १, धनुषाधाम नगरपालिका नम्बर १, मिथिला बिहारी नगरपालिकाको वडा नम्बर १, सबैला नगरपालिका वडा नम्बर १ र बटेश्वर गाउँपालिका–१ को वडाध्यक्षमा जित हासिल गरेको छ ।
धनुषाको १८ वटै पालिकामा मतगणना जारी
धर्बेन्द्र झा धनुषा, जेठ १ गते । धनुषाको १८ वटै पालिकामा मतगणना जारी रहेको छ । धनुषाको १० वटा पालिकामा नेपाली काँग्रेस, दुई वटामा नेकपा एमाले, दुईमा जसपा र लोसपा, एक वटामा माओवादी केन्द्र र एकमा स्वतन्त्र उम्मेदवारको अग्रता छ । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसबाट राजीनामा दिएर मेयर पदमा घन्टाघर चुनाव चिन्ह लिई स्वतन्त्र उम्मेदवारी दिनुभएका मनोजकुमार शाह अगाडि हुनुहुन्छ । शाहले १ हजार २ सय ६४ मतसहित अग्रता हासिल गर्नुभएको हो । उहाँलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार शिवशङ्कर शाह हीराले ६ सय ३८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, आँप चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार बलराम महतोले ३ सय ८० मत प्राप्त गर्नुभएको छ । उपमेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार किशोरी शाह १ हजार ३ सय ६२ मतसहित अग्र स्थानमा रहनुभएको छ भने उहाँलाई नेकपा एमालेका उम्मेदवार रुना झाले ६ सय ७५ मत ल्याई पछ्याउँदै हुनुहुन्छ । आँप चुनाव चिन्ह रहेका उपमेयर पदका स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ५ सय ५ मत प्राप्त गर्नुभएको छ । जनकपुरधाम उपमहानगरपालिकामा रहेको २५ वडामध्ये आईतबार चार बजेसम्ममा २ वटा वडाको मत परिणाम मात्र सार्वजनिक भएको छ । जनकपुरधाम उपमहानगरपालिका १ मा नेपाली काँग्रेसका दीपनारायण यादवले एक हजार १४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका लभ अधिकारीले ५४१ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी, वडा नम्बर २ मा नेपाली काँग्रेसका शिवकुमार शाहले ६६१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एसका अशोक गुप्ताले २९५ मत ल्याउनुभएको हाे । वडा नं.३ मा तमलोपाका दीपेन्द्र शाह विजयी भए पनि औपचारिक घोषणा हुन बाँकी छ । जिल्लाभरिमा मतगणनाको क्रम निक्कै सुस्त भएकाले मत परिणाम आउनमा ढिलाइ भएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले दिनुभएको जानकारी अनुसार कमला नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका सरददेव यादव, क्षिरेश्वरनाथ नगरपालिका १ मा नेपाली काँग्रेसका मुवारक कवाडी, नगराईन नगरपालिका १ मा नेपाली काँग्रेसबाट सीताराम महतो, बटेश्वर गाँउपालिका १ मा नेपाली काँग्रेसका अशोककुमार महतो, मिथिला नगरपालिका १ मा नेपाली काँग्रेसका जोगी महतो, लक्ष्मीनियाँ गाँउपालिका १ मा नेकपा एमालेका दिलिप यादव, २ मा नेकपा एमालेकै लालजी साह तेली, विदेह नगरपालिका १ मा नेकपा एमालेका सञ्जय पाण्डे, वडा नं.२ मा रामपुकार सहनी, शहीदनगर नगरपालिका १ मा नेपाली काँग्रेसका तेजीलाल यादव र हंसपुर नगरपालिका १ मा जसपाका रामदेव कापर विजयी हुनभएको छ ।
वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता
पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले एक हजार ३६३ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धामा नेकपा (एमाले)का विजयकुमार सरावगीले ६५९ मत प्राप्त भएको छ । हाल वडा नं १, २, ३१ र ३२को मतगणना जारी छ । हालसम्म कूल तीन हजार ६७ मत मतगणना भएको छ । मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन समय लाग्ने बताइएको छ ।
बरहथवा नगरपालिका-१७ मा पुनः मतदान हुने
सर्लाहीको बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिनुभयो ।
महोत्तरीको बर्दिवास–८ मा माओवादी विजयी
महोत्तरीको वर्दिवास नगरपालिकामा नेकपा माओवादीले मात्र ९ मतको झिनो अन्तरले पहिलो खाता खोलेको छ ।
सर्लाहीको अठार पालिकामा मतगणना जारी, दुईवटामा अन्यौलता
देशभरमै सबैभन्दा बढी स्थानीय तह रहेको सर्लाहीमा २० स्थानीय तहमध्ये १८ वटामा मतगणना चलिरहेको छ । शनिबार अपरान्हसम्म बरहथवा नगरपालिका र कौडेना गाउँपालिकामा भने मतगणना सुरु हुन सकेको छैन् ।
मलङ्गवा नगरपालिका १ को वडाध्यक्षमा काँग्रेसका यादव ११ मतले विजयी
जनार्जन खत्रीसर्लाही, वैशाख ३१ गते । सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका वडा नं. १ को वडाध्यक्षमा नेपाली काँग्रेसका नवलकिशोर यादव विजयी हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजकिशोर राय यादवलाई ११ मतको झिनो अन्तरले पराजित गर्दै यादव वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । सो वडामा नेपाली काँग्रेसको प्यानल नै बिजयी भएको छ । वडाध्यक्षमा निर्वाचित हुनुभएका नवलकिशोरले ४२३ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी राजकिशोरले ४१२ मत ल्याउनुभएको छ । वडा नं. १ को मतगणना सकिँदा नगरप्रमुखमा पनि काँग्रेसले नै अग्रता लिएको छ । काँग्रेसका नागेन्द्र रायले ४५५ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी जसपाका निरसल साहले ३६६ मत ल्याउनुभएको छ । उपप्रमुखमा काँग्रेसकै सकुन्तलादेवीले ४१८ मत ल्याउँदा जसपाकी पानोदेवीले ३७३ मत ल्याउनुभएको छ । मलङ्गवामा काँग्रेसले वडाध्यक्षमा चुनाव जित्दै खाता खोलेको हो । जिल्ला समन्वय समिति मलङ्गवाको सभा हलमा मतगणना जारी रहेको छ ।
वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु
पर्सामा मधेस प्रदेशको एकमात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीन वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । १४ वटा पालिकामध्ये हालसम्म सात वटा पालिकामा मात्र मतगणना सुरु भएको हो ।