गाँजा नष्ट अभियान
कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा प्राकृतिक रूपमा रहेका गाँजाका बोट फँडानी सुरु गरिएको छ। नागरिक समाज, स्थानीय प्रहरीको सहभागितामा अभियानकै रूपमा गाँजा फँडानी थालिएको हो। हुम्ला समाचारदाताका अनुसार जिल्ला प्रहरी कार्यालयले सदरमुकाम सिमकोट क्षेत्रको गाँजाका बोटहरू नष्ट गरेको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले गाँजाका बोटहरू फँडानी गरेको हो। प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले हुम्लामा गाँजा प्रशस्त उत्पादन हुने र त्यसलाई प्रहरीले अभियानकै रूपमा नष्ट गर्न लागेको जानकारी दिनुभयो। उहाँले प्रहरीले दुई दिनमै १९ हजारभन्दा बढी गाँजाका बोट नष्ट गरेको जानकारी दिनुभयो। सदरमुकाममा सिमकोट विमानस्थल, कालासिल्सा, मानसरोवर माध्यमिक विद्यालय, शिव मन्दिरलगायतका क्षेत्रमा नियमित रूपमा प्रहरीले गाँजा नष्ट गरिरहेको बताइएको छ। यस कार्यका लागि ३० जना प्रहरी खटिएको जनाइएको छ।
एकहत्तर प्रतिशत मुद्दा फैसला
जिल्ला अदालत डोल्पामा ७१ प्रतिशत मुद्दा फस्र्योट भएका छन्। जिम्मेवारी सरेर आएका र आर्थिक वर्ष ०७८/७९ मा दर्ता भएका गरी ७१ प्रतिशत मुद्दा फस्र्योट भएका हुन्। जिल्ला अदालत डोल्पाका न्यायाधीश केशवराज चपाईका अनुसार अघिल्लो आर्थिक वर्षमा जिल्ला अदालत डोल्पामा जम्मा ६३ वटा मुद्दा दर्ता भएकामा ४५ मुद्दा मात्र फस्र्योट भएका थिए। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ३५ थान मुद्दासहित ४५ थान मुद्दा फस्र्योट भएको जिल्ला अदालत डोल्पामा अब भने १८ थान मुद्दा मात्र फैसला हुन बाँकी रहेको जनाइएको छ।
पाँचौँ पटक सडकको रुट फेरियो
राप्ती लोकमार्गको सल्यान–रुकुम सडकखण्डअन्तर्गत जिल्लाको त्रिवेणी गाउँपालिका–३ र ६ नम्बर वडास्थित ढाँरेगैराको रुट २२ वर्षमा पाँचौँ पटक फेरिएको छ । पटक पटक एउटै स्थानमा रुट फेर्दा सडक छेउका जग्गा सखाप भएको स्थानीय बासिन्दाले बताएका छन् ।
विस्थापित शिक्षकको पुनर्नियुक्ति
दस वर्षे सशस्त्र द्वन्द्व र जनआन्दोलनका कारण शिक्षण पेसाबाट विस्थापित दैलेखका १४ जना शिक्षकलाई पुनः नियुक्ति दिइएको छ । सशस्त्र द्वन्द्व र जनआन्दोलनका बेला हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली र क्षतिपूर्ति दिने नेपाल सरकारको निर्णयअनुसार शिक्षकलाई पुनः नियुक्ति दिइएको हो । पुनःनियुक्ति पाएका शिक्षकमध्ये भरतकुमारी शर्मा संविधान सभाको सदस्य हुनुहुन्छ । त्यस्तै कर्णबहादुर बस्नेत, गणेश सलामीलगायत राजनीतिक दलको केन्द्रीय सदस्यसमेत भइसक्नुभएको छ ।
फालिए अक्सिजन सिलिन्डर
कालीकोटमा कोरोना महामारीको चरम सङ्क्रमणका बेला सहयोगी संस्थाले दिएका अक्सिजन सिलिन्डर जिल्ला अस्पताल बाहिर बेवारिस रूपमा फालिएको छ । कालीकोटमा अक्सिजनको चरम अभावका बेला विभिन्न संस्थाहरूले अक्सिजन ग्यासको सिलिन्डर उपलब्ध गराएका थिए । जिल्ला अस्पतालले नै अक्सिजन आफँै उत्पादन गर्न सुरु गरेको थियो ।
एमाले कर्णाली कमिटीद्वारा सदस्यको जिम्मेवारी बाँडफाँट
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । प्रदेश कमिटीको साउन ७ र ८ गते बसेको चौथो बैठकले सदस्यहरुको भूगोल र विभागको जिम्मेवारी टुङ्गो लगाएको हो ।
दुर्गम गाउँमा घुम्ती उपचार सेवा
दुर्गमको काँडाजिमाना गाउँमा स्वास्थ्यकर्मी घरदैलोमा पुगेर बिरामीको उपचार गर्नुभएको छ । गाउँपालिकाको स्वास्थ्य नीतिअनुुसार स्वास्थ्य संस्थाको पहुुँचभन्दा टाढाका बस्तीमा सैवाग्राहीलाई घरदैलो स्वास्थ्य कार्यक्रम अन्र्तगत सो घुम्ती सेवा प्रदान गरिएको हो ।
बसमाथि ढुङ्गा खस्दा एक जनाको मृत्यु
