कुमारवर्ती बहुमुखी क्याम्पसलाई क्युएए प्राप्त
मीना कंडेलकावासोती, असार १० गते । पूर्वी नवलपरासीको कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोग गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रियामा सहभागी भई सबै चरण पार गरी शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसअनुसार क्याम्पसलाई क्युएए प्राप्त भएको क्याम्पस प्रमुख गुरुप्रसाद सुवेदीले बताउनुभयो ।सन् २०२० मा नै क्याम्पसले क्युएए प्राप्त गर्नुपर्नेमा कोभिड सङ्क्रमण तथा विभिन्न प्राविधिक कारणले डेढ वर्ष ढिला गरेर क्यूएए प्राप्त गरेको जानकारी गराउनुभयो । क्युएए प्राप्त गर्न नसक्दा धेरै जनाबाट अनुत्तरित बन्नुपर्दा दुःख लाग्नेगरेकोमा अब खुसी भएकोे बताउनुभयो । अब सरोकारवालाको छलफल समन्वयमा क्याम्पसले थप नयाँ विषयहरू अध्यापन गर्ने प्रक्रिया अघि बढाउने सोचमा रहेको उहाँले बताउनुभयो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र पोख्रेलले नेपालभरि क्याम्पसले क्युएए प्राप्त गरेपछि खुशी लागेको बताउनुभयो । प्राप्त उपलब्धी जोगाइराख्न अब क्याम्पस थप सशक्त ढङ्गबाट अघि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो । क्याम्पसमा नयाँ विषय शुरु गर्ने बाटो खुलेको अध्यक्ष पोख्रेलले बताउनुभयो । क्याम्पसले छिमेकी क्याम्पसहरूमा पढाइ हुने विषयभन्दा नयाँ खालका प्राविधिक विषय थप गर्ने योजना रहेको उहाँको भनाइ छ । सिभिल इन्जिनियर, बीएलबी लगायतका नयाँ विषय थप गर्ने सोच क्याम्पसले बनाएको उहाँले बताउनुभयो । क्युएए प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट प्रत्येक वर्ष अनुदान लगायतका अन्य सुविधा प्राप्त हुनेगर्छ ।
मानव बेचबिखन र ठगी नियन्त्रणबारे सचेतना
वैदेशिक रोजागारको नाममा हुने मानव बेचबिखन र ठगी नियन्त्रणका लागि प्रहरीसँग छलफल कार्यक्रम सञ्चालन गरिएको छ । बीवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजनाअन्तर्गत अन्तक्र्रियामा वैदेशिक रोजगारको आवरणमा हुने मानव बेचबिखनका गतिविधि र आकर्षक कमाइको नाममा हुने ठगी धन्दाबारे छलफल गरिएको हो ।
सुन्तला खेतीले समृद्ध दोसल्ले
जिल्लाको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेका किसानहरु सुन्तला बिक्री गरेर वार्षिक रुपमा ५० लाख भन्दा बढी रकम गाउँमा भित्र्याउने गरेका छन् । परम्परागत खेती मकै, गहुँ र कोदो भन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरुले दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान थालेका हुन ।
अर्जुन चौपारीको बजेट ४४ करोड
अर्जुन चौपारी गाउँपालिकाले आर्थिक बर्ष २०७९–८० का लागि ४४ करोड १८ लाख १९ हजार रुपियाँ बराबरको बजेट प्रस्ताब गरेको छ ।
गाउँमा विशेषज्ञसहितको आयुर्वेद सेवा
अर्जुन चौपारी गाउँपालिका ३ का ७९ वर्षीय गङ्गाधर काफ्ले विशेषज्ञसहितको आयुर्वेद सेवा गाउँमै प्राप्त भएपछि खुसी ब्यक्त गर्नुभएको छ । समान्य उपचारको पुतलीबजार र पोखरा पर्ने काफ्लेले आफ्नै पालिकामा बिशेषज्ञसहितको सेवा पाएको बताउनुभयो ।
ट्रयाक खोलेको २८ वर्षपछि सडक कालोपत्र
स्याङ्जाको गल्याङ र चापाकोटलाई जोड्ने सडक ट्रयाक खोलेको २८ वर्षपछि कालोपत्र भएको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशबाट विनियोजित बजेटबाट गल्याङ–चापाकोट सडकखण्डको लल्याङदेखि बारीचौरसम्म पाँच किमी सडक ‘अस्फाल्ड प्रविधि’ को प्रयोग गरी कालोपत्र गरिएको हो । कालीगण्डकी नदीको प्रायःजसो किनारबाट निर्माण गरिएको दक्षिण पूर्वी स्याङ्जालाई सिद्धार्थ राजमार्गसँग जोड्ने महत्वपूर्ण सडक हो ।
२० जना शिक्षक सहसचिव स्तरमा बढुवा
शिक्षा सेवा आयोगले नौ वटा जिल्लाबाट २० जना शिक्षकलाई सहसचिवस्तरमा बढुवा गरेको छ । कार्यसम्पादन मूल्याङकनका आधारमा आयोगले शिक्षकहरुको माध्यमिक तह प्रथम श्रेणी अर्थात सहसचिवको स्तरमा बढुवा गरेको हो ।
कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन प्राथमिकतामा
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकाको एघारौँ नगरसभामा आर्थिक वर्ष २०७९–८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।
रैथाले बीउ जोगाउन ‘बीज बैंक’ योजना
बागलुङको बरेङ् गाउँपालिकाले स्थानीय रैथाने बालीको बीउ संरक्षणका लागि ‘बीज बैंक’ स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । रैथाले बाली लोप हुँदै गएपछि गाउँपालिकाले आगमी आर्थिक बर्षदेखि ‘हाम्रो बिउ, हराउन नदिउँ’ अभियान सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो । बिउ जोगाउने अभियान हरेक वडामा सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।