• १६ चैत २०८०, शुक्रबार

पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम

कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन प्राथमिकतामा

blog

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै । तस्विर : रमेश पौडेल

रमेश पौडेल 

पोखरा, असार ८ गते । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकाको एघारौँ नगरसभामा आर्थिक वर्ष २०७९–८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । 

प्रस्तुत नीति तथा कार्यक्रममा नगर प्रमुख आचार्यले पर्यटनलाई केन्द्रमा राखेर महानगरका समस्या सम्बोधन र समाधान खोज्नेगरी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । पर्यटनलाई केन्द्रमा राख्दै घोषणापत्रलाई आधार बनाएर कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा जोड दिइएको छ । 

समतामूलक समाजको विकास, सुशासन, वित्तीय पहुँचलगायत रोजगारी विकास तथा उद्योग व्यवसाय प्रवद्र्धनलाई नीति तथा कार्यक्रमले समेटेको छ । नगर प्रमुख आचार्यले आगामी वर्षमा सार्वजनिक पार्किङ स्थलको व्यवस्थापन, ट्राफिक व्यवस्थापन, ल्याण्डफिल्ड समस्या समाधान, पोखरा सिटीलाई सुन्दर र आकर्षक बनाउने, क्षेत्रीय तथा टुरिस्ट बसपार्कलाई व्यवस्थित बनाउन र छाडा चौपाया नियन्त्रण गरी सडकलाई पूर्णरुपमा छाडा चौपायामुक्त बनाइने कार्यक्रम ल्याइएको छ । 

कृषि क्षेत्रमा भएका समस्यालाई समाधान गरी प्राविधिक कृषिमा प्रोत्साहन, पोखरामा उत्पादन हुने वस्तुलाई ब्रान्डिङ गरी पोखरेली ब्रान्डको स्थापना, बेरोजगारीको तथ्याङ्क संकलन गरी रोजगारीको व्यवस्थापन, वैदेशिक रोजगारीमा जानेलाई तालिमको व्यस्थापन, ३३ वटै वडामा एक उद्योग र एक सहकारीको व्यवस्थापन, खेल क्षेत्रको विकासका साथमा उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने लक्ष्य पनि कार्यक्रममा छ ।

त्यस्तै, गुणस्तरीय अस्पतालको निर्माण, कास्कीमा रहेका तालहरुको सौन्दर्यकरण, लेक टु लेक कनेक्टिभीटीको सम्भाव्यता अध्ययन, सार्वजनिक जग्गाको मापदण्ड तय गरिने मेयर आचार्यले नीति तथा कार्यक्रम सार्वजनिकका क्रममा बताउनुभयो । पोखरा भन्नेबित्तिकै चिनिने लेकसाइडसम्मको सौन्दर्यकरणको विषयलाई पनि कार्यक्रममा प्राथमिकताका साथ समेटिएको उहाँले जानकारी दिनुभयो । 

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सरकारसँग माग गर्ने पनि कार्यक्रममा समेटिएको उहाँले बताउनुभयो । पोखराको परिचयसँग जोडिएका कतिपय दीर्घकालीन महत्व राख्ने वहुवर्षीय योजनाको यो वर्ष अध्ययन गरेर अर्को वर्षबाट काम थाल्ने कार्यक्रम  रहेको उहाँले बताउनुभयो । 

हरेक आर्थिक वर्षको पहिलो ६ महिनामा तीन हजार रोजगारी थप्ने उद्देश्यले प्लस टु अध्ययन सकेका युवाहरुलाई प्राविधिक सीप प्रदान गरिने उल्लेख छ । महानगरपालिकाको सर्वेक्षणअनुसार ग्रस म्युनिसिपल प्रोडक्ट १ खर्ब १० अर्ब ५४ करोड रुपियाँ रहेको अनुमान छ । 

जसमा महानगरवासीको प्रतिव्यक्ति औसत आय सोह्रसय पाँच रुपियाँ रहेको छ । यसलाई आधार बनाई हाल रहेका २८ हजार २ सय १५ व्यासायिक इकाइमार्फत १ लाख ४ हजार ४ सय उनान्सत्तरी रोजगार रहेकोमा यसलाई थप वृद्धि गर्ने नीतिमा समेटिएको छ । 

सो परिषद्को उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारले पनि पहल गरिरहेको बताउनुभयो । पोखरामा छिट्टै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने र पोखराको आर्थिक गतिलाई चलायमान बनाउने उहाँले बताउनुभयो । 

स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । पोखराको बजेट १० गते पोखरा सभागृहमा प्रस्तुत हुने बताइएको छ ।