सुर्खेतमा बसमाथि ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । बुधबार काठमाडौंबाट वीरेन्द्रनगर आउँदैगरेको ना ७ ख ५८११ नम्बरको बसमा खसेको ढुङ्गा लागेर दैलेखको भवगतिमाई गाउँपालिका २ का १७ वर्षीया पार्वती शाहीको मृत्यु भएको हो ।
बालविवाहमुक्त अभियान
कालीकोटमा बालविवाहको अवस्था, न्यूनीकरण र रोकथाम गर्न सरोकारवालाले अभियान सञ्चालन गर्ने भएका छन् । जिल्ला समन्वय समितिले बालविवाहमुक्त जिल्ला घोषणा गर्न यकिन गरी कार्ययोजना तयार गर्ने र यससम्बन्धी अभियान थाल्ने भएको हो ।
हुम्लामा ऊन उत्पादन गर्न किसानलाई भेडा वितरण
हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकाले ऊन उत्पादनमा जोड दिन किसानलाई भेडा वितरण गरेको छ । सिमकोट–१ र २ का १० किसानलाई १२० भेडा वितरण गरिएको छ । गाउँपालिकाको पशु शाखाको सिफारिसमा उनीहरुलाई भेडा वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र उपाध्यक्ष सुशीला भाम रोकायाले किसानलाई स्थानीय जातका भेडा वितरण गर्नुभयो । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा किसानलाई अनुदानमा भेडा वितरण गर्ने कार्यक्रम अघि बढाएको थियो ।
तीन वर्षमा ३९२ जनाकोे मृत्यु
कर्णाली प्रदेशमा तीन वर्षको अवधिमा सडक दुर्घटनामा परी तीन सय ९२ जनाकोे ज्यान गएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी वार्षिक प्रतिवेदनले कर्णालीमा बर्सेनि सडक दुर्घटना बढ्दै गएको देखाएको हो ।
जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल
प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानवको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको कमी तथा तिनको संरक्षणको अभावमा धेरै ताल गुमनाम छन् । कर्णाली प्रदेशमा प्राकृतिक र पर्यटकीय महत्वका यस्ता स्थलहरू धेरै छन् । ती स्थलको उजागर हुन सकेको छैन ।
सडकसँगै गाउँमा पहिरो
सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर पहिरोको रूप लिएपछि रुकुमपश्चिमका ३९ घरपरिवार आफन्तको घरमा शरण लिन बाध्य भएका छन्। जिल्लाको आठबीसकोट नगरपालिकाभित्रका दुईवटा वडाका ३९ घरपरिवार पहिरोको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती परिवारलाई आफन्तको घरमा राखिएको छ।
ड्रागन खेतीबाट पतिको सपना पूरा गर्दै
घरको सदस्य गुमाउँदा कुन परिवारलाई पीडा हुँदैन र ? त्यसमा पनि मातृत्व र पितृत्व दुवै त्यागेर रोजेको जीवन साथी अनि घरको मूल मान्छे गुम्दाको पीडा हरेक श्रीमतीका लागि अझ बढी असह्य हुन्छ । यद्यपि, सहनुको विकल्प पनि हुँदैन ।
बाँकेमा एक दम्पत्ती मृतावस्थामा भेटिए
नेपालगञ्जको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् ।मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिनुभयो ।उहाँका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । सो दम्पतीको विवाह भएको एक वर्ष भएको बताइएको छ ।
११२ किलोवाट विद्युुत् उत्पादन सुुरु
ताँजाकोट गाउँपालिकास्थित कर्पुखोला लघुु जलविद्युुत्बाट ११२ किलोवाट क्षमताको विद्युत् उत्पादन भएको छ । निर्माणका लागि सम्झौता भएर छोटो समयममै काम सम्पन्न हुँदा उपभोक्ताले विद्युत् उपभोग गर्न पाएका छन् ।
ज्येष्ठ नागरिकलाई भत्ता बुझ्न सकस
