• २१ असार २०८२, शनिबार

पर्यटन नै नेपालको समृद्धिको मुख्य आधार हो: अर्थमन्त्री पौडेल

blog

काठमाडौँ, असार २१ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताउनुभएको छ ।शनिबार काठमाडौँमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

समृद्धिका निम्ति धेरै कुराहरू रहेको र पर्यटन क्षेत्र त्यसमध्येको एउटा महत्त्वपूर्ण क्षेत्र भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले नेपालमा पर्यटनको अनगिन्ती सम्भावना रहेको बताउनुभयो । पर्यटन क्षेत्रमा लगानी प्रवर्धन गर्न जरुरी रहेको बताउँदै देशभित्रको लगानी र बाहिरको लगानी आकर्षित गर्न सरकारले काम गरिरहेको बताउनु भयो । पर्यटन पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनु भयो । 

उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘समृद्धिका निम्ति हामीसँग अरू विभिन्न कुराहरू छन् । त्यसमध्येको एउटा शक्तिशाली विकल्प पर्यटन हो । यसको अनगिन्ती सम्भावना छ । हामीले क्रमशः यो क्षेत्रमा लगानी प्रवर्धन गर्नुपर्छ । हाम्रो देशभित्रको लगानी, विदेशको लगानी, राज्यको लगानी मात्रैले पुग्दैन । राज्यको लगानी यो पर्यटकीय दृष्टिकोणले आकर्षक गन्तव्य हो भनेर सन्देश दिने,स्वदेश र विदेशका निजी क्षेत्रलाई जाऊँ लगानी गर्न नेपालमा भनेर आकर्षित गर्ने कामका लागि राज्यले काम गर्छ । पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी आवश्यक पर्दछ । त्यही हिसाबले बजेट निर्माण गर्दा पनि त्यसलाई हेक्का राखेका छौँ ।’

उपप्रधानमन्त्री पौडेलले मुलुकलाई राजनीतिक स्थायित्व दिँदै विकास र समृद्धितर्फ अघि बढ्नुपर्ने बताउनु भयो ।