• २१ असार २०८२, शनिबार

मध्यवर्ती क्षेत्र समिति अध्यक्षमा आचार्य

blog

अध्यक्षमा निर्वाचित हेमन्तप्रसाद आचार्य ।

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), असार २१ गते । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा हेमन्तप्रसाद आचार्य निर्वाचित हुनुभएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालयमा अध्यक्ष पदका लागि भएको निर्वाचनमा ११ मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको हो । 

निर्वाचन समितिका संयोजक सरोजमणि पौडेलका अनुसार अध्यक्ष पदका लागि हेमन्तप्रसाद आचार्य, चन्द्रकला बुढा र मीनबहादुर सावदले उम्मेदवारी दिएकोमा आचार्य विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी चन्द्रकला बुढाले ६ मत प्राप्त गर्नुभयो । अर्का प्रतिस्पर्धी मीनबहादुर सावदले दुई मत प्राप्त गर्नुभयो ।  

मध्यवर्ती क्षेत्रका १९ ओटा उपभोक्ता समितिका अध्यक्षमध्येबाट मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष चुन्ने प्रावधान रहेको छ । समितिको कार्यकाल ५ बर्षको हुनेगर्छ । बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत बर्दियामा १४ सुर्खेतमा चार र  बाँकेमा एक गरी १९ उपभोक्ता समिति रहेको छ । 

अध्यक्षमा विजयी आचार्य लामो समयदेखि प्रकृति पथप्रदर्शकको रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चोरी शिकारी नियन्त्रण युवा परिचालन अभियानको सुरुवात भएको थियो ।