नरहरिनाथ गाउँपालिकामा रहेको बैङ्कमा आर्थिक वर्षको अन्त्यमा पैसा झिक्न थेगिनसक्ने भीड लाग्ने गरेको छ। कृषि विकास बैङ्क शाखा कार्यालय कुमालगाउँमा आर्थिक वर्ष २०७८/७९ को भुक्तानी लिन सेवाग्राहीको भीड लाग्ने गरेको हो। बैङ्कमा सबै योजनाको भुक्तानी, रोजगारको भुक्तानी, सामाजिक सुरक्षा भत्ता, बालपोषण तेस्रो र चौथो किस्ताबापतको रुपियाँ भुक्तानी लिन भीड लाग्ने गरेको छ। स्थानीय सरकार स्थापनासँगै गाउँमा बिस्तार भएका बैङ्कमा पनि उत्तिकै भीड लाग्ने गरेको हो। अन्य समय खालीजस्तै हुने गाउँका बैङ्कहरू आर्थिक मसान्तमा भने खुट्टा टेक्नेसम्म ठाउँ हुँदैन। स्थानीय बासिन्दा जीवन विश्वकर्माले सबै भुक्तानी प्रक्रिया बैङ्कबाटै गर्ने हुँदा चाप बढेको बताउनुभयो। सरकारले वृद्धवृद्धाले पाउने सेवा सुविधा पनि बैङ्कमा खाता अनिवार्य गरेपछि कालीकोटका झन्डै १८ हजार वृद्धवृद्धा सकसमा परेका छन् । हिँड्न नसक्ने र सडकको पहुँचमा समेत नजोडिएका बस्तीबाट सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा जाने वृद्धवृद्धाका लागि बैङ्किङ प्रणालीले निकै दुःख दिएको स्थानीय उमेश विष्टले बताउनुभयो ।
३० वर्षपछि सडक स्तरोन्नति हुँदै
करिब ३ दशकपछि सुर्खेत–बाबियाचौर–बेनीघाट सडकको निर्माणको तयारी थालीएको छ । यो सडक निर्माण भएको लामो समयसम्म पनि स्तरोन्नति हुन नसक्दा सुर्खेतको पश्चिम क्षेत्रका नागरिक अझै पनि धुलाम्मे र हिलाम्मे बनेर यात्रा गर्नुपर्र्ने बाध्यता थियो ।
कर्णाली प्रदेशसभाको बैठक आज बस्दै
करिब एक सातासम्म स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) यही साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो । बैठक आज दिउँसो ३ बजे बोलाइएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो ।
हिल्सा–सिमकोट सडक चार वर्षमा पनि पुल बनेन
कर्णाली कोरिडोरको हिल्सा–सिमकोट सडक खण्डअन्तर्गत निर्माणाधीन पक्की पुलको निर्माण कार्य सुस्त भइरहेको छ । सो सडक खण्डमा चारवटा पुल निर्माण भइरहेका छन् । सिमकोट गाउँपालिका–७ का प्रकाश शाहीले उत्तरी हुम्लामा पर्ने हिल्सा–सिमकोट सडक खण्डका चारवटा पुलको निर्माण कार्य सुस्त गतिमा भइरहेको बताउनुभयो । उहाँका अनुसार यी पुल चार/पाँच वर्षयता निरन्तर निर्माण भइरहेका छन् । काम भए पनि निकै सुस्त गतिमा भइरहेकाले पुल निर्माण कार्य छिटै सम्पन्न हुनेमा शाहीले शङ्का व्यक्त गर्नुभयो ।
काईनेटिक ढुङ्गा सहित बस्नेत पक्राउ
सुर्खेतको वीरेन्द्रनगरबाट अवैध खनिज पदार्थ (काईनेटिक ढुङ्गा)सहित आइतबार एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलका ३२ वर्षीय दिपकबहादुर बस्नेत रहेको छ ।
८५० धरधुरीलाई सौर्य ऊर्जा वितरण
केन्द्रीय विद्युत् लाइनको पहुँचमा नपुगेको डोल्पा जिल्लास्थित मुड्केचुला गाउँपालिकामा सौर्य ऊर्जा वितरण गरिएको छ । सो गाउँपालिकाको वडा नं १, २, ३, ७, ८ र ९ का ८५० घरधुरी प्रतिपरिवारलाई १०० वाटको सोलार (सौर्य ऊर्जा) वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । साना लघुजलविद्युत् आयोजनाबाट छुटेका र केन्द्रीय विद्युत् प्रसारण लाइन पुगिनसकेका कारण सौर्य ऊर्जा वितरण गरिएको उहाँले बताउनुभयो ।
बाढी जोखिममा नाग्म बजार
मुगु कर्णाली र जुम्ला कर्णालीको दोभानस्थित कालीकोटको नाग्म बजार बाढीको उच्च जोखिममा परेको छ । बजारसँगै धार्मिकस्थल कृष्ण मन्दिरसमेत जोखिममा परेको छ । कर्णालीको माथिल्लो हिमाली क्षेत्रमा अत्यधिक वर्षा भएकाले कर्णालीमा बाढी आएको हुँदा दोभानमा डुबान र बाढीको जोखिम बढेको हो । जुम्ला कर्णालीभन्दा मुगु कर्णालीमा पानीको बहाव निकै बढेको छ । कर्णाली प्रदेशको माथिल्लो हिमाली भेगमा अत्यधिक वर्षा भएको बताइएको छ ।
सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण
चौरजहारी नगरपालिकाले कार्यपालिकाको कार्यालयमा आउने सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण सुरु गरेको छ । कार्यालयको सार्वजनिक सेवा प्रवाहको अवस्था बारेमा जानकारी लिने उद्देश्यले सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले कार्यालयको सेवालाई प्रभावकारी बनाउन सेवाग्राही सन्तुष्टि सर्वेक्षण गर्न थालिएको बताउनुभयो ।