• ४ साउन २०८१, शुक्रबार

एमाले कर्णाली कमिटीद्वारा सदस्यको जिम्मेवारी बाँडफाँट

blog

कर्णाली प्रदेश कमिटी बैठकको निर्णय सार्र्वजनिक गन आयोजित पत्रकार सम्मेलन । तस्बिरः मुना हमाल

मुना हमाल

सुर्खेत, साउन ११ गते । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । प्रदेश कमिटीको साउन ७ र ८ गते बसेको चौथो बैठकले सदस्यहरुको भूगोल र विभागको जिम्मेवारी टुङ्गो लगाएको हो । 

कमिटीले बुधबार बैठकमा भएको निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । प्रदेश अध्यक्ष विनोदकुमार शाहले प्रदेश कमिटी सदस्यको भूगोल र विभागको जिम्मेवारी दिएको जानकारी दिनुभयो । उहाँका अनुसार कर्णालीका निर्वाचन क्षेत्र, जनसंगठन र विभागको जिम्मेवारी तोकिएको छ ।

बैठकले निर्वाचन विभागको प्रमुखमा कर्णबहादुर शाही, पार्टी स्कुल विभाग प्रमुखमा विनोदकुमार शाह र उपप्रमुखमा ताराकेशर गौतम, प्रचार तथा प्रकाशन विभागको प्रमुखमा सुर्यमणी गौतम, वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुखमा टेकराज पछाई, स्थानीय विकास विभागको प्रमुखमा लालबहादुर रावत र सहकारी तथा गरिवी निवारण विभागको प्रमुखमा हरिहरनाथ योगीलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै, जनसंगठन समन्वय संयन्त्रको संयोजकमा टेक राज पछाईलाई जिम्मेवारी दिइएको छ । 

बैठकले ३५ सदस्यीय सचिवालय गठन गरेको छ । प्रदेश पदाधिकारीसहित २६ सदस्यीय सचिवालय गठन गरेको अध्यक्ष शाहले जानकारी दिनुभयो । बैठकले पार्टी सदस्यता अभिलेख तथा नविरकणका लागि जिल्ला कमिटीबाट प्रक्रिया पूरा भइ अनुमोदनका लागि आएका पार्टी सदस्यलाई बैठकले प्रदेश पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरेको छ । 

स्थानीय तहको निर्वाचनमा विभिन्न कारणले अपेक्षित परिणाम नआएको भन्दै आसन्न निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको अध्यक्ष शाहले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम नआउनुको कारण एमालेविरुद्ध पाँच दलीय गठबन्धन, पार्टी विभाजन, निर्वाचनमा आकाँक्षीहरुको व्यवस्थापन गर्न नसक्नु र पार्टी भित्रैबाट असहयोेग हुनु रहेको बैठकले समीक्षा गरेको छ ।